s

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको तथ्यांक संकलन सुरु

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसायउन्मुख गराउन शुक्लाफाँटा नगरपालिकाले तथ्यांक संकलनको काम सुरु गरेको छ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत तथ्यांक संकलन हुन थालेको हो।

स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्न तथ्यांक संकलन कार्य अगाडि बढाइएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताए।

‘तथ्यांक संकलनका लागि नगरपालिकाका १२ वटै वडामा परिपत्र गरिसकेका छौँ,’ उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वडामा उपलब्ध गराइएको फारममा नाम, वैदेशिक रोजगारीमा गएको मुलुक, सिकेको सीप, ठेगाना र सम्पर्क नम्बर, चाहिने सीपबारे विवरण भर्नुपर्नेछ।’

उनका अनुसार विवरण संकलन कार्य गरिसकिएपछि त्यसकै आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवाप्रदायकमार्फत सीपमूलक तालिमका लागि छनोट गरिनेछ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै व्यवस्थापकीय सीपमूलक तालिम प्रदान, परम्परागत रूपमा सञ्चालित पेसाको आधुनिकीकरण तथा बजारको माग, व्यक्तिको क्षमताअनुरूप रोजगारीको व्यवस्था गर्न सहजीकरण गरिने उनको भनाइ छ।

यससँगै रोजगारीका क्रममा आर्जन गरेको पुँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए।

गत आवमा नगरपालिकामा विदेशबाट फर्केका ९० जनाको विवरण संकलन गरिएको थियो। जसमा भारत, मलेसिया, साउदी अरब, ओमान, बहराइन, कतार, दुबई, युएई, रोमानियालगायतका देशबाट फर्केका व्यक्ति रहेका थिए।

विवरणमा समेटिएका व्यक्तिले गार्मेन्ट, कृषि, सवारीचालक, सरसफाइ, डिजिटल मार्केटिङ, रेस्टुरेन्ट अपरेटर, डकर्मी, सिलाइकटाइ, फर्निचर मेकर, स्काफ फोल्डिङ, पेन्टिङ, प्लम्बिङ, मार्बल, फुड प्याकेजिङ, पिओपी, सेफ, पशुपालनसम्बन्धी तालिमको माग गरेका थिए ।

तथ्यांकन संकलन गरिएकामध्ये २० जनालाई सीपमूलक सिलाइकटाइ तालिम दिई व्यवसायउन्मुख गराइएको प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ। चालू आवमा पनि मागका आधारमा सीपमूलक तालिम सञ्चालन गरिने उनको भनाइ छ।

Published on: 28 November 2023 | Naya Patrika

Link

Back to list

;