s

वैदेशिक रोजगारीमा जाँदा हुन सक्ने ठगीबाट यसरी बचौं

०५१ देखि हालसम्म ४६ लाखभन्दा बढी नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको देखिन्छ । गएको आर्थिक वर्षमा मात्रै करिब ४ लाख नेपाली कामदार विभिन्न मुलुक पुगेका छन् । अहिले वैदेशिक रोजगारीमा करिब २५ लाख नेपाली रहेको बताइन्छ । त्यसमा सबैभन्दा बढी खाडी तथा मलेसियामा छन् । तिनै मुलुक गएका हजारौँ कामदार म्यानपावर, दलाल, रोजगारदाता कम्पनीलगायतको ठगीमा पर्ने गरेका छन् । यसरी भइरहेको ठगीबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक बद्रीकुमार कार्कीले यस्तो सुझाब दिए :

तालिम लिएर मात्रै जाने
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये धेरैजसो अदक्ष कामदार रहेका छन् । विभिन्न तथ्यले नै ७६ प्रतिशतभन्दा बढी कामदार अदक्ष रहेको देखाएको छ । त्यस्ता कामदारमध्ये ८५ प्रतिशत खाडी तथा मलेसिया जाने गरेका छन् । समग्रमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूमा ५ प्रतिशतभन्दा पनि थोरै मात्र पूर्ण दक्ष कामदार छन् । अर्ध दक्ष पनि मुस्किलले २० प्रतिशतजति भएको हुन सक्ने अनुमान छ । तैपनि, विनाकुनै तालिम र दक्षता वैदेशिक रोजगारीमा जाँदा गतिलो तलब सुविधा नपाउने अवस्था छ । सकेसम्म केही तालिम लिएर अर्ध दक्ष रूपमा मात्रै जाँदा पनि वैदेशिक रोजगारी सुरक्षित तथा भरपर्दो बन्न सक्छ।
 
आर्थिक विश्लेषण गर्ने
अहिले मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानीका लागि पनि विदेश नै ताक्ने प्रवृत्ति देखिन्छ । त्यसरी जाँदा पैसा जोगाउन नसक्ने, विभिन्न समस्यामा फस्ने सम्भावना अत्यधिक रहन्छ । अदक्ष रूपमा वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै सजिलै सोबराबरको आम्दानी गर्न सकिनेतर्फ मनन गर्नु आवश्यक छ । लहलहैमा वैदेशिक रोजगारीमा जाने भन्दा पनि स्वदेश र विदेशमा रहेका काम गर्दाको फरक के हुन्छ, गम्भीर भएर सोच्नैपर्छ । विभिन्न कोणबाट सोच्दा पनि वैदेशिक रोजगार नै आवश्यकता हो भन्ने ठहर भए मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ । अनुभव लिनकै लागि भने नगएकै राम्रो हुन्छ ।
 
अनुमतिप्राप्त म्यानपावरबाट मात्रै जाने
अहिले विभिन्न म्यानपावर कम्पनी र आफन्त तथा परिवारका सदस्यको सम्पर्कका आधारमा वैदेशिक रोजगारीमा गइरहेको अवस्था छ । म्यानपावरमार्फत नै वैदेशिक रोजगारीमा जाने हो भने पनि त्यस्तो म्यानपावर वैदेशिक रोजगार विभागबाट अनुमतिपत्रप्राप्त हो कि होइन भन्ने कुरा बुझ्न जरुरी छ । कतिपय भाषा सिकाउने तथा तालिम दिने संस्थाले समेत वैदेशिक रोजगारीमा पठाउने काम गरिरहेका छन् । दर्ता नभएका म्यानपावरबाट वैदेशिक रोजगारीमा जानु अवैधानिक हो । अनुमतिपत्रप्राप्त म्यानपावरले पनि रोजगारदाता कम्पनीबाट कामदारको माग ल्याउने र पूर्वस्वीकृति लिएर विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसपछि तोकिएका आधारमा छनोट, स्वास्थ्य परीक्षण गर्ने, ११ घन्टाको अभिमुखीकरण तालिम अनिवार्य छ । विदेश जाँदा भैपरी आउन सक्ने जोखिमका लागि बिमा गरेर मात्रै जानुपर्ने हुन्छ । सबै प्रक्रिया पुर्‍याएर वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरिसकेपछि मात्रै विभागले अन्तिम श्रम स्वीकृति जारी गर्छ ।
 
