s

वैदेशिक रोजगारीका समस्या दीर्घकालीन समाधानका लागि प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको हो।

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत छलफल भएको छ। साउन ३१ गते एक औपचारिक समारोहकाबीच अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई कोषमा आबद्ध गर्ने कार्यक्रम सरकारले अघि सारेको हो।

छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्न निर्देशन दिए।

प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन दिए।

छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवलगायत पदाधिकारीहरू सहभागी थिए।

Published on: 14 August 2023 | Setopati

Link

Back to list

;