s

वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण गर्न सरकार सक्रिय

काठमाडौँ, जेठ २२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी भण्डारीले श्रमिकलाई ठग्ने जो कोहीलाई अब कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा हुने ठगी जुनसुकै प्रकारको होस्, अब कारबाहीको दायरामा आउँछ, सरकारले कुनै हालमा छोड्दैन ।”

मन्त्रालयले गरेका गतिविधि तथा आगामी कार्ययोजनाका बारे जानकारी दिन आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा ठगी गर्ने सबै कानुनी कारबाहीमा पर्ने बताउनुभएको हो । श्रमिकलाई सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्न मन्त्रालय अघि बढेको उहाँको भनाइ छ ।

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीमा गएकाले पठाएको विप्रेषणबाट अहिलेको अर्थतन्त्र थेगेका श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा विभिन्न बहानामा ठगी नरोकिनु देशकै लागि विडम्बना भएको बताउनुभयो ।

श्रमिकका समस्या सुन्न आफू मन्त्री नबनेको बताउँदै उहाँले अब नतिजा दिने गरी अघि बढ्न आफू मातहतका कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।

श्रमिकसमेत सूचनाको पहुँचमा पुग्न जरुरी रहेको बताउँदै उहाँले श्रम बजारमा नेपाली श्रमिकको सहज पहुँच पुग्ने गरी मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

विदेशमा कागजात नमिलेर अलपत्र रहेका नेपालीलाई कागजात मिलाएर स्वदेश फिर्ता गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएकोसमेत मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै संस्थागत रूपमा जाँदा सेवा शुल्क १० हजार मात्र लिन पाइने व्यवस्था भए पनि यो नियम व्यावहारिक नदेखिएकाले अन्य मुलुकको कानुन र प्रयोग अध्ययन गरेर संशोधनको पक्षमा मन्त्रालय पुगेको उहाँको भनाइ छ ।

श्रम सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न चुनौती रहेको बताउनुभयो । वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित गराउन अब स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबै खालका समस्याको समाधान खोजिने उहाँको भनाइ छ ।

Published on: 5 June 2023 | Gorkhapatra

Link

Back to list

;