s

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाको मृत्यु

रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो।

सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको संख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुन सक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताइन्। यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन्।

परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठजनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख छ। यसैगरी, थवाङ र माडी गाउँपालिकाका एक/एकजनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अन्य पालिकामा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकाका छ/छजना, सुनील स्मृति गाउँपालिकाका पाँच, लुंग्री गाउँपालिकाका चारजनाले ज्यान गुमाएका छन्। यसैगरी, त्रिवेणी र गंगादेव गाउँपालिकाका तीन-तीनजना र सुनछहरी गाउँपालिकाका दुईजनाले ज्यान गुमाएका छन्।

रोजगारदाता राष्ट्रका आधारमा सबैभन्दा धेरै साउदी अरबमा २० जनाले ज्यान गुमाएका छन्। यसैगरी, मलेसियामा सात, कतार र युएईमा तीन-तीन, कुवेतमा दुई तथा अल्जेरिया, क्रोसिया, सिसालिसलगायत देशमा एक-एकजनाले ज्यान गुमाएका छन्।

वैदेशिक रोजगारीमा जानेका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोतकेन्द्र स्थापना गरिएको छ। हेल्भेटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उक्त स्रोतकेन्द्र स्थापना गरेको हो।

Published on: 28 July 2023 | Naya Patrika

 

Link

Back to list

;