s

वैदेशिक रोजगारीमा जाने झन्डै दुई लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

वैदेशिक रोजगारीमा जाने करिब दुई लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । दुई महिनाको अवधिमा एक लाख ८१ हजार आठ सय श्रमिक नेपाल सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा जोडिएका हुन् । कोषमा आबद्ध भएका श्रमिकमध्ये एक हजार दुई सय ४० श्रमिक विदेशबाट नै आबद्ध भएका हुन् ।

गन्तव्य मुलुकले यस्तो सुविधा प्रदान नगरेपछि नेपाल सरकारले नै श्रमिकलाई आर्थिक सुरक्षा प्रदान गर्न सामाजिक सुरक्षा कोषमा जोड्ने अभियान सुरु गरेको हो । गैरआवासीय नेपाली संघ ओमानको नेतृत्वमा नेपाल सरकारले गत चैतको पहिलो सातादेखि श्रमिकलाई कोषमा आबद्ध गराउन थालेको हो । कोषले गत ११ मंसिरमा आफ्नो सामाजिक सुरक्षा दिवसमा नै यो कार्यक्रमको घोषणा गरे पनि कार्यान्वयन गत चैतदेखि भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषले रोजगारीमा जाने नयाँ श्रमिकलाई कोषमा आबद्ध हुन अनिवार्य गरेको छ । यसअघि सरकारले श्रमिकलाई म्यादी जीवन बिमा र कल्याणकारी कोषमा आबद्ध हुन अनिवार्य गरेको थियो । त्यसैगरी, कोषमा आबद्ध हुन अनिवार्य गरिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

उनका अनुसार श्रमिकले श्रम स्वीकृति लिँदा जसरी बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्छन् । त्यसरी नै कोषको रकम भुक्तानी गर्न सक्नेछन् । ‘विदेशमा रहेको अवस्थामा अनलाइन पेमेन्ट वा नेपालमा रहेको परिवारले कोषमा गएर भुक्तानी गर्न सक्नेछन्’ उनले भने । त्यस्तै, यसअघि नै वैदेशिक रोजगारीमा रहेका श्रमिकले पनि अनलाइनमार्फत निवेदन दिएर कोषमा आबद्ध हुन सक्नेछन् ।

मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार अहिले कोषमा भुक्तानी गर्नुपर्ने योगदान रकम श्रमिक आफैँले भुक्तानी गर्नुपर्नेछ । तर, आगामी दिनमा सो रकम गन्तव्य मुलुकका रोजगारदाताले नै भुक्तानी गर्न लगाउने योजना रहेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष डिबी क्षेत्रीले बताए ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट सामाजिक सुरक्षा कोषले सवा ३१ करोड योगदान रकम संकलन गरेको छ । श्रमिकले न्यूनतम दुई हजारदेखि अधिकतम २८ हजारसम्म कोषमा मासिक योगदान गर्न पाउँछन् । कोषको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानेमध्ये मलेसिया जाने धेरै श्रमिक कोषमा आबद्ध भएका छन् । २४ जेठसम्म मलेसियामा जाने ३८ हजार १२९ श्रमिक कोषमा आबद्ध भएका छन् । कोषका आबद्ध हुने नेपाली श्रमिक पुगेको मुलुकमध्ये कतार दोस्रोमा परेको छ । कतार जाने नेपाली श्रमिकमध्ये २७ हजार ६९२ जना कोषमा आबद्ध भएका छन् । युनाइटेड अरब इमिरेट्स जाने नेपाली श्रमिकमध्ये २६ हजार ७२९ कोषमा आबद्ध भएका छन् ।

साउदी अरबमा जाने २४ हजार ८३४, कुवेत जाने सात हजार १४१, ओमान जाने एक हजार ३८, कोरिया जाने ६ हजार २८२, बहराइन जाने एक हजार ५७६ र माल्दिभ्स जाने श्रमिकमध्ये एक हजार ४१५ जना कोषमा आबद्ध भएका छन् ।
सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषमा खाडी र मलेसिया मात्रै होइन, युरोप अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि जाने श्रमिकमा पनि आबद्ध भएका छन् ।

कोषका तथ्यांकअनुसार रोमानिया जाने श्रमिकमध्ये ४ हजार २९४ जना कोषमा आबद्ध भएका छन् । जापान जाने श्रमिकध्ये २ हजार ५६२, क्रोएसिया जाने १ हजार ६४९, पोल्यान्ड जाने १ हजार ४२६, साइप्रस जाने १ हजार ३३९, माल्टा जाने ६९९, सर्बिया जाने ३६७, पोर्चुगल जाने २५३, अस्ट्रिया जाने १८३, न्युजिल्यान्ड जाने १७९, क्यानाडा जाने १७१, अमेरिका जाने ११६ श्रमिक कोषका आबद्ध भएका छन् ।

