s

वैदेशिक रोजगारीमा गएकाले आरक्षित सेयर पाउन रेमिट्यान्स खाता खोल्नुपर्ने

वैदेशिक रोजगारीमा गएका नेपालीले नियमानुसार उनीहरूलाई कम्पनीहरूले आइपिओमा छुट्याएको १० प्रतिशत आरक्षित सेयर पाउन विप्रेषण (रेमिट्यान्स) खाता खोल्नुपर्ने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले दिएको जानकारीअनुसार निष्कासित प्राथमिक सेयरमा आवेदन दिन चाहनेले अनुमतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली सि–आस्बा रजिस्ट्रेसन नम्बर (सिआरएन) लिनुपर्ने भएको हो ।

सिआरएन लिनका लागि सि–आस्बा सदस्यताप्राप्त बैंक तथा वित्तीय संस्थालाई सि–आस्बा प्रणालीमा आफ्ना ग्राहकको विप्रेषण (रेमिट्यान्स) बचत खाता तथा सोका लागि प्रदान गरिने सिआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरिसकेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको सेयरको खरिद आवेदन दिनका लागि विप्रेषण (रेमिट्यान्स) बचत खाता उल्लेख गरी दर्ता गरिएको सिआरएन नम्बर अनिवार्य रहेकाले रेमिट्यान्स खाता खोल्न अनिवार्य गरिएको न्यौपानेले बताए । उनले भने, ‘सिआरएन नम्बर प्राप्त गरिसकेको योग्य आवेदकले आरक्षित सेयर निष्कासनका क्रममा मेरो सेयरमार्फत नै खरिद आवेदन दिन सक्नेछन् ।’

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (छैटौँ संशोधन) निर्देशिका, २०७९’ लागू भइसकेकाले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले उक्त खाता खोल्नुपर्ने भएको हो । श्रम स्वीकृत लिएर बसेका र विदेश जाने तयारीमा रहेकाले पनि खाता खोलेर जान सक्नेछन् ।

निर्देशिकाअनुसार धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा संगठित संस्थाद्वारा निष्कासित सेयरको १० प्रतिशत पाउनेछन् । सेयर निष्कासन गर्दा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्न १५ दिनको अवधि तोकी आह्वानपत्र सार्वजनिक गर्नुपर्नेछ । यसका लागि रेमिट्यान्स बचत खाताको प्रयोग अनिवार्य रहेको निर्देशिकामा उल्लेख छ ।

आवेदन भर्नका लागि रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ रेमिट्यान्स जम्मा गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारले त्यस्तो सेयर खरिद नगरी बाँकी रहेमा सर्वसाधारणमा थप गरी जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । पछिल्लो समय नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेकाले शोधनान्तर घाटा बढ्दै गएको र बैंक तथा वित्तीय संस्थाहरूमा समेत लगानीयोग्य तरलताको समस्या देखिएको छ । विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्सको आप्रवाहमा कमी आउन थालेपछि यस्तो समस्या देखिएको छ । सरकारले रेमिट्यान्स आकर्षित गर्न विभिन्न उपायहरू अवलम्बन गरिरहँदा प्राथमिक सेयरमा समेत आरक्षण दिने उपाय अपनाएको हो ।

अब आउने कम्पनीले छुट्याउनेछन्, १० प्रतिशत सेयर

धितोपत्र बोर्डले निर्देशिका जारी गरेपछि आएका कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई आरक्षित सेयर छुट्याउनेछन् । बोर्डको पाइपलाइनमा रहेका कुनै पनि कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि छुट्टै सेयर छुट्याएका छैनन् । बोर्डका प्रवक्ता रूपेश केसीका अनुसार निर्देशिका जारी भएर लागू भएपछि सेयर जारी गर्न अनुमति माग्न आउने कम्पनीले सेयर छुट्याएर आउनेछन् । निर्देशिका जारी भएर लागू भएको १७ कात्तिमा हो, त्यसपछि सेयर जारी गर्न अनुमति माग्ने कम्पनीले छुट्याएर जारी गर्नेछन् । सर्वसाधारणलाई जारी हुँदै आएको ३० प्रतिशत सेयरबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि छुट्याइने हो ।

Published on: 29 November 2022 | Naya Patrika

Link

Back to list

;