s

वैदेशिक रोजगारीको मूल्य

मीना मरासिनी
  
मुलुकको कुल गार्हस्थ उत्पादन अनुपातको झन्डै ३० प्रतिशत हिस्सा ओगट्ने विप्रेषण (रेमिट्यान्स) आय अर्थतन्त्रको मेरुदण्डकै रूपमा रहेको छ । रेमिटान्सले धेरै ग्रामीण गरिब घरपरिवारको आयस्तर तथा जीवनशैलीमा सकारात्मक प्रभाव ल्याएको तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन ।
 
विदेशिएको सदस्यले कमाएर पठाएको रकमले गरिब घरपरिवारको आर्थिक हैसियत उकासिएको, गाँस, बास र कपासको राम्रो प्रबन्ध गर्नसकेको, स्वास्थ्य सुविधा तथा सामाजिक हैसियतमा वृद्धि हुनुका साथै बालबालिकाले राम्रो शिक्षादीक्षाको अवसर पाउने क्रम बढेको छ ।
 
तर श्रम आप्रवासी केन्द्रित रेमिट्यान्समा अत्यधिक निर्भरताका कारण हाम्रा अभिभावक, सन्तान, समाज, अर्थतन्त्र तथा समग्र देशले सामाजिक तथा मानवीय मूल्य चुकाउनुपरिरहेको छ ।
 
सरकारी तथ्यांकअनुसार ३६ लाख हाराहारी नेपाली वैदेशिक रोजगारीमा छन् । तर अनौपचारिक तथ्यांकले भने आधा करोडभन्दा बढी नेपाली रोजगारीका लागि विभिन्न देशमा पुगेको देखाउँछ । सरकारले जोखिमपूर्ण भनी बन्देज लगाएका तथा पहिचान नै नगरेका विश्वका विभिन्न देश तथा कुनाकाप्चामा समेत नेपाली अवैध बाटो हुँदै पुगेका छन् ।
 
रोजगारी र अवसर खोज्दै दुनियाँका कुनाकाप्चा धाउनु सायद धेरैको रहर होइन, बाध्यता हो ।
 
देशमा हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने साढे ४ लाख युवा जनशक्तिमध्ये साढे ३ लाखले देशभित्र रोजगारी पाउन नसकेपछि विदेशिन बाध्य छन् ।
 
खाडी लगायतका विभिन्न देशमा जोखिमपूर्ण श्रममा जोतिन बाध्य नेपाली युवाले विदेशी भूमिमा ज्यान गुमाइरहने दरमा कमी आउनसकेको छैन । धन कमाएर परिवारको आर्थिक अवस्था समुन्नत बनाउने तथा बच्चाबच्चीलाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने सपना बोकेर विदेश हानिएका सयौं नेपाली वर्षेनि बाकसमा बन्द भएर फर्किन्छन् ।
 
तथ्यांकले हरेक दिन औसतमा ३ भन्दा बढी नेपालीको वैदेशिक रोजगार गन्तव्य मुलुकमा मृत्यु हुने गरेको देखाएको छ ।
अर्कोतिर धेरै युवा गम्भीर बिरामी तथा घाइते बनेर, यातना, धोकाधडी अनि जेलबासका कारण मानसिक रूपमा विक्षिप्त वा मनोरोगी बनेर नेपाल फिर्ता हुने गरेका छन् ।
 
वैदेशिक रोजगारीले नेपालको खासगरी ग्रामीण क्षेत्रको सामाजिक संरचना तथा सामाजिक सम्बन्धमा गहिरो असर पारिरहेको छ । गाउँहरू तन्नेरीविहीन बनेका छन् । गाह्रोसाह्रो पर्दा, बिरामी अस्पताल पुर्‍याउन तथा लासलाई घाटमा पुर्‍याउन काँध थाप्ने मान्छे पाउन गाह्रो भैसकेको छ । केही दशक अघिसम्म सम्बन्धविच्छेदका घटना निकै दुर्लभ हुन्थे, नेपाली समाजमा । तर पछिल्लो समय सम्बन्धविच्छेदका घटनामा वृद्धि भैरहेको छ ।
 
यसबाट वैदेशिक रोजगारीले डरलाग्दो गरी पारिवारिक विखण्डन निम्त्याइरहेको प्रस्ट हुन्छ । यसको सबैभन्दा चर्को मूल्य चुकाउनेमा बूढा बाबुआमा तथा ससाना छोराछारी हुने गरेका छन् ।
 