रकमको भर्पाई लिन नबिर्सिने
पहिलो कुरा विज्ञापन नगरी म्यानपावर कम्पनीले कामदारलाई विदेश पठाउन पाउँदैनन् । विज्ञापन हेरेर उपयुक्त लागेको काम विचार गरेर आवश्यक तालिम लिएर मात्रै जानुपर्छ । विज्ञापनमा सम्बन्धित काममा जाँदा लाग्ने शुल्क स्पष्ट रूपमा खुलाइएको हुनुपर्छ । तोकिएको भन्दा बढी पैसा तिरेर जानुहुँदैन । कतिपय म्यानपावरले रोजगारीका लागि विदेश जाने कामदारहरूबाट धेरै पैसा लिएर थोरैको मात्र भर्पाई दिने वा भर्पाई नै नदिने गरेका छन् । हाल वैदेशिक रोजगारमा जाने कामदारमध्ये धरैजसोले तोकिएभन्दा बढी रकम तिरेर राजीखुसी विदेश गइरहेका छन् । आकर्षक कामको लोभमा परेर आँखा चिम्लेर म्यानपावरले मागेको रकम बुझाउँदा विदेश गइसकेपछि भनेअनुसारको काम र सेवासुविधा भएन भने के गर्ने भन्ने विषयमा सोच्न जरुरी छ । सकेसम्म बैंकमार्फत म्यानपावरलाई रकम बुझाउनुपर्छ । पैसा बुझाएको भर्पाई आफूसँग भएन भने विदेश गएर समस्यामा परेपछि क्षतिपूर्तिका लागि आवश्यक प्रमाणसम्म नहुने अवस्था आउनेतर्फ सचेत हुनु आवश्यक छ । त्यस्तो अवस्थामा ठगी गर्नेले समेत सजिलै उन्मुक्ति पाउन सक्छ । यस्तो कुरामा आफन्त, साथीभाइ र चिनजानका मान्छेलाई सजिलै विश्वास गर्नुहुँदैन ।
 
राम्रोसँग बुझेर सम्झौतापत्रमा हस्ताक्षर गर्ने
वैदेशिक रोजगारीमा जाँदा ६० प्रतिशत कामदार आफैँले ध्यान नदिँदा ठगीमा पर्ने गरेका छन् । म्यानपावर र दलालले भनेको कुरामा विश्वास गर्नुहुँदैन । रोजगारका लागि विदेश जाँदा रोजगारदातासँग र पठाउने म्यानपावरसँग छुट्टाछुट्टै सम्झौतापत्रमा करारनामा गरेर जानुपर्ने हुन्छ । सम्झौतापत्र नेपाली र अंग्रेजी भाषामा हुनुपर्ने कानुनी व्यवस्था नै छ । सम्झौतापत्र अक्षरशः राम्रोसँग पढेर तथा बुझेर मात्रै हस्ताक्षर गर्नुपर्छ । हस्ताक्षर गरिसकेको सम्झौतापत्रको एकप्रति फोटोकपी आफूसँग राख्नसमेत बिर्सिनुहुँदैन ।
 
