s

वैदेशिक रोजगारीमा जाने घटे

कुवेतद्वारा सबै प्रकारका भिसा स्थगन

दैनिक ११ सयले श्रमस्वीकृति लिने गरेकामा अहिले दैनिक तीनलाई मात्र वितरण

होम कार्की

सोल्टीमोड, तहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसरमा भीड दिन प्रतिदिन पातलिँदै छ । कामदार छनोटका लागि पूर्वस्वीकृति लिने काउन्टरमा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि कमै देखिन्छन् । बिदामा आएर फेरि जाने (पुनः स्वीकृति) को लाइनमा पहिलाजस्तो ठेलमठेल छैन । खाडी क्षेत्रमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको वैदेशिक रोजगार कार्यालयमा चहलपहल घटेको हो ।

रोजगारीका लागि खाडी तथा मलेसियालगायत देशमा जान अनुमति चाहिने सबैले नेपाली युवा त्यहाँ पुग्नैपर्छ । ‘सबैभन्दा बढी चहलपहल कतार शाखामा हुन्थ्यो । कतार शाखाको काम बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ,’ वैदेशिक रोजगार कार्यालयका प्रमुख उमेश बस्नेतले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खाडी तथा मलेसियामा कामदार पठाउने प्रक्रियामा ‘स्लो डाउन’ सुरु भइसकेको जनाएको छ । ‘पछिल्लो समय सबैभन्दा बढी कामदारको माग कतार र साउदी अरबबाट आएको छ । कतारले बन्द नै गर्‍यो । साउदीको पनि के हुने अब टुंगो छैन,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले भने ।

महासचिव श्रेष्ठका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) बाट आएका मागपत्रअनुसार कामदार भर्ना प्रक्रियाका लागि तय भएका अन्तर्वार्ताका तालिका धमाधम रद्द भइरहेका छन् । कुवेतले कूटनीतिक कर्मचारीबाहेक सबै देशका नागरिकका लागि सबै प्रकारका भिसा जारी नगर्ने सूचना प्रकाशन गरेको छ । ‘पछिल्लो एक महिनामा म्यानपावर कम्पनीले सबै देशबाट झन्डै ३५ हजार नेपालीले रोजगारी पाउने मागपत्र ल्याएका थिए । त्यसमध्ये आधा पनि जान नपाउने भए,’ श्रेष्ठले भने । उनले व्यवसायीले गन्तव्य मुलुकमा गएर मार्केटिङ गर्ने काम पनि रोकिएको बताए ।

वैदेशिक रोजगार विभागका अनुसार सामान्य अवस्थामा दैनिक झन्डै ११ सय जनाले श्रमस्वीकृति लिन्छन् । पछिल्लो एक सातामा दैनिक झन्डै ३ सय मात्र श्रमस्वीकृतिका लागि आएका छन् । म्यानपावर कम्पनीले भिसा लागेका कामदारलाई अर्को सूचना नभएसम्म काठमाडौं नआउन सूचना दिइरहेका छन् ।

खाडी क्षेत्रमा कोभिड–१९ को संक्रमण देखिने क्रम बढेपछि रोजगारदाता कम्पनीहरूले नयाँ कामदार ल्याउन प्राथमिकता दिएको छैन । कामदार पनि त्यता गइहाल्न इच्छुक छैनन् । ‘मैले एक महिना अगाडि नै अन्तर्वार्ता दिएको थिएँ । भिसा पनि आयो । जानुपर्छ भनेपछि जान तयार भएँ । तर रोकिएको छ,’ दाङका सुरेश वलीले भने, ‘अब सबै स्थिति सामान्य भएपछि जान्छु ।’

बुधबारसम्म नेपाली कामदारको बाहुल्य रहेको दक्षिण कोरियामा ७ हजार ५ सय १३, मलेसिया १ सय १७, बहराइन १ सय १०, यूएईमा ७४, कुवेत ६९, साउदी अरबमा २०, कतारमा १८ र ओमानमा १८ जनालाई कोभिड–१९ को संक्रमण भएको छ । यूएईमा मात्रै दुई जना नेपालीमा भाइरस देखिएको पुष्टि भएको छ ।

Published on: 11 March 2017 | Kantipur

Link

Back to list

;