s

वैदेशिक रोजगारी ठगी आरोपमा म्यानपावर सञ्चालकदेखि अख्तियारको अधिकृत बताउनेसम्म पक्राउ

रोजगारीका लागि अमेरिका र अष्ट्रेलिया पठाइदिने भन्दै ७ जनाबाट ८७ लाख भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले म्यानपावर सञ्चालकदेखि मन्त्रीका पीए र अख्तियारको अधिकृत बताउने व्यक्तिहरुलाई पक्राउ गरेको छ । अष्ट्रेलिया पठाइदिने भन्दै ६१ लाख ठगेको अभियोगमा प्रहरीले नेपाल जब प्लेसमेण्ट नामको मेनपावर कम्पनीका सञ्चालक बताउने रोशन कार्की र उनका एजेन्ट पूजा प्याकुरेल भुजेल तथा उनका श्रीमान् शक्ति भुजेललाई पक्राउ गरेको हो ।
 
अष्ट्रेलियामा फुड प्याकिङको कामका लागि पठाउने भन्दै कार्की लगायतले आफूहरुसँग रकम उठाई दिल्लीसम्म पु¥याएर अलपत्र पारेको भन्दै पवन भण्डारी, मिङ्मार शेर्पा, रविन्द्र श्रेष्ठ, राजकुमार मगर, सन्दिप गुरुङ, कुमार मगर र ज्ञानकुमार लामाले प्रहरीमा उजुरी गरेका थिए । कार्कीमार्फत मोरङका पूजा प्याकुरेल भुजेल, सन्तोष श्रेष्ठ हुँदै उनीहरु भारत पुगेका थिए । उनीहरु भारतको दिल्लीस्थित एक होटलमा एक महिना बस्दा समेत भीषा नआए पछि आफूहरु ठगीमा परेको निष्कर्षसहित घर फर्केका थिए । उनीहरुबाट पटक–पटक गरी ६१ लाख ठगेको प्रहरीले जनाएको छ ।
 
उता अमेरिका पठाइदिन्छु भनेर २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए दावी गर्ने दाङका छविलाल चौधरी र उनकी पत्नी सुभद्रा कर्माचार्यलाई पक्राउ गरेको छ । चौधरी र कर्माचार्यले ७ जनासँग २६ लाख ठगी गरेको प्रहरीको भनाइ छ ।
 
चौधरीले अमेरिकाको इन्टरनेसनल इन्ष्टिच्यूट अफ इन्फिनिटीजम् भन्ने संस्थामा रोजगारी दिने भन्दै नक्कली निमन्त्रणा पत्र देखाई ७ जनासँग रकम असुली आफ्नी पत्नी शुभद्रा कर्माचार्यको बैंक खाता र आईएमई मार्फत पठाउन लगाई फरार भएका थिए । महानगरीय प्रहरी परिसरले पीडितको उजुरीको आधारमा उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको बताएको छ ।
 
Published on: 3 March 2018 | Madhyanha

Back to list

;