s

वैदेशिक रोजगारीमा घरेलु कामदार सम्बन्धी भ्रम र वास्तविकता

उदयराज पाण्डेय

केही वर्षअघिसम्म अन्य क्षेत्रमा जस्तै घरेलु कामदारसमेत सहजै वैदेशिक रोजगारीमा जाने गरेका थिए । तर, घरेलु कामदारका रूपमा जाने महिला कामदार पटक–पटक समस्यामा पर्न थाल्नुका साथै उनीहरूको उद्धार एवं राहत जटिल बन्दै गएपछि सरकारले २०७३ देखि कडाइ गरेको छ । ३ चैत २०७३ को मन्त्रिपरिषद् बैठकले घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका संशोधन गर्दै गन्तव्य मुलुकसँग श्रम सम्झौता वा समझदारी भए मात्रै घरेलु कामदार पठाउन सकिने व्यवस्था गरेको छ । तर, घरेलु कामदार वैदेशिक रोजगारीमा लैजान पाउने विषयमा कुनै पनि मुलुकसँग श्रम सम्झौता भएको छैन । जसका कारण घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने वैधानिक बाटो बन्द भएको छ । त्यसैले पनि होला, यसलाई कतिपयले महिला कामदारलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा पठाउन सरकारले रोक लगाएको अर्थमा व्याख्या गर्दै आएका छन् । साउदीका लागि राजदूत रहेर काम गरिसकेका उदयराज पाण्डेयले घरेलु कामदारका रूपमा रहेको वैदेशिक रोजगारीका भ्रम र वास्तविकतालाई यसरी प्रस्ट्याउने प्रयास गरेका छन् । 

उदयराज पाण्डेय
पूर्वराजदूत
 
विदेशमा घरेलु कामदारका दुःख
 
यसअघि सामान्य श्रमिकजस्तै घरेलु श्रमिक पनि वैदेशिक रोजगारीमा जाँदै आएका थिए । उताबाट मागपत्र ल्याउने र त्यसैका आधारमा म्यानपावरले घरेलु कामदारका रूपमा नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउँथे ।
 
तर, त्यसरी जाँदा खासगरी महिला कामदारले अत्यन्तै ठूलो दुःख र प्रताडना खेप्नुप¥यो । साउदी मात्रै होइन, कुवेत, ओमान, लेबनानलगायत अन्य मुलुकमा पनि घरेलु महिला कामदारले निकै सास्ती भोगे ।
 
अभिलेखीकरणमा देखिने तथा वैध रूपमै वैदेशिक रोजगारीमा जाँदा पनि समस्या देखियो । ठूलो संख्यामा महिला कामदार खाडीमा जाँदा उनीहरूको ख्याल राख्न सकिएन । त्यसले पनि समस्या बढाएको हो । आमरूपमा पहिलो कुरा घरेलु कामदार दूतावासको सम्पर्कमा नै नरहने अवस्था थियो ।
 
कुनै निजी घरमा कामदारका रूपमा गएका महिलालाई तलब दिएन, कुटपिट गरियो वा अन्य किसिमको शोषण गरियो भने त्यस्तो किसिमको उजुरी पनि दूतावाससम्म आउन नसक्ने अवस्था थियो ।
 
उजुरी आइहाले पनि उनीहरूलाई उद्धार गर्न बसेको ठाउँ कहाँ हो, पत्ता लगाउनै समस्या हुने गरेको थियो । कसैको निजी घरमा त्यहाँको कानुनले दिएको प्रावधान पूरा नगरी हस्तक्षेप गर्न पनि नपाइने । उनीहरूको उद्धार गर्न लामो समय लाग्ने र अप्ठ्यारो हुने स्थिति थियो ।
 
खास गरेर साउदीको कानुनी प्रावधानअनुसार घर फर्किन परे स्पोन्सरले एक्जिट भिसा हानिदिनुपर्छ । नत्र मान्छे फर्किन गाह्रो हुन्छ । यदि मान्छे भागेर दूतावासमा आइपुग्यो भने त दूतावासले जसोतसो घर फर्काउने कोसिस गथ्र्यो । अन्यथा, विकल्प नहुने अवस्था थियो । धेरैजसो महिला कामदार खाडीमा मानव तस्करको माध्यमबाट पुगेका छन् ।
 
उनीहरू कुनै घरमा काम गर्न पुग्छन् । दुःख सहन नसकी त्यहाँबाट भाग्छन् । फेरि तस्करकै सम्पर्कमा पुग्छन् । उसले अर्को घरमा पठाइदिन्छ । यो प्रक्रिया एवं रितले चलिरहन्छ । उनीहरू बँधुवा श्रमिकका रूपमा रहन बाध्य हुन पुग्छन् ।
 
