s

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन धादिङमा १० बुँदे घोषणापत्र जारी

धादिङमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन १० बुँदे घोषणापत्र जारी भएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङले सन्चालन गरेको सामी परियोजना अन्तर्गत वडामा चुनिएका सुरक्षित वैदेशिक रोजगार सम्पर्क व्यक्तिका लागि  गरिएको कार्यक्रमबाट घोषणापत्र जारी गरिएको हो ।
 
युवालाई देशभित्रै स्वरोजगार बन्न प्रेरित गर्ने, स्थानीयस्तरमा हुने विकास निर्माणका काममा युवाको प्रयोगबारे गाउँपालिका र नगरपालिकाका प्रमुखसँग छलफल गर्ने, विदेश जानेको तथ्याङ्क सङ्कलन गरी गाउँपालिका र नगरपालिकामा अभिलेख राख्ने घोषणापत्रमा उल्लेख गरिएको छ । 
 
यस्तै विदेश जानेका लागि स्थानीय निकायको सिफारिस अनिवार्य गर्दै कागपत्रको प्रतिलिपी छोडेर जानुपर्ने व्यवस्था गर्न प्रतिनिधिसभा, प्रदेशसभासम्म पहल गर्ने, विदेश जानेहरुबाट सरकारले कल्याणकारी कोषमा जम्मा गरेको रकम सदुपयोग गर्न र त्यसमा स्थानीय निकायलाई पनि सहभागी गराउन पहल गर्ने लगायतका १० बुँदा घोषणा पत्रमा समेटिएको छ । 
 
कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले सुरक्षित आप्रवासन परियोजान (सामी)ले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो । वैदेशिक रोजगारको कारण आउने समस्या कम गर्नु आफैंमा महत्वपूर्ण रहेको भन्दै उहाँले दूरदराजका व्यक्तिसम्म सामीले सूचना पुर्याइरहेकोले वैदेशिक रोजगारी केही हदसम्म सुरक्षित भएको बताउनुभयो । 
 
धादिङमा वैदेशिक रोजगारका कारण समस्यामा पर्ने, ठगिने, बेपत्ता हुने र पारिवारिक विखण्डनका घट्ना बढेकोमा पनि चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका तीन वटा वडाका वडा सदस्य र सिद्धलेक, थाक्रे र गल्छी गाउँपालिकाका निर्वाचित वडा सदस्यमध्ये सुरक्षित वैदेशिक रोजगारीको लागि गाउँपालिकाबाट छनौट भएका सम्पर्क व्यक्ति सहभागी थिए । 
 
सामी परियोजनाका जिल्ला संयोजक कमलबहादुर रोकाय, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती र कार्यक्रम संयोजक गँगा सुवेदीले सामीले गर्ने काम, अहिलेसम्म गरिएका काम, धादिङमा वैदेशिक रोजगारको अवस्था, यसले पारेको प्रभाव र न्युनिकरणका उपाय प्रस्तुत गर्नुभएको थियो ।
 
मनोसामाजिक परामर्शकर्ता रामकुमार थापा र पवित्रा रानामगरले वैदेशिक रोजगारको कारण पर्ने मनोसामाजिक समस्या, लक्षण, हेरचाह र स्वास्थ्यको बारेमा जानकारी गराउनु भएको थियो । 
 
कार्यक्रममा सहभागी सम्पर्क व्यक्तिले वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सकेसम्म युवालाई देशभित्रै स्वरोजगार बनाउन पहल गर्ने र वैदेशिक रोजगारीमा जानेलाई पनि आवश्यक जानकारी लिएर मात्रै जान प्रेरित गर्ने बताए । 
 
Published on: 1 February 2018 | Ujyaaloonline

Back to list

;