s

वैदेशिक रोजगारीमा आउन पुलिस रिपोर्ट अनिवार्य

लक्ष्मण खनाल

युएई सरकारले वैदेशिक रोजगारीका लागि आउनेहरूले अनिवार्य रूपमा आचरण र व्यवहार प्रमाणपत्र (पुलिस रिपोर्ट) पेस गर्नुपर्ने नियम लागू गरेको छ । सो नियम गत ४ फेब्रुअरीदेखि लागू भएको हो ।

नेपाली राजदूतावास युएईले सोमबार सूचना जारी गर्दै वैदेशिक रोजगारमा पुलिस रिपोर्ट लिएर आउन आग्रह गरेको छ । दूतावासका अनुसार युएईमा रहेका नेपालीले नेपालमा रहेको अवधिभरको प्रमाणपत्र लिनको नजिकको नातेदारमार्फत प्रहरी प्रधान कार्यालय अनुसन्धान विभागको चालचलन शाखा नक्सालमा सम्पर्क गर्नुपर्नेछ ।
 
नयाँ कानुनअनुसार वैदेशिक रोजगारीमा विभिन्न देशबाट युएई आउनेहरूले आफ्नो देशको प्रशासनले प्रमाणित गरेको वा आफू पछिल्लो पाँच वर्षदेखि बसिरहेको देशको प्रशासनले प्रमाणित पुलिस रिपोर्ट पेस गर्नुपर्नेछ । सो रिपोर्ट देशको कूटनीतिक नियोग र युएईको विदेश मन्त्रालयले प्रमाणीकरण गर्नुपर्नेछ ।
 
युएईले आफ्नो देशमा रहेका विभिन्न समुदायलाई सुरक्षित र अनुशासित समुदाय निर्माण गर्ने अभियानका रूपमा लागू गरेको जनाएको छ । युएईलाई शान्त र उच्च सुरक्षित बनाउने उद्देश्यले यस्तो नियम जारी गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
 
भिजिट भिसामा आउनेहरूका लागि भने यो कानुन लागू नहुने बताइएको छ । युएईमा करिब दुई लाख ५० हजार नेपाली कामदार छन् । पछिल्लो समय दलालमार्फत भिजिट भिसामा आएर काम खोज्ने नेपालीको संख्या बढेको छ । त्यसले अलपत्र पर्ने, ठगी हुनेजस्ता समस्या बढिरहेको स्थानीय संघसंस्थाले जनाएका छन् ।
 
Published opn: 8 February 2018 | Naya Patrika

Back to list

;