s

वैदेशिक रोजगारीलाई ऐच्छिक बनाइने

काठमाडौँ, असार १४ गते । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दै उहाँले वैदेशिक रोजगारीमा भएका बेथिति अन्त्य गरी यस क्षेत्रलाई भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । श्रममन्त्री कुँवरले यसअघिका मन्त्रीबाट भएका राम्रा कामलाई निरन्तरता दिँदै आन्तरिक रोजगारी सिर्जना गरेर सकेसम्म स्वदेशमै रोजगारीका अवसर खोजिने बताउनुभयो ।

“वैदेशिक रोजगारीमा जानुपर्ने जुन बाध्यतात्मक अवस्था छ, त्यसको अन्त्य गर्नेतिर आफ्नो विशेष जोड रहनेछ,” उहाँले भन्नुभयो । स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुँदा वैदेशिक रोजगारी बाध्यात्मक बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीको अन्त्य गर्ने नभई यसलाई ऐच्छिक बनाउनुपर्छ । यसका लागि स्वदेशमा रोजगारीका पर्याप्त अवसर सिर्जना गर्नुपर्छ ।”

यसैबीच मन्त्रालयले आइतबार यसअघिका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई बिदाइ ग-यो । उक्त बिदाइ कार्यक्रममा श्रेष्ठले आफू यस मन्त्रालयको जिम्मेवारीमा आएको छोटो समयमै श्रम रोजगारको क्षेत्रमा धेरै सुधारका काम भएको भन्दै यस अवधिमा सिकेका काम र अनुभवका आधारमा नवनियुक्त मन्त्रीलाई सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

Published on: 28 June 2022 | Gorkhapatra

Link

Back to list

;