s

वैदेशिक रोजगारीका ठगी : चार महिनामै आठ सय उजुरी

चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा हुने ठगीका करिब आठ सय उजुरी परेका छन्। चालू आव २०७४-७५ को साउनदेखि कात्तिकसम्म आफू ठगिएको भन्दै सात सय ९४ जना कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।
 
वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए। उजुरी दिनेको संख्या अहिले बढ्दो क्रममा छ। विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन्। ‘कुनै पनि इजाजत कम्पनी नभएका व्यक्तिले विदेश पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको उजुरी दिने बढी छन्', उनले भने। तर संस्थागत उजुरीमा भने कमी आएको छ। संस्थागत उजुरी भन्नाले म्यानपावर कम्पनीबाट भएको ठगी हो।
 
चालू आर्थिक वर्षको चार महिनामा म्यानपावर कम्पनीबाट ठगीमा परेको भन्दै तीन सय ८९ जना कामदारले उजुरी दिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि बढिरहेका छन्। यस्तै व्यक्तिगत ठगीका चार सय पाँच वटा उजुरी दर्ता भएका छन्। रोजगारीका लागि दैनिक करिब दुई हजार नेपाली विभिन्न मुलुक जाने गरेका छन्। ऋण खोजेर वा जग्गा जमिन धितो राखेर विदेश पलायन हुने युवा स्वदेशमै दलाल र म्यानपावर व्यवसायीबाट ठगिइरहेका छन्। चालू आवको चार महिनामा मात्रै डेढ लाखभन्दा बढी युवा विदेश गइसकेका छन्।
 
यसरी विदेश जानेले नेपालमा सम्झौता भएअनुसार काम नपाएको भन्दै व्यापक उजुरी दिने गरेका छन्। तलब र अन्य सुविधा पनि यहाँ भनेजस्तो दिइँदैन। म्यानपावर कम्पनीले पठाउँदा एउटा कम्पनी भन्ने र उता गएपछि अर्को कम्पनीमा काम गर्नुपर्ने कारण पनि बढी समस्या हुने गरेको विभागले जानकारी दिएको छ। ‘विदेश जाने बेलामा नेपाल सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको संख्या धेरै छ', अधिकारीले भने, ‘संस्थागतभन्दा व्यक्तिगत उजुरीका समस्या समाधान गर्न कठिन हुन्छ।'
 
व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा कन्सल्टेन्सीबाट ठगिएका बढी हुने गरेको विभागको भनाइ छ। खाडी र मलेसिया जाने कामदारभन्दा अमेरिका, पोर्चुगल, पोल्यान्डलगायत देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको संख्या बढी छ। यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको विभागले जनाएको छ।
 
संस्थागततर्फ आफू ठगीएको भन्दै साउनमा एक सय १२, भदौमा ९८, असोजमा ६३ र कात्तिकमा एक सय १६ जना कामदारले उजुरी दिएका छन्। यसैगरी व्यक्तिगततर्फ आफू ठगिएको भन्दै साउनमा एक सय १८, भदौमा ९०, असोजमा ६९ र कात्तिकमा एक सय २८ जना कामदारले विभागमा उजुरी दर्ता गराएको अधिकारीले बताए।
 
पाँच सय उजुरीको छिनोफानो
 
विभागमा दर्ता भएका सात सय ९४ उजुरीमध्ये चार सय ७२ को छिनोफानो भएको अधिकारीको भनाइ छ। विभागले चालू आवको चार महिनामै तीन सय ९७ वटा संस्थागततर्फ परेका उजुरीको छिनाफानो गरिसकेको छ। यसमा कात्तिकमा एक सय ५७, असोजमा ५०, भदौमा एक सय १३ र साउनमा ५७ वटा उजुरीको टुंगो लगाइएको छ। यसैगरी विभागले व्यक्तिगत ठगीतर्फ परेका चार सय पाँच उजुरीमध्ये ७४ वटा मात्रैको छिनोफानो गरेको छ।
 
यसमा विभागले कात्तिकमा १०, असोजमा १५, भदौमा २१ र साउनमा २८ वटा उजुरीको छिनोफानो लगाउँदै पीडितलाई क्षतिपूति दिलाएको थियो। विभागका दर्ता भएका चार सय पाँचवटा व्यक्तिगत उजुरीकर्ताले २३ करोड दुई लाख पाँच करोड रुपैयाँभन्दा बढी बिगो रकम भराइएको छ।
 
यसैगरी विभागमा दर्ता भएका तीन सय ८९ जना संस्थागत उजुरीकर्ताले नौ करोड ७५ लाख रुपैयाँभन्दा बढीको दाबी गरेका थिए। यसमा विभागले दुई करोड दुई लाख रुपैयाँभन्दा बढी बिगो रकम म्यानपावर कम्पनीसँग भराई पीडितलाई उपलब्ध गराएको छ।
 
९१ उजुरी अदालतमा
 
विभागले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ९१ वटा उजुरी अदालतमा दर्ता गरेको छ। विभागका अनुसार म्यानपावर कम्पनीका नाममा आउने संस्थागततर्फको उजुरी अदालतमा गएको छैन। विभागले पीडित र म्यानपावर कम्पनीलाई एकै ठाउँमा राखेर मिलाउँदै पीडितलाई क्षतिपूर्ति दिलाएको अधिकारीले बताए। तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेका छन्। चार महिनामा अदालतमा दर्ता भएका सबै उजुरी व्यक्तिगत ठगीका रहेको उनले जानकारी दिए।
 
व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा ११ करोड ५५ लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ। विभागले अहिलेसम्म म्यानपावर कम्पनीलाई कामदार पठाउँदा सम्झौता अनुसार सेवा सुविधा उपलब्ध गराउन नसकेको र विभागको नियम उल्लंघन गरेको भन्दै ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
 
Published on: 3 December 2017 | Annapurna Post

Back to list

;