s

वैदेशिक रोजगारीको पीडा, न रह्यो धन न बसिन् श्रीमती

अमरराज नहर्की

तनहुँ, पुस १० गते । व्यास नगरपालिका–१ गल्वुबेसीमा बस्ने विकास नेपाली (नाम परिवर्तन) ले १५ वर्ष विदेश बसेर कमाएको लाखौं रुपियाँ आफ्नो भएन साथै श्रीमती पनि परपुरुषसँग लागेर टाप कसिन् । दुई सन्तानलाई राम्रोसँग पढाउन र परिवारलाई सुखसँग पाल्छु भनेर खाडी मुलुक गएको र सदरमुकाम दमौली नजिकै श्रीमतीकै नाममा घर बनाएर राख्दा सपना चकनाचुर भएको नेपालीले बताउनुभयो । ‘श्रीमतीको व्यवहार ठीक छैन भनेर छिमेकी र आफन्तले सूचना दिँदा पनि विश्वास लागेन प्रेम विवाह गरेकी श्रीमतीले मलाई धोका दिन सक्दिनन् भन्ने लाग्यो, नेपालीले भन्नुभयो, पछि घर बेचेर श्रीमती भागेको खबर सुनेपछि छाँगाबाट खसे जस्तो भएँ’ ।

नेपालीको घर बेचेर श्रीमती परपुरुषसँग भागेपछि नेपाल फर्किएर प्रहरीमा उजुरी गर्न आएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी निमित्त प्रमुख सुजता कार्कीले जानकारी दिनुभयो । ‘८० लाखमा घर बेचेर हराएकाले खोजी गर्न प्रहरीमा खबर गरेको उहाँले जानकारी दिनुभयो । ‘दुई वर्षपछि मात्रै हालै अर्कैसँग विवाह गरेर काठमाडौंमा बसेको पत्ता लगायौं अहिले नोक्सान भएको धनको दाबी गर्दै अदालतमा मुद्दा परेको छ’ कार्कीले जानकारी दिनुभयो । आफ्नो नाममा भएको सम्पक्ति बेच्न पाउने अधिकारको दुरुपयोग गरी उनले घर बेचेको र हाल नयाँ ऐनको प्रावधानले श्रीमान् र श्रीमती दुवैको सहमति र घर बनाउनुको आम्दानीको स्रोत पनि खुलाउनुपर्ने भएकोले अचल सम्पत्तिमा जोखिम कम भएको कार्कीले जानकारी दिनुभयो । गल्बुबेसीकै अधिकारी थरकी एक महिला केही वर्षअघि करिब नगद तथा सुन गरी लाखौं लाख रुपियाँ बोकेर अर्कैसँग पोइला गएकी थिइन् । ‘श्रीमती भागेको मान्छे पत्ता लाग्यो तर उनीहरु कहाँ छन् अत्तोपत्तो भएन करिब ९० लाख रुपियाँ नोक्सान पु¥याएर भागेपछि स्वदेश फर्किएँ । पुर्ख्याैली रुपमा जग्गा जमिन धेरै भए पनि संरक्षण गर्नुपर्छ र पैसा कमाउन सजिलो हुन्छ भनेर विदेश जाँदा नोक्सानी व्यहोर्नुपरेको अधिकारीले बताउनुभयो । ‘त्यस घटनालाई बिर्सिएर अर्को विदेश गरेको र स्वदेशमै बसेर व्यापार गर्न थालेको छु’ अधिकारीले भन्नुभयो ।

बन्दीपुर गाउँपालिका –५ मा भुजेल थरका ३० वर्षीय एक पुरुषले सुन तथा नगद गरेर श्रीमतीले पाँच लाख नोक्सान पु¥याई अर्कैसँग विवाह गरेको बताउनुभयो । ‘परिवारलाई सुखका साथ पाल्छु भनेर साउदीमा ५० डिग्री हाराहारीको तापक्रमको समेत परवाह नगरी काम गरियो सोचे जस्तो भएन छोरीको समेत माया मारेर पोइला गइन्’ भुजेलले भने । व्यास नगरपालिका–२ का श्रेष्ठ थरका पुरुषले ४ वर्ष कतारमा बसेर कमाएको १५ लाख रुपियाँ नोक्सान बनाउने र परपुरुषसँग लागेर हिँड्ने गरेपछि घरमा झगडा हुन थाल्यो । ‘बेला बेलामा घरै छाडेर परपुरुषसँग घुम्न जाने गरेको रहस्य खुल्यो । सम्बन्ध विच्छेदको अन्तिम प्रक्रियामा छ मेराे कतारमा बगाएको पसिना खेर गयो’ श्रेष्ठले भन्नुभयो । श्रीमतीबाट पीडित हुने उहाँ जस्तै चल अचल सम्पत्तिको नोक्सान पु¥याएर श्रीमती फरार भएपछि खोजी गर्न प्रहरीमा धाउन थालेका छन् । तीन वर्षको अवधिमा एक सय १७ जना पुरुषहरु श्रीमतीबाट पीडित भएको उजुरी गरेको जिल्ला प्रहरी कार्यालयस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्दले जनाएको छ ।

श्रीमती धन सम्पति लिएर हराएको भन्दै खोजी गर्नका लागि निवेदन आउने क्रम बढ्न थालेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म २२ जनाले श्रीमतीले धन नोक्सान गरेर परपुरुषसँग लागेर हराएकोले खोजी गर्न उजुरी आएको केन्द्रकी निमित्त प्रमुख कार्कीले जानकारी दिनुभयो । फरार अधिकांशलाई नियन्त्रणमा लिइएको केन्द्रले जनाएको छ । ‘उनीहरुले प्रयोग गर्ने सिमको नेपाल दूरसञ्चार प्राधिकरणसँग कल डिटेल्स मागेर, सामाजिक सञ्जालमा प्रयोग गरेको आधारमा पत्ता लगाएका छौं, एक जनलाई दुई वर्षपछि फेला पार्यौँ’ निमित्त प्रमुख कार्कीले भन्नुभयो । श्रीमतीबाट पीडा पाउने पुरुषहरु विदेशबाट रोजगारी गरी फर्किएरहेका छन् । ‘विदेशबाट फर्किदा घरमा श्रीमती पनि नभएको र सम्पत्ति पनि नभएको भन्दै खोजी गर्न श्रीमतीबाट पीडित हुने श्रीमान्हरु आउने क्रम बढेको छ’ निमित्त प्रमुख कार्कीले भन्नुभयो । आर्थिक वर्ष ०७५÷०७६ मा ४० र आर्थिक वर्ष ०७४÷०७५ मा ५५ जना श्रीमतीबाट पीडित भएकाहरुको उजुरी दिएको केन्द्रले जनाएको छ ।

Published on: 25 December 2020 | Gorkhapatra

Link

Back to list

;