s

वैदेशिक रोजगारीबाट फर्केकालाई तालिमसँगै ३५ हजार बिउ पुँजी

निर्मला घिमिरे

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूका लागि पुनःएकीकरण कार्यक्रम चालु आर्थिक वर्षबाटै लागू गरेको छ।

यो वर्ष तीन हजार दुई सय २० जना युवाहरूलाई तालिमसँगै बिउपुँजी उपलब्ध गराइने र यसका लागि बोर्डबाट काम सुरू भइसकेको बोर्डकी निर्देशक रमा भट्टराईले जानकारी दिइन्।

उनीहरूलाई तालिम र बिउँपुँजीका लागि बोर्डले प्रतिव्यक्ति ४३ हजारका दरले पुग्ने रकम सम्बन्धित स्थानीय तहलाई पठाएको उनले बताइन्।

उनले उक्त ४३ हजार रकममध्ये तालिमका लागि तालिमका लागि आठ हजार रूपैयाँ र तालिमसँग सम्बन्धित काम सुरू गर्न बिउ पुँजी ३५ हजार खर्चिने बताइन्। यो रकम उनीहरूलाई व्यवसाय सुरू गर्न आबश्यक उपकरण खरीद जस्ता प्रयोजनका लागि दिइने छ।

‘त्यसमा स्थानीय तहले हामीसँग भएको सम्झौता अनुसार रकम थप गरेर बिउ पुँजी उपलब्ध गराउने छन्,’ उनले भनिन्, ‘केहीले ४० प्रतिशत थप गर्न सहमत जनाएका छना्। केही स्थानीय तहले १० प्रतिशत मात्र पनि थप्ने भनेका छन्।’

कतिपय स्थानीय तहले विदेशबाट फर्किएका युवाहरूलाई बिउपुँजी थप गर्न रकम नभएको बताएको पनि उनले जानकारी दिइन्।
अहिले बोर्डले सरकारको सुरक्षित आप्रवासन परियोजना (सामीं) भएका स्थानीय तहमा पुनः एकीकरण कार्यक्रम गर्ने भएको हो।

बोर्डले बागमती प्रदेशका २१, मधेस प्रदेशका १६ स्थानीय तहमा यो वर्ष कार्यक्रम सुरू गर्ने भएको छ। त्यस्तै कोशी प्रदेशका १३, गण्डकी प्रदेशका १४ र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका १८ स्थानीय तहमा यो कार्यक्रम गरिने भएको हो। आगामी आर्थिक वर्षबाट क्रमशः अन्य स्थानीय तहहरूसँग पनि यो कार्यक्रमका लागि समन्वय गरिने बोर्डको भनाई छ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई पुनःएकीकरण गर्न १५ करोड रूपैयाँ छुट्याएको थियो। यो कार्यक्रम सञ्चालनका लागि आवश्यक निर्देशिका समेत बनिसकेको छ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितका लागि उपयोग गर्न तथा नागरिककको पुनःएकीकरण गर्ने उदेश्यले निर्देशिका जारी गरिएको बोर्डको भनाई छ।

यो कार्यक्रममार्फत् वैदेशिक रोजगारमाथिको निर्भरतालाई क्रमशः न्यूनीकरण गर्दै लैजाने उदेश्य लिइएको छ। युवाहरूलाई देशभित्रै काम गर्न प्रोत्साहन गरी मुलुकलाई आत्मनिर्भरताको बाटोमा अघि बढाउन सकिने उदेश्य छ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार बोर्डको सचिवालयले परदेशमा पसिना बगाएर फर्केकाहरूलाई रोजगारीका तथा उद्यमशीलता प्रवर्द्धनको कार्यक्रममा जोड्ने छ। त्यस्तै, उनीहरूका लागि समाजीकरण कार्यक्रम समेत सञ्चालन गर्नेछ।


समाजीकरण कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारबाट फर्केकालाई समाजमा अन्तर्घुलन गराउनका लागि पारिवारिक तथा सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयंसेवक परिचालन जस्ता कार्यक्रम सञ्चालन गर्नेछ।

उनीहरूलाई रोजगारीमा आबद्ध गराउन बोर्डले सीप परीक्षण तथा प्रमाणीकरण गर्ने, श्रम बजारको आवश्यकतामा आधारित व्यवसायिक र व्यवस्थापकीय सीपमूलक तालिम प्रदान गर्नेछ। परम्परागत रूपमा सञ्चालित पेशाको आधुनिकीकरण तथा बजारको माग र व्यक्तिको क्षमता अनुसार रोजगारीको व्यवस्थापनमा सहजीकरण गर्नेछ।

विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभव आफ्नै माटोमा प्रयोग गर्ने योजना सरकारको छ। यसको लागि त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गरिने व्यवस्था निर्देशिकामा छ। उनीहरूलाई सरकारले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरी एकल वा समूहमा स्वः उद्यममूलक कार्यक्रम सञ्चालन गर्ने निर्देशिकामा व्यवस्था छ।

उद्यमशीलता प्रवर्द्धन हुने कार्यक्रम सञ्चालन गर्दा केन्द्रले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्नेछ। नवीनतम ज्ञान र सीपमा आधारित व्यवसाय स्थापना र सञ्चालनका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई अनुदान र सहुलियत ब्याजदरमा उद्यमी कर्जा प्रवाह गर्नेछ।

उनीहरूले उत्पादन गरेका वस्तु वा सेवालाई प्रदर्शनी वा बिक्री(वितरणका लागि औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा प्राथमिकता प्रदान गरिने योजना सरकारको छ। पुनः एकीकरण कार्यक्रममा बोर्डको सचिवालयले कार्यक्रम सञ्चालन गर्दा बोर्डले स्वीकृत गरेअनुसार कल्याणकारी कोषको रकम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
वैदेशिक रोजगारबाट सीप, पुँजी लिएर तथा समस्यामा परेर फर्कनेहरूका लागि पुनः एकीकरण कार्यक्रम निकै महत्वपूर्ण हुने दाबी सरकारको छ।

Published on: 11 April 2023 | Setopati

Link

Back to list

;