s

वैदेशिक रोजगारीबाट फर्किने कामदारलाई उपयोग गर्दै सुन तस्करी

जनकराज सापकोटा

सुन तस्करहरुले वैदेशिक रोजगारीबाट फर्केका कामदारहरुलाई उपयोग गरेर अवैध रूपमा सुन ओर्सान थालेका छन् । आइतबार बिहान १० बजे हिमालयन एअरलाईन्सबाट काठमाडौँ ओर्लेका मोरङका लीला बहादुर बस्नेत चार सय ग्राम अवैध सुन सहित समातिए ।

सफाइ मजदुरको रूपमा तीन वर्षे काम सकेर घर फर्किन लागेका लिलालाई दोहास्थित विमानस्थलमा एकजनाले साथीको श्रीमती भर्खरै सुत्केरी भएको र नेपालमा बच्चाको डाईपर राम्रो नपाइने भएको भन्दै एउटा डाईपर र बच्चाको सेम्पु भएको एउटा पार्सल थमाइदिएका थिए । विमानस्थल प्रहरीले विशेष सुराकीको आधारमा उनले ल्याएको विशेष खालको डाईपरमा भएको टाँकभित्र सुनका स-साना दाना राखिएको फेला पारेपछि बल्ल लीला बहादुरले आफूलाई सङ्गठित गिरोहले सुन तस्करीमा उपयोग गरेको पत्तो पाए ।

प्रहरी स्रोतका अनुसार शनिवार राति लिलबहादुर दोहाबाट विमान चढ्ने बित्तिकै सुराकीले प्रहरीले डाईपरमा सुन ओसारिएको सूचना दिएको थियो । प्रहरीले लिलाबहादुरले ल्याएको डाईपर सहितको पार्सल लिन भन्दै विमानस्थल बाहिर आएर बसेका रुपेश गिरी र टेक बहादुर थापालाई पनि पक्राउ गरेको छ ।

प्रहरी बयानमा रुपेशले यसअघि पनि वैदेशिक रोजगारीबाट फर्केका कामदारले ल्याएको पार्सल आफूले बुझेर दोहाबाट जसलाई दिनु भनिएको हो उसैलाई लगेर दिएको बताएका छन् । प्रहरी परिसर काठमाडौँका डीएसपी होबिन्द्र बोगटीले सुन तस्करले सङ्गठित रूपमै नयाँ शैलीको प्रयोग गरी सुन ओसार्ने धन्दा चलाएको हुनसक्ने बताए ।उनले भने, ‘डाईपरको टाँकभित्र मेसिनले नै सुनका दाना राखेर बाहिरबाट टाँक बन्द गरेको देखिन्छ ।’ एक सय ७५ थान टाँकभित्र रहेको मसिनो सुनको दाना निकाल्न पाँच प्रहरीलाई झन्डै तीन घण्टा लागेको थियो ।

डीएसपी बोगटीले पछिल्ला दिनहरूमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुलाई सुन तस्करहरुले उपयोग गर्ने प्रवृत्ति दोहोरिएको बताए । विमानस्थल प्रहरी स्रोतका अनुसार दोहा विमानस्थल बाहिर बस्ने एजेन्टहरुले सोझा कामदारहरुलाई केही हजारको लोभमा फकाउने पार्सल र सुनको बाला दिएर पठाउने गरेको देखिन्छ । त्यस्ता एजेन्टहरुले सुन वा पार्सल दिएपछि ती कामदारको फोटो र पासपोर्टको फोटो खिचेर काठमाडौँको रिसिभरलाई पठाइदिने गर्छन् ।

त्यस्ता रिसिभरले फोटोका आधारमा कामदार पहिचान गरेर विमानस्थल बाहिर सुन बुझ्ने गर्छन् । अझै कतिपय एजेन्टले त घर फर्किएका कामदारहरुलाई सुन ओसारिदिए बापत काठमाडौँको होटेलमा बस्ने र खाने सुविधाका अतिरिक्त घरसम्म जाने गाडी भाडाको समेत जोहो गरिदिने गर्छन् । डीएसपी बोगटीले भने, ‘सोझा र निमुखा कामदारलाई फकाई फुलाई तस्करीको काममा उपयोग गर्ने गरेको देखिन्छ ।’

सङ्गठित सुन तस्करहरुले यसअघि पनि विभिन्न नयाँ तरिका अपनाएर सुन तस्करी गरेका थिए । असार ७ मा मात्रै विमानस्थल प्रहरीले मोबाइलको ब्याट्रीमा धूलो बनाएर ल्याएको सुन पक्राउ गरेका थिए । त्यति बेला पनि दुबईबाट आएका भारतीय नागरिक अमिर मिर्जाले बोकेको मोबाइलको ब्याट्रीभित्र ५० ग्राम धूलो सुन बरामद भएको थियो । प्रहरी बयानमा मिर्जाले धूलो सुन विमानस्थलबाट पास गराउन सकिन्छ कि सकिन्न भनेर प्रयोग गरेको बताएका थिए ।

चैतको अन्तिम साता पनि मलद्वारमा लुकाएर ल्याएको तीन किलो तीन सय ग्राम सुन सहित तीन चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका थिए । विमानस्थलको एक्सरे जाँचमा उनीहरूको पेटभित्र केही धातुजस्तो चिज देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछमा मलद्वारमा सुन लुकाएर ल्याएको खुलेपछि विमानस्थल प्रहरीले सिनामंगलको एक अस्पतालमा लगेर उनीहरूलाई पखाला चल्ने औषधी खुवाएर सुन निकालेको थियो ।

विमानस्थल सुरक्षामा खटिएका एक डीएसपीले सङ्गठित सुन तस्करी रोकिएजस्तो देखिएपनि स-सानो स्वरूपमा निरन्तर सुन तस्करी भइरहेको बताए । उनले दुबईबाट आउने कामदारलाई उपयोग गरेर होस वा अन्य नयाँ तरक्की अपनाएर होस सुन तस्करी चलिरहेको स्वीकारे ।

Published on: 7 July 2019 | Kantipur

Back to list

;