अवैध बाटोको प्रयोग
 
वैधानिक रूपमा घरेलु कामदार वैदेशिक रोजगारीमा जाने विकल्प नहुँदा भारत तथा अन्य मुलुकको बाटो हुँदै अवैध बाटोको प्रयोग हुन थालेको छ । यसलाई नियन्त्रण गर्न सकेसम्म छिटो श्रम सम्झौता गरेर घरेलु कामदारसमेत वैदेशिक रोजगारीमा जान सक्ने विकल्पतर्फ सोच्न आवश्यक छ ।
 
पर्यटक भिसामा घरेलु कामदार ओसार्ने समस्या पनि देखिएको छ । तर, मुख्य रूपमा यहाँबाट अन्य मुलुकमा लगेर त्यहाँबाट कागजात र भिसा बनाएर खाडी मुलुकमा लैजाने गरेको अवस्था पनि छ ।
 
श्रम सम्झौता गरिसकेपछि बाहिरी बाटोबाट जाने सम्भावना कम रहन्छ । अहिले त अभिलेखीकरण गरेर नेपालको विमानस्थल र नेपालको बाटोबाट जान नसकेकैले अन्य मुलुकबाट लुकीछिपी जाने बाध्यताजस्तो भएको छ । भारत, श्रीलंका, बंगलादेश र कोही त कुवेतबाट पनि साउदी गइरहेका छन् ।
 
श्रम सम्झौताको पूर्वसर्त
 
हाल सरकारले सातवटा श्रम गन्तव्य मुलुकसँग मात्रै श्रम सम्झौता वा समझदारी गरेको छ । तर, ती मुलुकसँग भएका सम्झौताले पनि घरेलु कामदारका विषयलाई भने समेट्दैनन् । घरेलु कामदारका लागि छुट्टै श्रम सम्झौता गर्नुपर्ने आवश्यकता छ । तर, यहाँ महिला कामदारलाई घरेलु कामदारका रूपमा पठाउन सरकारले रोक लगाएको अर्थमा बुझिँदै आएको छ । जुन सत्य होइन । घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा पठाउन श्रम सम्झौता पूर्वसर्त हो ।
 
तर, त्यस्तो सम्झौता नभएकै कारण घरेलु कामदारका रूपमा वैदेशिक रोजगारी तत्काललाई रोकिएकोजस्तो भएको छ । घरेलु कामदारका रूपमा महिला मात्रै होइन, पुरुष पनि जान नपाइरहेको अवस्था छ । घरेलु कामदारका रूपमा जानेहरूको सुरक्षा ग्यारेन्टी नगरी वैदेशिक रोजगारीमा जान दिनु उपयुक्त हुँदैन ।
 
यो समस्याको समाधान सम्बन्धित देशहरूसँग उपयुक्त श्रम सम्झौता गरेरै कामदार पठाउनु हो । तर, हालसम्म कुनै पनि देशसँग त्यस्तो सम्झौताले पूर्णता पाउन सकेको छैन । जुन–जुन मुलुकसँग सम्झौता हुन्छ, ती मुलुकमा घरेलु कामदार तत्कालै जान सक्छन् । श्रम सम्झौता गरेर सुरक्षाको ग्यारेन्टी हुने गरी मात्रै घरेलु कामदार पठाउनुपर्छ । अहिले घरेलु कामदार पठाउने सवालमा श्रम सम्झौताको विषय कहाँ पुग्यो स्पष्ट छैन ।
 
सम्झौतामा ढिलाइ
 
केही मुलुकसँग घरेलु कामदार पठाउने गरी श्रम सम्झौता गर्ने प्रक्रियासमेत अगाडि बढाइएको थियो । खासगरी साउदी अरबको हकमा नेपाली पक्षको चाहना आमश्रमिक र घरेलु श्रमिक गरी दुवैखालका श्रम सम्झौता एकैपटक होस् भन्ने चाहना थियो । तर, त्यसले अझै पूर्णता पाउन सकेको छैन ।
 
साउदीको हकमा घरेलु कामदारको विषयलाई लिएर एक–दुई बुँदामा कुरा मिलेको थिएन । घरेलु महिला कामदारको हकमा उनीहरूलाई बिमाको दायरामा समेट्ने कि नसमेट्ने, उनीहरूको मृत्यु भएपछिको क्षतिपूर्तिको सवालमा के हुने र उनीहरू बसेर काम गर्ने ठाउँको आवश्यक जानकारी दूतावासमा रहने कि नरहनेलगायत कुरामा असमझदारी देखिएको थियो ।
 
यसअघि कुनै पनि सम्झौता नभई घरेलु कामदारसमेत जाँदै आएका थिए । यसरी जाँदा उनीहरूको अभिलेख नेपालसँग नरहने अवस्था आयो । कतिपयसँग श्रम स्वीकृति नै हुँदैनथ्यो । अर्को मुलुकको बाटोबाट घरेलु कामदारका रूपमा जानेको समस्या झन् विकराल थियो ।
 
Published on: 9 August 2018 | Naya Patrika

Back to list

;