s

वैदेशिक रोजगारीमा विदेसिएका २३ युवा बेपत्ता

वैदेशिक रोजगारीका सिलसिलामा ५ वर्षअघि जर्जिया गएका शिवहरि भट्ट बेपत्ता छन् । स्टिल कम्पनीमा काम पाउने आश्वासनमा पोखराका गणेश विकमार्फत एजेन्टलाई ४ लाख बुझाएर उनी त्यता गएका थिए । तोकिएको ठाउँमा काम नपाएपछि जर्जियाबाट टर्की हुँदै ग्रिस जाने भन्दै उनले घरबाट ५ लाख रुपैयाँ थप मगाएका थिए । 
 
पारिवारिक स्रोतका अनुसार त्यही एजेन्टले रकम लिएर ग्रिस प्रवेश गराउने प्रयास गर्दा उनलाई सुरक्षाकर्मीले पक्रेको थियो । परिवारले हुन्डीमार्फत रकम पठाएका थिए । शिवहरिका दाजु रामहरिले रकम पाएको र ग्रिस जान लागेको खबर आएको बताए । उनीसँगै जर्जिया गएका नौबिसेका सुशील उप्रेतीका अनुसार शिवहरिलाई सुरक्षाकर्मीले पक्रेर संयुक्त राष्ट्र संघका बुझाएका थिए । गएको डेढ महिनादेखि नै उनको खबर केही नपाएको पारिवारिक सदस्यले बताए ।
 
मकवानपुर टिस्टुङ–पालुङका रामहरीले भने, ‘कमाइ पठाउने त कुरै छाडौं, उनकै अवस्था नै अज्ञात छ । सबै भाइ मिलेर विदेश पठाउन बैंकबाट लिएको ऋण चुक्ता गर्दैछौं ।’ शिवहरि त उदाहरण मात्र हुन् । सदरमुकामस्थित सुरक्षित आप्रवासन (सामी) पयिोजनाको सूचना तथा परामर्श केन्द्रअन्तर्गत सञ्चालित सामाजिक संघ संस्थामा प्राप्त जानकारीअनुसार विदेशमा हराएका २३ जनालाई खोजी दिन निवेदन दर्ता गरिएको छ ।
 
तीमध्ये सबैभन्दा बढी मलेसियामा बेपत्ता भएका छन् । मलेसियामा १२, साउदीमा २, जर्जियामा १, सिरियामा २, कतारमा १, कुवेतामा ३ जना हराएको प्रारम्भिक सूचना आएको छ । जिल्लाको उत्तरी भेगका ५ गाविसबाट बेपत्ता हुने क्रम बढदै गएको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, नीलकण्ठ नगरपालिका, कुम्पुरबाट, त्रिपुरेश्वर, जोगीमारा, थाक्रे, नलाङ, तसर्पु, सल्यानटारलगायत गाविसबाट हराउने बढी छन् । आवश्यक कागजपत्रको अभावमा बेपत्ता भएकामध्ये थोरै मात्रको उद्धार गरिएको कार्यक्रम संयोजक गंगा सुवेदीले बताइन् ।
 
Published on: 31 August 2016 | Kantipur

Back to list

;