s

वैदेशिक रोजगारीमा जाने कामदार बढे

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या फेरि बढ्न थालेको छ । गत आर्थिक वर्ष ०७९/८० मा हालसम्मकै उच्च संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा गए पनि चालू आव ०८०/८१ को सुरुवाती समयमा यसको संख्या घटेको थियो । तर, फागुनयता वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्न थालेको छ ।

फागुनयता चालू आवका अघिल्ला महिनाहरू र गत आवको सोही महिनाको तुलनामा बिदेसिने कामदारको संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । कामदारले अनिवार्य रूपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिनुपर्छ, सोही तथ्यांकले यस्तो देखाएको हो ।

चालू आवको पहिलो महिना साउनमा ५५ हजार पाँच सय ७५ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए । त्यसपछि मंसिरमा भने ६८ हजार दुई सय एकजना वैदेशिक रोजगारमा गएको देखिन्छ । माघमा ६२ हजार एक सय ४७ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । अघिल्ला महिनाहरूको तुलनामा फागुनयता धेरै संख्यामा नेपाली वैदेशिक रोजगारमा गएका छन् । फागनुमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार नौ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ र जेठमा ७२ हजार आठ सय ६१ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जेठमा वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या पछिल्लो डेढ वर्षयताकै उच्च हो ।

साथै, फागुनयता गत आवको सम्बन्धित महिनाको तुलनामा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च देखिएको छ । माघसम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या गत आवको सोही महिनाको तुलनामा पनि कम थियो । तर, फागुनयता त्यो गत आवको सम्बन्धित महिनाको तुलनामा पनि बढी छ ।

गत आवको फागुनमा ६१ हजार आठ सय ४५, चैतमा ६१ हजार चार सय ७८, वैशाखमा ५४ हजार चार सय ५७ र जेठमा ५९ हजार चार सय २२ जना मात्रै वैदेशिक रोजगारीमा गएका थिए । तर, चालू आवको यिनै महिनामा बढी संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

विशेष गरी विदेशी रोजगारदाताबाट नेपाली कामदारको माग बढ्न थालेपछि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृत लिनेको संख्या बढेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । ‘सामान्य रूपमा डिमान्ड बढ्दा फागुनयता वैदेशिक रोजगारीमा जानेको संख्या केही बढेको छ । विशेष गरी पछिल्लो समय युरोपबाट कामदारको माग सामान्य रूपमा बढेको छ । त्यसले गर्दा अघिल्लो र गत आवको सोही महिनाको तुलनामा फागुनयता यस्तो संख्या बढेको छ । तर, युरोपमा अझै संस्थागत रूपमा कामदार पठाउन सकिएको छैन,’ उनले भने, ‘साथै, वैदेशिक रोजगारतर्फ अझै नेपालीको आकर्षण कायमै छ, घटेको छैन । त्यसले गर्दा पनि यो संख्या उच्च नै छ ।

सामान्यतया वार्षिक सात लाखभन्दा बढी नेपाली कामदार बाहिर जाने गर्छन् । यो वर्ष पनि सोही हाराहारीमै नेपाली वैदेशिक रोजगारीमा जाने देखिन्छ ।’ यद्यपि, चालू आवको ११ महिनाकै अवधिको तथ्यांक गणना गर्दा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ४.६७ प्रतिशतले घटेको छ । गत आवको ११ महिनामा सात लाख १६ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

गत आवभरमा सात लाख ७१ हजार तीन सय ३१ जना नेपाली वैदेशिक रोजगारमा गएका थिए । तर, चालू आवको ११ महिनामा भने ६ लाख ८२ हजार पाँच सय ६६ नेपाली वैदेशिक रोजगारमा गएका छन् । चालू आवको सुरुवाती महिनामा कामदारको माग न्यून हुँदा कुल गणनामा कमी आएको विभागका अधिकारीहरू बताउँछन् ।

कुन महिना कति बाहिरिए ?

यो वर्ष साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ र मंसिरमा ६८ हजार दुई सय एकजना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसैगरी, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार नौ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ र जेठमा ७२ हजार आठ सय ६१ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ । वैशाख मसान्तसम्म वैदेशिक रोजगारमा गएका कामदारले पठाउने रेमिट्यान्स ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

Published on: 24 June 2024 | Naya Patrika

Link

Back to list

;