s

वैदेशिक रोजगारीलाई निरुत्साहित गरिने

अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीको क्षेत्रलाई निरुत्साहित गर्ने बताएका छन् । राष्ट्रिय सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि उठेका प्रश्नहरूको सोमबार जवाफ दिंदै उनले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै स्वदेशी रोजगारका कार्यक्रमलाई प्रोत्साहन गर्ने बताएका हुन् ।

‘क्रमशः वैदेशिक रोजगारीको क्षेत्रलाई निरुत्साहित गर्दै जाने हो । विप्रेषणमा आधारित हाम्रो अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पुँजीबाट सञ्चालित राष्ट्रिय अर्थतन्त्र बनाउने हो,’ उनले भने, ‘त्यसो गरियो भने आयातमुखी हाम्रो अर्थतन्त्रमा धेरै सुधार हुन्छ ।’ विप्रेषण (रेमिट्यान्सले) हाल खर्च धानेकाले आयात बढिरहेको उनले बताए । ‘विप्रेषणलाई नजरअन्दाज भने गरेका छैनौं । तर हामी व्रिपेषणलाई नै प्राथमिकता दिएर मुलुक चलाउँछौं भन्ने पक्षमा छैनौं,’ उनले भने, ‘त्यसलाई क्रमशः घटाऊँदै लगेर स्वदेशमै रोजगारी दिने गरी हाम्रा कार्यक्रम अगाडि बढ्नेछन् ।’ स्वदेशी रोजगार कार्यत्रम बढाउँदा वैदेशिक रोजगारीका कार्यक्रम स्वतः कम हुँदै जाने उनले बताए । ‘आर्थिक स्थायित्व र सबल अर्थतन्त्र निर्माण गर्ने हिसाबले मैले यो भनिरहेको छु,’ उनले भने । आगामी बजेट रोजगार केन्द्रित हुने बताए । ‘रोजगारीको स्रोत कृषिको वरिपरि, कृषिको व्यवसायीकरणबाट हुनेछ,’ उनले भने, ‘कृषिको उत्पादन व्यवसायीकरणमार्फत आधुनिकतातर्फ अघि बढ्ने हो ।’ रोजगारीबाहेक पर्यटन र सार्वजनिक निर्माणबाट रोजगारी सिर्जनाका कार्यक्रम हुने उनले दाबी गरे । ‘निजी क्षेत्रले उद्योगमा गर्ने लगानीको माध्यमबाट पनि रोजगारीका सिर्जना हुने अपेक्षा गरेका छौं,’ उनले भने । राष्ट्रिय सभामा उनीमाथि आफूअनुकूलका तथ्यांकहरू प्रयोग गरेर प्रगति विवरण देखाएको आरोप लागेको थियो । त्यसमा पनि उनले खण्डन गरे । उनले यस वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरबारे धारणा राखे । ‘कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा पनि गणना गरिन्छ । उत्पादकको मूल्यमा पनि गणना गरिन्छ,’ उनले भने, ‘आधारभूत मूल्यमा यस वर्ष ६.८ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । उत्पादकको मूल्यमा ७ प्रतिशत हुन्छ,’ उनले भने, ‘यो पनि आर्थिक वर्षको अन्त्यसम्मको अनुमान हो । बाँकी अवधि वैशाख, जेठ र असारको आर्थिक गतिविधिले यो अंक फरक पर्न सक्छ ।’ उनले उदाहरणका लागि अघिल्लो आर्थिक वर्षको तथ्यांक सुनाए ।

‘अघिल्लो वर्ष ६.३ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने अनुमान थियो । तर ६.७ प्रतिशतको पुग्यो,’ उनले अर्थ्याए, ‘त्यसकारण ६ महिनाअघि एउटा तथ्यांक अहिले अर्को तथ्यांक भन्यो भनेर तर्क गर्न हो भने हामी अनुमानित तथ्यांक सार्वजनिक गर्न नै नसक्ने स्थितिमा पुग्छौं ।’ उनले सांसदहरूलाई दिने गरेको बजेटबारे पनि धारणा राखे । सांसदहरूलाई चित्त बुझाउन ल्याइएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा समानुपातिक तथा मनोनीत सांसदहरूले आफ्नो भूमिका नभएको भन्दै आपत्ति जनाएका थिए । ‘स्थानीय पूर्वाधार विकास कार्यक्रममा विभेद भयो कि भनेर माननीयहरूले कुरा उठाउनुभएको छ । मैले महसुस गरेको छु,’ उनले भने, ‘कहाँनेर नीतिमा फरकपर्‍यो हेरिनेछ ।’ विज्ञ अर्थमन्त्री विफल भएको हो ? भन्ने संसद्को प्रश्नमा उनले भने, ‘कोरा अर्थशास्त्रले मुलुक बन्दैन । अर्थशास्त्रले हाम्रो सिद्धान्तलाई व्यावहारिक ढंगले कार्यान्वयन लिएर गयो भने, प्रतिफल निकाल्छौं ।’ नभए सिद्धान्त बनाउने, त्यसले काम गर्दैन, सिद्धान्त फेर्दै हिँड्ने प्रवृत्ति हुने उनले बताए । ‘सिद्धान्तलाई व्यावहारिक ढंगले अघि बढाउने हो,’ उनले भने ।

Published on: 14 May 2019 | Kantipur

Back to list

;