s

वैदेशिक रोजगारीले दिएको पीडा

बाँकेकी तिलसरा ओली थुप्रै सपना सजाएर वैदेशिक रोजगारीमा ओमन गइन्। दलालमार्फत घरेलु कामदारको रूपमा ओमन पुगेकी ओलीले त्यहाँ डेढ वर्षको अवधिमा थुप्रै पीडादायी क्षण भोग्नुपर्‍यो। सुरुमा काम नजानेका कारण गाह्रो पर्‍यो। बीचमा केही सहज महसुस भए पनि उनलाई बच्चा हेर्ने जिम्मा लगाइयो। बच्चाले खान नमान्दाको गाल उनले नै खानुपर्‍यो। 

बच्चालाई राम्ररी नस्याहारेको भन्दै उनलाई घर मालिकले खान नदिने र कुट्नेपिट्ने पनि ग:यो। असह्य भएपछि उनले त्यस घरमा काम छाड्ने निधो गरेर आफूलाई पिट्दा प्रतिकार गरिन्। उक्त घरबाट निकालिएपछि उनले केही समय बाहिर पनि काम गरिन्। त्यहाँ पनि खान लाउन नपाउने, समयमा तलब नपाउनेलगायतका समस्याका कारण नेपाल फर्कने निधो गरिन्। 

आफूसँग पासपोर्ट र नागरिकता नभएकाले नेपालमा रहेका एजेन्टलाई ती कागजपत्र पठाइदिन अनुरोध गरिन् तर अनुरोध नमानिदिँदा उनलाई फर्कन सहज भएन। ओलीले वैदेशिक रोजगारीबाट फर्केपछिको आफ्नो पीडा सुनाइरहँदा हलमा उपस्थित सबै स्तब्ध थिए। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा पौरखी नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले भनिन्, 'मैले काम गरेर कमाएको पैसा सबै एजेन्टलाई पठाउँदा पनि उसले पैसा पठाएको छैन भन्दै पासपोर्ट पठाइदिएन।' ओमनस्थित नेपाली दूतावासमा आएर एक महिना बसेकी ओलीले त्यहाँ भेटिएकी मधु गुरुङको सहयोगमा नेपाल आइपुगेको बताइन्। 

मलेसियाबाट फर्किएका ब्रिजकिशोर साहको पीडा पनि उस्तै छ। बाराका साहले मलेसिया जाने क्रममा म्यानपावर कम्पनीलाई एक लाख २१ हजार रुपैयाँ बुझाए पनि उनको नाममा जम्मा ८० हजारको मात्रै रसिद बनेको छ। उनले एक महिनामात्रै कम्पनीमा काम गरे। त्यहाँ समयभन्दा बढी काम लगाए पनि ओभरटाइम सुविधा नदिएका कारण उनले कम्पनी छाड्ने निर्णय गरे। त्यसपछि उनलाई ६ महिना बाख्रा चराउने काम लगाइयो। तलब दिँदा जम्मा पाँच महिनाको मात्रै दिइयो। 

उनले काम र तलब चित्त नबुझेका कारण नेपाल फर्कन्छु भन्दा फेरि अर्को कम्पनीमा काम लगाइदिने आश्वासन दिइयो। त्यो कम्पनी पनि मन नपरेकाले उनलाई इँटाभट्टामा सारियो। त्यहाँ नौ महिना काम गरेका साहले नेपालमा म्यानपावर कम्पनीमा बारम्बार फोन गर्दा पनि उनलाई फर्कने व्यवस्था गरिएन। अन्त्यमा उनी दलाललाई समातेर दूतावास पुगे। अनि बल्ल नेपाल फर्कन पाए। यहाँ आएर उनले म्यानपावर कम्पनी, श्रम कार्यालयलगायतका सम्बन्धित ठाउँमा धाउँदा पनि आफ्नो तलब र भएको खर्चको क्षतिपूर्ति पाएनन्। 

कार्यक्रममा अरू तीनजना महिला र तीन पुरुषले आआफ्नो भागाइ सुनाए। कार्यक्रममा अंगुलियाबाट फर्केकी सीता रूपाखेतीले असुरक्षित वैदेशिक रोजगारीमा जानबाट रोक्न सरकारले देशमै उद्योग धन्दाको विकास गर्नुपर्ने सुझाव दिइन्। विदेशमा काम गर्दाको समस्या त छँदै छ। यही क्रममा कामदारको मृत्यु भएमा नेपाल ल्याइएको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं दिनसम्म थन्कने गरेको छ। यसरी ल्याइएको लास वैदेशिक रोजगारका लागि गएका कामदारको हो भन्ने प्रमाणित भएमा यथाशीघ्र नि:शुल्क रूपमा सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था आफूहरूले गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए। 

वैदेशिक रोजगारीबाट फर्किएकाको समाजमा पुनर्एकीकरणका लागि सरकारले निर्देशिका तयार पारिरहेको पनि उनले जानकारी दिए। त्यसैगरी भविष्यमा लेबर ब्यांकको स्थापना गरी स्वदेशमा काम गर्न चाहने वा वैदेशिक रोजगारीमा जान चाहनेका लागि सुविधा दिने योजना पनि रहेको उनले बताए।  

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले वैदेशिक रोजगारीको क्रममा पीडित भएर फर्केकालाई बढीभन्दा बढी क्षतिपूर्ति दिलाउने प्रयास गरेको बताए। विभागमा पाँच महिनाको अवधिमा १२ सय उजुरी परेका र तिनमा ३१ करोड बिगो रकम भराउनुपर्ने भएकोमा तीन सय उजुरीमा ६ करोड क्षतिपूर्ति दिइसकेको उनले जानकारी दिए। उनका अनुसार यानपावर कम्पनीविरुद्ध आएका गुनासा पनि तुरुन्तै सुनुवाइ गर्ने र अभिमुखीकरण कार्यक्रममा पनि चुस्त अनुगमनको व्यवस्था गरिएको छ। 

श्रम मन्त्रालयका सहसचिव सूर्य श्रेष्ठले बिदेसिनु बाध्यता भए पनि यो विषय निकै संवेदनशील भएकाले लहैलहैमा विदेश उड्न नहुने बताए। सरकारले सम्बन्धित देशका सरकारी प्रतिनिधिसँग बसेर घरेलु कामदारसम्बन्धी कार्यविधि तयार पारिरहेको र यो कार्यविधि तयार भएपछि घरेलु कामदारसम्बन्धी थुप्रै समस्या समाधान हुने उनले प्रस्ट्याए। 

कार्यक्रममा पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङले सरकारले कुनै पनि देशसँग वैदेशिक रोजगारीसम्बन्धी सम्झौता गर्दा महिलामैत्री छ कि छैन भनेर सोच्नुपर्ने बताइन्। सुरक्षित वैदेशिक रोजगारका लागि वैदेशिक रोजगारमा जाने व्यक्ति, सरकार र म्यानपावर एजेन्सीबीचको समन्वय महत्त्वपूर्ण हुने उनको भनाइ थियो। 

Published on: 18 December 2014 | Annapurna Post

Back to list

;