s

वैदेशिक रोजगारीका लागि एकीकृत अनलाइन प्रणाली पूर्ण सञ्चालनमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) सञ्चालनमा ल्याएको छ । मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिलगायतका काम अनलाइनमार्फत नै गर्न सकिने तथा विदेश जाने/फर्किने कामदारको सूचना व्यवस्थित गर्न सोमबारदेखि अनलाइन प्रणाली पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।

सो प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग र कन्सुलर सेवा विभागलगायतका सरोकारवाला निकायलाई अन्तरआबद्ध गराइएको छ । जसले गर्दा वैदेशिक रोजगार विभाग, म्यानपावर, अभिमुखीकरण तालिमप्रदायक संस्था, मेडिकल, बैंक, बिमा कम्पनी, सीपमूलक तालिम प्रदायक संस्थाहरूले अनलाइनबाटै कामदारसम्बन्धी प्रक्रिया पूरा गर्न सक्नेछन् । अनलाइन प्रणालीमार्फत विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले गन्तव्य मुलुकका रोजगारदाताबाट प्राप्त हुने मागपत्रको विवरण राख्न तथा जाँचबुझ गर्न सक्नेछन् ।

यसबाट नक्कली मागपत्र ल्याई नेपाली कामदार ठगी गर्ने प्रवृत्ति निरुत्साहित हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए । उनका अनुसार राजदूतावासबाट अनलाइन प्रणालीमा विवरण राख्न र रुजु गर्न दुईजना कर्मचारीलाई जिम्मेवार बनाइनेछ । प्रणालीमा रोजगारदाताको पूर्ण विवरण राखिने र सर्तअनुसार सुविधा नदिने रोजगारदातालाई कालोसूचीमा राख्नसमेत सहज हुनेछ ।

यसअघि श्रम स्वीकृति लिएकै आधारलाई वैदेशिक रोजगारीमा गएको तथ्यांक गणना गरिँदै आएको थियो । तर, वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेको भने कुनै पनि तथ्यांक नरहने अवस्था थियो । अब भने स्वदेश फर्किने कामदारको विवरणसमेत उपलब्ध हुनेछ । त्यसका लागि अध्यागमन विभागको अनलाइन प्रणाली एफइआइएमएसमा अन्तरआबद्ध गरिएको छ । 

म स्वीकृतिप्राप्त कामदार नेपालमै रहे/नरहेको विवरण हेर्न र कामदारको सम्पूर्ण विवरण जानकारी पाउन प्रणालीले सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । रोजगारमा गएका कामदारको फोटो र बायोमेट्रिक (आँखाको रेटिना र औँठाछाप)सहितको विस्तृत विवरण प्रणालीमा रहनेछ । त्यस्तै, उनीहरूका गुनासा र उजुरीहरूको पनि विद्युतीय अभिलेख राखिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न कर्मचारीको कार्यसम्पादनको विवरण विद्युतीय रूपमा नै राख्न सकिनेछ ।

किर्ते विवरणबाट ठगी नियन्त्रण हुने
श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियामा हुन सक्ने लापरबाही र नक्कली कागजात बनाई ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राहदानी विभागको प्रणाली एफइआइएमएमा जोडिएको छ । राहदानी विभागको प्रणालीमा रहेको विवरण वैदेशिक रोजगारको अनलाइन प्रणालीले स्वतः प्राप्त गर्ने हुँदा श्रम स्वीकृति जारी गर्दा कामदारको विवरण फरक नपर्ने, पासपोर्ट नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रक्रिया छरितो हुने र श्रम स्वीकृति प्रदान गर्ने कार्यलाई त्रुटिरहित बनाउनसमेत सकिनेछ ।

कन्सुलर सेवा विभागसँगका वैदेशिक रोजगार अनलाइन प्रणालीको आबद्धताबाट दुवै विभागहरूबीच सूचनाको आदानप्रदान गर्न सहज हुनेछ ।

वैदेशिक रोजगारी’ मोबाइल एप
मन्त्रालयले ‘वैदेशिक रोजगारी’ नामको मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ । एपबाट राहदानी तथा स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण थाहा पाउन सकिनेछ । म्यानपावर कम्पनीहरू, अभिमुखीकरण तालिमप्रदायक संस्थाहरू, स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको अवस्था पनि सजिलै जानकारी गर्न सकिनेछ । त्यस्तै बिमा कम्पनीहरू, बैंकहरूको विवरण हेर्न सकिनुका साथै विभागमा दर्ता भएका उजुरीहरूको प्रगति स्थिति थाहा पाउन सकिन्छ । विभिन्न सार्वजनिक सूचनासमेत यसै एपमार्फत प्राप्त गर्न सकिनेछ ।

अनलाइनबाटै पुनः श्रमस्वीकृति
यस प्रणालीबाट आप्रवासी कामदारहरूले अनलाइनबाटै श्रम स्वीकृतिको फाराम भर्न र पेस गर्न, श्रम स्वीकृतिका चरणहरूको प्रगतिस्थिति अनलाइनबाट नै थाहा पाउन, आफ्नो श्रम स्वीकृति भए नभएको तथा पूर्वस्वीकृतिको विवरण मोबाइल, एसएमएस, वेबसाइट र मोबाइल एपबाटै जानकारी लिन सक्नेछन् । विभागमा दर्ता भएका उजुरीहरूको अवस्थाका बारे पनि पछिल्लो जानकारीसमेत त्यसै किसिमले प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Published on: 1 October 2018 | Naya Patrika

Back to list

;