s

वैदेशिक रोजगारीमा फ्री भिसा-फ्री टिकटको माग गर्दै आइटी आर्मीले घेराउ गर्यो वैदेशिक विभाग

आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरूलाई न्याय दिलाउन काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग आज पनि घेराउ गरेको छ।

आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरू गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरिएको हो।

वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरू समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो।

आइटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको हो। यस अघि आइटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहालका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ।

‘लाखौँ लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ। ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौँलाख अवैध असुली भइरहेको छ। विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ। असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ’ साहले भने।

संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिए पनि अहिलेको गौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरूलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरूमा विदेशी कामदारहरूले अवसर पाइरहेको उनले बताए।

साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुन्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए। नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरूले हुन्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ। नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए। यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनुपर्ने आइटी आर्मीको माग छ।

‘हाम्रा युवाहरूलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ। ती युवाहरूको खुन पसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रशासकहरू र अवैध व्यापारीहरूले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने। असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरूको मृत्युलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे। यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

आइटी आर्मीका उपाध्यक्ष सुमन यादवले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए। अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरूले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउन विभाग घेराउ गरेको उनले बताए।

आइटी आर्मीका उपत्यका अध्यक्ष टाईसन लामाले नेपालमा सदियौँदेखि वैदेशिक रोजगारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए। नेताहरुले मेनपावरको माध्यमबाट युवाहरूलाई लुटिरहेको उनले बताए।

Published on: 24 June 2024 | Nagarik

Link

Back to list

;