कम्तीमा दुई हजार भुक्तानी गर्नुपर्ने

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले कम्तीमा दुई हजार दुई रुपैयाँ सामाजिक सुरक्षा कोषमा मासिक रूपमा भुक्तानी गर्नुपर्नेछ । श्रमिकले स्वैच्छाले तीन गुणाभन्दा बढी अर्थात् २८ हजार १५५ रुपैयाँ मासिक योगदानसमेत गर्न सक्नेछन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिँदा वा नवीकरण गर्दा वा विदेशमा काम गरिरहेको अवस्थामा पनि अनलाइनमार्फत निवेदन दिएर कोषमा आबद्ध हुन सकिनेछ । श्रमिकले न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत कोषमा योगदान गर्नुपर्नेछ । सरकारले नौ हजार ३८५ न्यूनतम पारिश्रमिक तोकेको छ । कोषमा आबद्ध हुने श्रमिकले दुर्घटना र अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा सुविधा पाउनेछन् ।

श्रमिकले भुक्तानी गरेको योगदान रकममध्ये ७.४८ प्रतिशत रकम (७०२ रुपैयाँ) दुर्घटना र अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुनेछ । जसबाट श्रमिकले दुर्घटना उपचार खर्च वार्षिक एक लाख रुपैयाँसम्म पाउनेछन् । श्रमिक अशक्त भएमा मासिक ६० प्रतिशत भुक्तानी हुनेछ । त्यस्तै, श्रमिकको मृत्यु भएमा अन्तिम संस्कारका लागि २५ हजार भुक्तानी गर्नेछ । आश्रित श्रीमान्–श्रीमतीलाई आजीवन ४० प्रतिशत रकम पेन्सन प्रदान गर्नेछ । श्रमिकका छोराछोरीलाई २१ वर्षसम्म शैक्षिक वृत्ति प्रदान गर्नेछ । तर, फरक क्षमताको सन्ततिको हकमा भने उमेरको हद लाग्नेछैन ।

त्यस्तै, योगदान रकममध्ये १३.८५ प्रतिशत रकम वृद्ध अवस्था सुरक्षा योजनाका लागि जम्मा हुनेछ । यस योजनाअन्तर्गत श्रमिकले वैदेशिक रोजगारीको अन्त्य भएपछि जम्मा भएको रकम र त्यसले आर्जन गरेको प्रतिफलसहित एकमुस्ट पाइनेछ । १८० महिनाको योगदान रकम जम्मा भई योगदानकर्ताको उमेर ६० वर्ष भइसकेपछि पेन्सन प्रदान गर्नेछ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सामाजिक सुरक्षा कोषले योगदान रकममा छुटको पनि व्यवस्था गरेको छ ।

६ महिनाभन्दा बढी अवधिको रकम अग्रिम जम्मा गरेमा १० प्रतिशत रकम छुट हुनेछ । सामाजिक सुरक्षा योजना लगातार तीन वर्षसम्म दाबी नगर्ने योगदानकर्ताले २० प्रतिशतसम्म छुट रकम निवृत्तिभरणमा हस्तान्तरण गरिनेछ । खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम बैंकिङ माध्यमबाट रेमिट्यान्स पठाएको प्रमाण पेस गरेमा वृद्धावस्था सुरक्षाबाहेकका योजनामा जम्मा गर्नुपर्ने रकम २० प्रतिशतसम्म रकम छुट हुन सक्नेछ ।

युएईले नेपालसँग माग्यो घरेलु कामदार

संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालसँग घरेलु कामदार पनि माग गरेको छ । बुधबार युएई र नेपालका प्रतिनिधिबीच भएको छलफलमा नेपालबाट घरेलु कामदार लैजान इच्छुक भएको बताउँदै प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

नेपाल र युएईबीच १४ जुन २०१९ मा द्विपक्षीय श्रम समझदारी भएको थियो । सो समझदारीबमोजिमको संयुक्त कार्य समितिको तेस्रो बैठक बुधबार काठमाडौंमा सम्पन्न भयो । आगामी चार वर्षका लागि द्विपक्षीय श्रम समझदारीमा व्यवस्था भएबमोजिम स्वतः नवीकरण हुनेभएको छ ।

बैठकमा नेपालको तर्फबाट सहभागी भएका प्रतिनिधिको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले नेतृत्व गरेका थिए । त्यस्तै, नेपाली श्रमिकहरूलाई युएईमा न्यूनतम तलबको सुनिश्चितता हुनुपर्ने, मृत्यु हुने नेपाली श्रमिकको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा आलेखबद्ध रूपमा युएईमा रहेका नेपाली श्रमिकहरूलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरण गर्नुपर्ने, नेपाली श्रमिकहरूको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य गर्न युएई सरकारलाई प्रस्ताव गरिएको थियो ।

Published on: 15 June 2023 | Naya Patrika

Link

Back to list

;