डिभोर्सपछि समेत सम्पत्ति बाँडफाँड, बच्चाको लालनपालन तथा मानाचामल जस्ता विषयमा मुद्दामामिला हुने गरेको छ । वैदेशिक रोजगारीका लागि हङकङ, जापानजस्ता देशमा पुगेका पुरुषले घरकी श्रीमतीलाई थाहै नदिई उतैबाट वा नेपालबाटै अर्की महिलालाई श्रीमती बनाएर लैजाने गरेका घटना धेरै सुनिने गरेका छन् ।
 
मलेसियामा गएका धेरै नेपाली युवाले उतैतिर फिलिपिनो लगायतका देशका युवती लिएर लुकेर बस्ने र उनीहरूका नेपालमा रहेका श्रीमती, बाबुआमा तथा बच्चाबच्चीहरूको बिचल्ली हुने गरेका घटना बढिरहेका छन् ।
 
वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमती गाउँमा अरू नै पुरुषसँग अनैतिक सम्बन्ध कायम राख्ने, लोग्नेले पसिना बगाएर कमाएको पैसा अनावश्यक काममा उडाउने, बालबच्चा तथा बाबुआमाको हेरचाह तथा लालनपालन नगर्ने र अझ अरू नै पुरुषसँग बिहे गरेर भाग्ने गरेका घटनामा वृद्धि भैरहेको सञ्चार माध्यममा आइरहने गर्छन् ।
 
घरजग्गाको स्वामित्वमा महिलाको हिस्सा बढ्दै जानुमा वैदेशिक रोजगारीको ठूलो हात छ । तर विदेशिएका श्रीमानले पठाएको धन तथा जोडेको सम्पत्ति लिएर महिला अर्कै पुरुषसँग गएपछि विदेशबाट फर्किंदा पुरुष श्रीमती र सम्पत्ति दुबै गुमेर बिल्लिबाठ हुने गरेको छ ।
वैध रूपमा झन्डै २ लाख महिला वैदेशिक रोजगारीमा गएको तथ्यांक भए पनि त्योभन्दा ठूलो संख्यामा नेपाली महिला वैदेशिक रोजगारीमा गएको पाइन्छ । अवैध बाटो अपनाउँदै गन्तव्य मुलुकसम्म पुगेका हुँदा उनीहरूले पाउने दु:खकष्ट बढी नै छ ।
 
 घरेलु कामदारका रूपमा गएका धेरै महिला अपांगता तथा गर्भसहित फर्किने र त्यस्ता महिलालाई घरपरिवारले नस्विकार्ने र समाजमा पुन:स्थापित हुन गाह्रो हुने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका महिलालाई समाजले हेर्ने नजर नै नकारात्मक छ ।
 
सरकारले घरेलु कामदारमा जाने महिलाका लागि कहिले उमेर तोक्ने, कहिले प्रतिबन्ध लगाउने र कहिले फुकुवा गर्ने जस्तो लुकामारी गर्छ । घरेलु कामदारमा विदेश जाने महिलाका लागि सरकारले ल्याएको निर्देशिकामा सानो बच्चा भएको महिलालाई विदेश जान नदिने भन्ने छ ।
 
सरकारले अनेकथरी नियम बनाउनुको अन्तर्य घरेलु कामदारका लागि गन्तव्य मुलुकमा सुरक्षा तथा सहजता छैन भन्ने नै हो । सरकारले महिलाका लागि वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानपूर्ण बनाउनेतर्फ सोचेको पाइँदैन ।
 
विप्रेषण बढिरहेको छ । तर योसँगै नेपालीको उपभोगवादी संस्कारका साथै फजुल खर्च बढिरहेको छ, विदेशी वस्तुको आयात बढिरहेको छ र विदेशबाट युवाले कमाएर पठाएको रकम उत्पादनशील कार्यमा प्रयोग हुनसकेको छैन ।
 
वैदेशिक रोजगारीले अर्थतन्त्रलाई भरथेग गरिरहेको र चरम गरिबी घटाउन तात्कालिक रूपमा योगदान पुर्‍याइरहेको भए पनि यसका गम्भीर सामाजिक तथा मानवीय असर देखा परिरहेका छन् ।
 
Published on: 19 May 2016 | Kantipur 

Back to list

;