s

वैदेशिक रोजगारीबाट फर्केका महिलालाई स्वदेशमै स्वरोजगार बनाउन अभियान

बुटवल — रुपन्देहीमा वैदेशिक रोजगारीबाट फर्केका महिलालाई स्वदेशमै स्वरोजगार बनाउन अभियान थालिएको छ । वैदेशिक रोजगारीबाट फर्केका महिलाहरूलाई संगठित गरी उद्यमशीलता तालिम दिन थालेको हो । जसमा वित्तीय साक्षरता, बचतका तरिका, बजारको माग, उद्यमको प्रकृति, दर्ता प्रक्रियालगायतबारे अभिमुखीकरण गरिन्छ ।

वैदेशिक रोजगारीबाट दुःख गरी कमाएर ल्याएको रकम उत्पादनशील क्षेत्रमा खर्च नहुँदा भविष्य अन्योल भएपछि पौरखी नेपालले आप्रवासी महिलाहरूलाई उद्यमशीलतामा लगाउने प्रक्रिया थालेको हो ।

पौरखीकी सल्लाहकार मन्जु गुरुङले आफूले कमाएको रकमको सदुपयोग गर्ने र स्वदेशमा रोजगारी गरेर थप कमाउन सक्ने बनाउन लागेको बताइन् । ‘पटक-पटक वैदेशिक रोजगारीमा जाँदा पारिवारिक संरचना बिग्रने र व्यक्ति आफैंलाई पनि समस्या हुने रहेछ । त्यसैले विदेशको विकल्प स्वदेशमा काम गर्ने र कमाउने बनाउन लागेका हौं,’ उनले भनिन् ।

पछिल्लो समय तीन तहकै सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी सहुलियत कर्जा, उद्यम सञ्चालनमा प्राथमिकता, निर्ब्याजी ऋणलगायतका कार्यक्रम ल्याएका छन् । तर, सूचना र पहुँच अभावले धेरै महिलाले त्यस्तो सुविधा पाएका छैनन् ।

वैदेशिक रोजगारीबाट फर्केका महिलालाई सरकारी सुविधा लिनेबारे पनि सहजीकरण गरिने छ । पौरखीका अध्यक्ष सत्रकुमारी गुरुङले वैदेशिक रोजगारीको विकल्पमा ल्याएका सरकारी कार्यक्रमलाई महिलामाझ पुर्‍याउन अगुवा महिला परिचालन र सचेतना कार्यक्रमसमेत गरिएको छ ।

Published on: 21 June 2023 | Kantipur

Link

Back to list

;