s

वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नेपाली ठगिए : मन्त्री अर्याल

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई टुलुटुल हेरेर नबस्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरूको पक्षमा सरकारले काम गरिरहेको पनि बताए । उनले फ्री भिसा, फ्री टिकटले विकराल अवस्था सिर्जना गरेको पनि बताए । फ्री भिसा, फ्री टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक विदेशिक रोजगारीमा जाँदा ठगिएको उनको भनाइ छ ।

‘फ्री भिसा, फ्री टिकट सम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ । करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ । जुन त्यहीँ नागरिकबाट ठगिएको देखिएको छ । त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ, गर्नु नै छ,' मन्त्री अर्यालले भने, 'अहिले पनि फ्री टिकट, फ्री भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ । त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु । ९६ प्रतिशत नागरिक जो विदेश जानुभएको छ, उहाँहरूमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ ।'

मन्त्री अर्यालले फ्री भिसा, फ्री टिकले निम्त्याएको समस्या समाधान गर्नका लागि काम गरिरहेको जानकारी दिए । 'हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ । त्यो भइसके पछाडी नागरिकहरु ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ,’ उनले भने ।

हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिक ठगिइरहेका अर्यालको भनाइ थियो ।

Published on: 24 June 2024 | Kantipur

Link

Back to list

;