समस्यामा परे पनि कम्पनी छाड्नुहुँदैन
रोजगारीका लागि गएको कम्पनीमा पुगिसकेपछि सकेसम्म कम्पनीको नियममा बस्नुपर्ने हुन्छ । तलब, सुविधा, कामको प्रकृति आदि विषय सम्झौताअनुसार नभएमा वा ठगिएमा पनि गएको कम्पनी भने कुनै पनि हालतमा छोड्नुहुँदैन । आफूलाई दिएको जिम्मेवारी राम्रोसँग बुझ्नुपर्ने हुन्छ । कम्पनी नै छोडेमा सम्बन्धित मुलुकमा स्वतः अवैधानिक भइन्छ । त्यसपछि कानुनी लडाइँमा पनि समस्या आउन सक्छ । त्यस्तो अवस्थामा रोजगारदाता कम्पनीले पनि छाडेर गएको भन्दै आफ्नो दायित्वबाट पन्छिने सम्भावना रहन्छ ।
 
समस्यामा परे सरोकारवालालाई खबर 
वैदेशिक रोजगारको सिलसिलामा कुनै समस्यामा परेको खण्डमा सबैभन्दा पहिला पठाउने म्यानपावर कम्पनीमा खबर गर्नुपर्छ । सम्झौता अवधिभरका लागि पठाउने म्यानपावर कम्पनी नै पूर्ण जिम्मेवार हुन्छ । सँगसँगै सम्बन्धित देशको राजदूतावास, श्रम सहचारी, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम तथा रोजगार मन्त्रालय, कन्सुलर विभाग, आफन्त, विभिन्न संघ–संस्थामा त्यसको खबर गर्नुपर्छ । सबैतिर उजुरी गर्दा एकसाथ दबाब पर्ने र समस्या तत्काल सम्बोधन हुन सक्छ ।
 
रोजगारीका लागि १ सय १० देश खुला
हाल नेपाल सरकारले वैदेशिक रोजगारीका लागि १ सय १० वटा देश खुला गरेको छ । त्यसमध्ये कोरियासँग द्विपक्षीय सम्झौता भएको छ भने जापान, बहराइन, कतार र युएईसँग कामदार पठाउने विषयको सम्झौता भएको छ । तर, बाँकी अन्य १ सय ५ मुलुकसँग भने सरकारीस्तरबाट त्यस्तो कुनै पनि सम्झौता हुन सकेको छैन । सकेसम्म सरकारले नै सम्बन्धित मुलुकसँग सम्झौता गरेर मात्रै कामदार पठाउने व्यवस्था गर्न सके नेपाली कामदारले पनि सम्बन्धित देशको श्रम कानुनअनुसारको सेवासुविधा पाउन सक्ने अवस्था बन्ने देखिन्छ । अहिले सामान्यतः विश्व श्रम संगठनअन्तर्गत भएका सन्धिलाई आधार मानेर वैदेशिक रोजगारीमा पठाउने कार्य भइरहेको छ ।
 
श्रम सम्झौता नै मुख्य आधार
यतिखेर श्रम ऐन ०६४ को संशोधनको गृहकार्यसमेत अगाडि बढेको छ । नयाँ संशोधनमा यो विषयलाई समेट्न सकियो भने वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनेतर्फ महत्वपूर्ण कदम हुन सक्छ । श्रम गन्तव्यका लागि मुलुक खुला गर्दा त्यस्ता मुलुकको सामाजिक, भौगोलिक, आर्थिक आदि मानक तयार पार्न जरुरी छ । अहिले विनाकुनै मापदण्ड रोजगार गन्तव्यका लागि मुलुक खुला गर्ने परिपाटी रहँदै आएको छ । यसको अन्त्य जरुरी छ ।
 
खुला गरिएको तर सम्झौता नगरिएका मुलुकमा कामदार नपठाउने हो भने धेरै ठूलो रोजगारी गुम्ने सम्भावना रहेको छ । खुला गर्नुपर्ने मुलुक पनि उत्तिकै छन् । यद्यपि, खुला गरिँदा होस्, यो सम्झौता गरिँदा नेपाली कामदारको हितलाई सधैँ केन्द्रमा राख्नुपर्छ ।
 
Published on: 16 September 2017 | Naya Patrika

Back to list

;