s

वैदेशिक रोजगारबाट फर्किएर देशमै उद्यम गर्ने ८ युवा सम्मानित

शुक्रबार एक कार्यक्रम आयोजना गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूलाई सम्मान तथा राष्ट्रिय पुरस्कार प्रदान गरेको हो। 

सम्मान तथा पुरस्कार विदेशमा सिकेको सीप स्वदेशमा लगानी गर्नेलाई प्रोत्साहन हुने मन्त्रालयको विश्वास छ।

सम्मानित हुनेहरूमा कैलालीका हरिप्रसाद जैसी (सुदुरपश्चिम प्रदेश), सुनिलकार्की (गण्डकी), हेमकुमार झाकोटे मगर (प्रदेश नम्बर एक), शंकरकुमार ओली (बागमती प्रदेश), अमृतबहादुर शाही (सुदुरपश्चिम प्रदेश), गुनबहादुर बुच्चा (लुम्बिनी), मेखनाथ गुरुङ (गण्डकी), र लोकराज भण्डारी कर्णाली प्रदेशका छन्।

विदेशमा सिकेको सीप तथा त्यहाँबाट ल्याएको पुँजी परिचालन गरेर देशमा रोजगारीका अवसर सिर्जनामा टेवा पुर्याएको भन्दै सरकारले उनीहरुलाई सम्मान गरेको हो। उनीहरूमध्ये कैलालीका हरिप्रसाद जैसीले आर्थिक वर्ष २०७८/०७९ को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार, एक लाख ५० हजार नगद प्राप्त गरेका छन्। बाँकी ७ जनाले उद्यमी राष्ट्रिय पुरस्कार अन्तर्गत ७५/७५ हजार नगद प्राप्त गरेका हुन्। 

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिम उनीहरूलाई पुरस्कारका लागि छनौट गरिएको मन्त्रालयले जनाएको छ। 

पुरस्कारका लागि ८३ आवेदन परेका थिए। ति मध्ये रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यातको अवस्था, सामाजिक दायित्व बहन, वातावरण मैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा छनोट गरिएको हो।

 

सम्मानित भएका उद्यमीले देशमा केही गर्छु भनेर फर्किएका युवाहरुलाई सरकारको सहयोगको खाँचो भएको बताए।

व्यवसाय सञ्चालनलाई सहज बनाउन सरकारले सहुलियत ऋण दिनुपर्ने, बजारको व्यवस्थापन हुनुपर्ने लगायत माग उनीहरुको थियो।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले युवाहरूलाई स्वदेशमै उद्यम गर्ने प्रोत्साहन मिलोस् भनेर सरकारले सम्मान गरेको बताए। स्वदेशमै श्रम, सीप र पुँजी परिचालन गरी रोजगारी सिर्जना तथा आयमूलक काममा सक्रिय रहन मन्त्री श्रेष्ठले ले युवाहरूलाई आग्रहसमेत गरे।

सरकारले यो वर्ष ८ जनालाई सम्मान गरे पनि यसले फर्किएका सबै श्रमिकलाई सम्मान मिल्ने र हौसला बढ्ने बताए। वैदेशिक रोजगारलाई व्यवस्थित गर्दै आन्तरिक रोजगारीका अवसर सिर्जनामा पनि आफूले काम गरिरहेको श्रेष्ठले बताए। 

उनले बैंकबाट दिने सुविधा सहज बनाउन मन्त्रालयले सहयोग गर्ने विश्वाससमेत व्यक्त गरे। 

मन्त्रालयका सचिव एकनारायण अर्यालले विदेशमा सीप सिकेर देशमा उद्यम गरिरहेका युवाहरुलाई पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गरे। 

‘वैदेशिक रोजगारीमा गएर फर्किएको एक जना व्यक्तिले फर्किएर ४० भन्दा बढीलाई रोजगारी दिनु चानचुने कुरा होइन। युवा भनेका देशका सम्पती हुन्। युवाहरुको यो कामले अरु धेरै युवाहरुलाई पनि प्रोत्साहन मिल्छ,’ उनले भने।

Published on: 11 April 2022 | Setopati

Link

Back to list

;