s

वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरणमा पहल

काठमाडौँ, चैत ३० गते । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि अनुुगमनलाई प्रभावकारी गराउन छुट्टाछुट्टै तीनवटा अनुगमन समिति गठन गरेको छ । विभागले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने बढेसँगै वैदेशिक रोजगारीका हरेक प्रक्रियामा हुने ठगी पनि बढेपछि यसलाई प्रभावकारी गराउन विभागले छुट्टाछुट्टै तीनवटा अनुगमन समिति गठन गरेको हो ।

विभागका निर्देशक कृष्णप्रसाद भुसालले वैदेशिक रोजगारी नाममा हुने ठगी नियन्त्रण गर्न अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकहरूको संयोजकत्वमा समिति बनाएको जानकारी दिनुभयो ।

यो अनुगमन समितिले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी, अभिमुखीकरण तालिम प्रदायकलगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायहरूको अनुगमन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

विभागका निर्देशक भुसालले विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पु¥याउनसमेत सबै सरोकारवालालाई आग्रह गर्नुभयो । छुट्टाछुट्टै तीनवटा विषयगत समिति गठन गरिएकाले यो अनुगमनबाट प्रभावकारी नतिजा आउनेमा पनि विभाग विश्वस्त रहेको उहाँको भनाइ छ ।

पछिल्लो पटक वैदेशिक रोजगारीमा हुने ठगीको अनुगमन कमजोर भएकाले विभिन्न बहानामा हुने ठगी बढेको तथ्याङ्क बाहिरिएको छ । यही साता मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले मृत्यु भएका श्रमिकका आफन्तले बिमाबापत प्राप्त गर्ने सहायता रकममै ठगी हुने गरेको विषय बाहिरिएको छ ।

विदेशमा ज्यान गुमाउने नेपाली श्रमिको लासको विषयमा समेत ठगी हुँदा वैदेशिक रोजगारीको ठगी डरलाग्दो हुँदै गएको पुष्टि हुन्छ । बिमा रकम ठगीमा संग्लन व्यक्तिलाई प्रहरीको केन्द्रीय अपराध अनुसन्धान केन्द्रले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

विभागका निर्देशक भुसालले विभागमा हाल गठन भएको छुट्टाछुट्टै तीनवटा अनुगमन समितिले वैदेशिक रोजगारीमा जाने प्रक्रियादेखि फर्कनेसम्मका सबै अनुगमन गर्ने जानकारी दिनुभयो ।

Published on: 13 April 2023 | Gorkhapatra

Link

Back to list

;