s

वैदेशिक रोजगारीले दिएको पीडा

नारायण रिजाल

परिवारलाई खुसी राख्ने र सम्पत्ति कमाउने सपना बोकेर बिदेसिएका भीम छन्त्यालको सपना चकनाचुर भएको छ । जिल्लाको तमानखोला गाउँपालिका– १ बोङ्गादोभान बोङखानीका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिशाप’ बन्यो । साउदी अरबमा कामकै सिलसिलामा दुर्घटनामा परेका छन्त्याल अपाङ्ग भए । २० वर्षअघि रोजगारीका क्रममा साउदी अरबमा उनले भोगेको पीडा अहिले झन् बल्झिँदै गएको छ । उनको जीवन अहिले ‘ह्विलचियरको’ सहारामा चलेको छ ।

राजनीतिक द्वन्द्वले बिदेसिन बाध्य

‘उः वेला विदेशको पैसा ठूलो देखियो,’ छन्त्यालले भने, ‘गाउँमा केही गर्न कठिनाइ लागेर विदेश रोजियो । अहिले यस्तो अवस्था भयो ।’ २०५५ सालतिर गाउँमा चर्केको राजनीतिक द्वन्द्वले पनि बिदेसिन बाध्य बनाएको छन्त्याल बताउँछन् ।
 
दुवै खुट्टा भाँचियो
 
साउदी अरब गएको १६ महिनामा भदौ ३, २०५७ मा इलोक्ट्रोनिक्स कम्पनीमा काम गर्दै गर्दा दुई तलामाथिबाट खस्दा छन्त्याल घाइते भएका थिए । दुर्घटनामा परी छन्त्यालको कम्मरमुनिको भाग चोटग्रस्त भएको थियो । दुवै खुट्टा भाँचिएपछि ‘स्टिल’ राखिएको उनको भनाइ छ । चार महिनासम्म विदेशमै उपचार गराई फर्केका छन्त्यालको समस्या निको हुनुको सट्टा झन् चर्कंदै गएको छ । उपचारका लागि सबै ठाउँमा गएको, तर उपचार हुन नसकेकोे छन्त्याल बताउँछन् ।
 
घस्रेर हिँड्न पनि कठिन
 
केही वर्षअघिसम्म वैशाखीको सहारामा सामान्य हिँडडुल गर्ने छन्त्याल अहिले उभिएर हिँड्न नसक्ने भएका छन् । ‘दुवै खुट्टा चल्न छाडे, हातले भुइँमा घिस्रिएर घर भित्र–बाहिर गर्छु,’ छन्त्यालले भने, ‘खुट्टा सुन्निएपछि घस्रेर हिँड्न पनि कठिन छ । ह्विलचियर त छ, तर गुडाउन मिल्ने बाटो छैन ।’ शौचालय जाँदा पनि दुई हातको सहारामा जाने गरेको उनी बताउँछन् । श्रीमती, एक छोरी र एक छोरासहित बस्दै आएका छन्त्याल घर कुरेरै दिन बिताउँछन् ।
 
श्रीमतीको कमाइले  चारजनाको दैनिकी
 
उनकी श्रीमती भीमकुमारी छन्त्यालले स्थानीय तमानखोलाबाट गिटी, बालुवा निकाल्ने काम गरेर आर्थिक जोहो गर्दै आएकी छन् । छोराछोरीको सहयोगमा सानो लगानीमा व्यावसायिक कुखुरा पालन पनि गर्दै आएको छन्त्याल बताउँछन् । छोराछोरीलाई हुर्काउन र पढाउन श्रीमतीले दुःख गरिरहेको भीम बताउँछन् । सामाजिक सुरक्षा भत्ताबाहेक अरू केही पाएका छैनन् ।
 
सरकारले दिने अपांगता सुरक्षा भत्ताबाहेक अरू कुनै सहयोग नपाएको भीमकुमारी बताउँछिन् । ‘श्रीमान् अशक्त भएपछि घरको समस्या बढ्यो,’ उनले भनिन्, ‘घरखर्च चलाउन र छोराछोरी पढाउन दुःख उठाउनैप-यो ।’ छन्त्यालकी १५ वर्षीया छोरी पूजा कक्षा १० र १२ वर्षीय छोरा प्रवीण कक्षा ७ मा पढ्दै छन् ।
 
Published on: 27 July 2108 | Naya Patrika

Back to list

;