s

वैदेशिक रोजगारीले बदलियो ‘डाँकु गाउँ’

देवनारायण साह
  
एक जमाना थियो, छोरा कहिले हुर्केला र सँगै डकैती गर्न लिएर जाउँला । जमाना बदलिएको छ, अहिले छोरा हुर्किए विदेश पठाउने तयारीमा हुन्छन् बाबुआमा । जिल्लाको इटाटार गाविसलाई यसअघि ‘डाँकाको गाउँ’ का रूपमा चिनिन्थ्यो । उक्त गाविसका सात सय ९८ मध्ये अधिकांश परिवारका युवा वैदेशिक रोजगारीमा छन् । भारतीय सिमाना र हुलाकी सडकसँग जोडिएको उक्त गाउँमा शिक्षा, स्वास्थ्य, सरसफाइ र आर्थिक परिवर्तन देखिन थालेको छ । सदरमुकामबाट पाँच किलोमिटर पूर्वमा पर्छ उक्त गाउँ ।
 
इटाटार ६ का ६२ वर्षीय जटहु पासमानले आफ्नो जवानी डकैती गरेरै गुजारे । त्यति बेला गाउँमा जमिनदारकहाँ कृषि मजदुरीको विकल्प नभएकाले पेटभरि खान र एकसरो लगाउन डकैती गर्न बाध्य भएको उनी बताउँछन् । अहिले रोजगारीको चौतर्फी अवसरले अपराधको दुनियाँबाट बाहिर आउन सकेको उनको भनाइ छ ।
 
‘डकैती गर्न जाँदा रित्तै हात फर्केका दिन भोकै रात गुजार्नेहरू अहिले गरिब र विपन्नलाई भोजन गराएर आनन्दित हुने गरेका छन्,’ उनले भने, ‘गाउँको जमिन त्यतिकै छ, मानिस पनि उस्तै । तर, अहिले कसैको रात भोकै बित्दैन । सबैलाई खान र एकसरो लगाउन, बस्न घर र छोराछोरीलाई पढाउन पुगेको छ । समाजबाट कोही हटेको छ भने त्यो जमिनदार मात्र हो ।’
 
उनका दुई छोरा देवेन्द्र र दीपेन्द्र चार वर्षदेखि कतारमा छन् । उनीहरूकै कमाइबाट छोरी सन्जु कक्षा १२ र दुई नाति बोर्डिङमा अध्ययनरत छन् । गोलबजारमा घडेरी खरिद गरेर पाँच कोठे पक्की घर बनाएका छन् । ‘बन्दुक बोकेर जवानी बिताउँदा छोराछोरीको पालनपोषणबाहेक केही गर्न सकिएन,’ उनले भने, ‘अहिले छोराहरूको कमाइले सबैथोक पुगेको छ ।’
 
गाउँका फुसका घर पक्की भवनमा परिवर्तन हुँदै गएका छन् । युवाले नवचेतना बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेर ग्रामीण अर्थतन्त्र निर्माण अभियान थालेका छन् ।
 
अब साहुको ऋण काढेर जीवनभर तिरिरहनुपर्ने झन्झट समाप्त भएको छ । समस्या र आवश्यक पर्दा सहकारीले सस्तो व्याज दरमा ऋण उपलब्ध गराउँछ । ‘अहिले गाउँलेलाई सुबिस्तै सुविस्ता छ,’ स्थानीय रामलखन ठाकुरले भने ।
 
शैक्षिक गतिविधिसमेत बढदै गएको छ । एक निमावि, दुई प्रावि, मदरसा, बाल विकास केन्द्र र ६ वटा बोर्डिङ सञ्चालनमा छन् । जनचेतना युवा सूचना केन्द्रमा बालबालिका र युवायुवती रमाएका छन् । छोराछोरीलाई गुणस्तरीय शिक्षा वैदेशिक रोजगारीकै कारण सम्भव भएको स्थानीय श्रवण यादवले बताए ।
 
‘हाम्रो जमानामा स्कुल, कलेज कहाँ हुनु,’ इटाटार २ का ८१ वर्षीय नसिबलाल पासमानले भने, ‘आर्थिक अभाव यस्तो थियो कि, कतिपय दौंतरी गाउँको सिमाना नकाटी परलोक भए ।’
 
उनीहरूका सन्तानले देशपरदेश घुमेर ज्ञान, सीप हासिल गरिरहेको देख्दा पासमानलाई आनन्द महसुस हुन्छ । गाउँमै खुलेका अंग्रेजी विद्यालयले त्यसमा अझ सहायता पुर्‍याएको उनको ठम्याइ छ ।
 
महिला गर्भवती भएपछि आँगननजिककै उपस्वास्थ्य चौकीमा जचाउन जान सक्ने भएका छन् । औरहीको प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालको दूरी पनि सडक विस्तारका कारण छोटिएको छ । छोटो समयमा गाविसभरको जीवनस्तर परिवर्तन भएको देख्दा वृद्ध चन्देश्वर यादवलाई सपनाजस्तो लाग्छ रे ।
 
Published on: 12 April 2016 | Kantipur

Back to list

;