s

वैदेशिक रोजगारीमा जाने अहिलेसम्मकै धेरै, सात लाखले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि अहिलेसम्मकै सबैभन्दा धेरै जनाले श्रम स्वीकृति लिएका छन्।

चालु आर्थिक वर्षको असार १६ गतेसम्म सात लाख ४० हजारभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेको वैदेशिक रोजगार विभागका निर्देशक गुरूदत्त सुवेदीले जानकारी दिए।

'योपाली अहिलेसम्मकै धेरै जनाले श्रम स्वीकृति लिएका छन्। कोभिड पछाडि कामको खोजीमा विदेशिनेहरूको संख्या बढेको छ,' उनले भने।

विभागले आर्थिक वर्ष २०५०/५१ यताको वैदेशिक रोजगारीमा जानेको तथ्यांक अद्यावधिक गर्दै आएको छ।

जसअनुसार चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या ऐतिहासिक हो। २०५०/५१ अघि पनि नेपाली युवाहरू वैदेशिक रोजगारीमा जाने चलन थियो। तर त्यसअघिको यकिन तथ्यांक सरकारसँग छैन।

यही कारण यस आर्थिक वर्षमा स्वीकृति लिनेको संख्या ऐतिहासिक भएको निर्देशक सुवेदी बताउँछन्।

वैदेशिक रोजगार विभागले तथ्यांक राख्न सुरू गरेको वर्ष आर्थिक वर्ष २०५०/५१ मा तीन हजार ६०५ जनाले श्रम स्वीकृति लिएका थिए।

आर्थिक वर्ष २०५१/५२ मा दुई हजार १५९ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ।

आर्थिक वर्ष २०५२/५३ मा दुई हजार १३४ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ। नेपालमा माओवादी जनआन्दोलन चर्किएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढेको देखिन्छ।

आर्थिक वर्ष २०५७/५८ मा वार्षिक ५० हजारको हाराहारीमा युवाहरू वैदेशिक रोजगारीमा गइरहेकोमा आर्थिक वर्ष २०५८/५९ देखि यो संख्या बढेर वार्षिक एक लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा जान थालेको देखिन्छ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०५०/५१ देखि आर्थिक वर्ष २०६८/६९ सम्म २४ लाख ६५ हजार ६९९ जनाले श्रम स्वीकृति लिएको देखिन्छ।

त्यसयता प्रत्येक वर्ष तीन देखि चार लाखको हाराहारीमा युवाहरू वैदेशिक रोजगारीमा जान थालेका थिए। २०७२ सालको महा–भूकम्पपछि वैदेशिक रोजगारीमा जानेको संख्या अझ बढ्यो। आर्थिक वर्ष २०७२/७३ मा ६ लाख ४० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ।

आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ४२ हजारले अन्तिम श्रम स्वीकृति लिएका थिए। विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ४२ हजार ८५९ जनाले स्वीकृति लिएका थिए।

त्यसपछि २०७४/७५ मा ६ लाख १२ हजार ६८५ जना र २०७५/७६ मा पाँच लाख ८ हजार ८२८ जनाले श्रम रोजगारीका लागि स्वीकृति लिएका थिए।

आर्थिक वर्ष २०७६/७७ मा यो संख्या घटेको थियो। उक्त वर्ष ६८ हजार ४३३ जना नेपाली विदेशिएका थिए। उक्त वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको थियो।

कोभिडकै कारण आर्थिक २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो। उक्त वर्ष एक लाख ६६ हजार ६९८ जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका थिए। कोभिडका कारण अन्तर्राष्ट्रिय उडान बन्द तथा विभिन्न मुलुकले आप्रवासी प्रवेशमा कडाई गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो।

कोरोनाको असर कम हुँदै गएपछि आर्थिक वर्ष २०७८/७९ यता वैदेशिक रोजगारीमा जानेको संख्या फेरि बढ्न थालेको हो। यो वर्ष ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए।

अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाखभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन्।

नेपालमा कामको सम्मान नहुँदा पनि युवाहरू कामको खोजीमा विदेशिने क्रम बढेको सुवेदीको तर्क छ।

'हाम्रोमा कामलाई हेप्ने प्रवृति छ। यहाँ पनि थुप्रै अवसरहरू छन् नि नत्र नेपालको प्लम्बर काम छाडेर युवाहरू त्यहाँ किन ढुंगा फुटाउन जान्थे?,' उनले प्रश्न गरे।

निर्देशक सुवेदीका अनुसार वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुकहरू गइरहेका छन्। पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानिया जस्ता थुप्रै युरोपेली मुलुकमा जाने गरेका छन्।

श्रम स्वीकृति लिएर प्रत्येक महिना ६० हजारभन्दा बढी युवाहरू विभिन्न मुलुकमा पुगेको तथ्यांक छ। तथ्यांकअनुसार गत फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ८४५ जना गएको देखिन्छ। यसमध्ये युरोप जानेको संख्या धेरै छ।

चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार ४७८ जना युवाले श्रम स्वीकृति लिएका छन्। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।

वैशाख महिनामा ५४ हजारभन्दा बढी युवाहरू बाहिरिएका छन्। वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार ४५७ जना रोजगारीका लागि गएका छन्।

यो महिना पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन्। ३३ हजार ४४० जनाले नयाँ श्रम स्वीकृति लिएर विदेशिएको तथ्यांक छ। विदेशिनेमा ४९ हजार ५०९ जना पुरुष र चार हजार ९४८ जना महिला छन्।

नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन्। आन्तरिक श्रम बजारमा सबैले रोजगारी पाउने अवस्था छैन।

नेपालको जनगणना २०७८ ले नेपालमा ७ लाख सक्रिय जनशक्ति बेरोजगार रहेको देखाएको छ। नेपालमा रोजगारी नपाउँदा अथवा राम्रो सेवासुविधा तथा अवसरको खोजीमा नेपालबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दो छ।

पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको मन्त्रालयको भनाइ छ।

त्यस्तै सीपयुक्त जनशक्ति विकास गरी रोजगारी र स्वरोजगार वृद्धि गर्ने योजना छ। आन्तरिक रोजगारी पनि प्रवर्द्धन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।

Published on: 4 July 2023 | Setopati

Link

Back to list

;