s

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि खोपको सुनिश्चितता गर : आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकका लागि खोप सुनिश्चित गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगले गन्तव्य देशले मान्यता दएको खोपलाई प्राथमिकता दिन समेत जोड दिएको छ । 

‘गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक मात्र लगाए हुने र गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को जोखिमबाट बच्न सकिने खोप लगाउने अन्य वैकल्पिक व्यवस्था गर्न तथा गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई पर्न सक्ने कठिनाइको न्यूनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकको मानवअधिकारको संरक्षण गर्न आग्रह गर्दछ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ महामारीको वेला श्रमिकको एकतर्फी रुपमा करार भङ्ग गर्ने, बेतलवी बिदामा बस्न बाध्य पार्ने, कामबाट निष्कासन गर्ने, पूरा तलव/सुविधा भुक्तानी नदिने, जबरजस्ती श्रममा लगाउने, मापदण्डभन्दा बढी समय वा जोखिम युक्त काममा लगाउने तथ्यहरु भेटिएको आयोगले जनाएको छ ।

‘कोभिड–१९ को दोस्रो लहरको अवस्थामा पनि कतार, साउदी अरबलगायतका प्रमुख गन्तव्य मुलुकमा कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप नलगाई प्रवेश गरेका श्रमिकलाई तोकिएको समय अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, पीसीआर परीक्षण गर्नुपर्ने तथा पीसीआर परीक्षण नेगेटिभ आए पनि क्वारेन्टाइनमा रहनैपर्ने व्यवस्था भएका स्वास्थ्यनिर्देशिका लागू गरिएको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ,‘यी ब्यवस्थाले नेपाली श्रमिकहरुलाई आर्थिक व्ययभार बढ्ने देखिएको छ ।’

आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई कोभिड–१९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलगायत अन्य सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जनाएको छ ।

Published on: 18 July 2021 | Kantipur

Link

Back to list

;