s

वैदेशिक रोजगारी व्यवस्थित बनाउन इन्टरनेट सर्भर जोडिने

भउचप्रसाद यादव

वैदेशिक रोजगारीलाई थप विश्वासिलो, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका इन्टरनेट सर्भरलाई एकअर्कामा जोडिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तेजराज पाण्डेले वैदेशिक रोजगारीलाई अहिलेको भन्दा मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका इन्टरनेट सर्भरलाई एकअर्कासँग जोड्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ । 

वैदेशिक रोजगारीका क्रममा अहिले देखिएका विकृति तथा समस्याहरूलाई नियन्त्रण गरी थप व्यवस्थित र मर्यादित बनाउन श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरूको संयुक्त बैठकले एकअर्काका मन्त्रालयका सर्भरलाई एकआपसमा जोडिने अवधारणा ल्याइएको उहाँले बताउनुभयो । 
 
स्वदेशका विभिन्न निकाय तथा विदेशस्थित कूटनीतिक नियोगहरूमा रहेका वैदेशिक रोजगारीसँग सम्बन्धित अभिलेखहरूलाई व्यवस्थित गरी अहिले देखिएका समस्याहरूको न्यूनीकरण गर्नसमेत यस प्रक्रियाले मद्दत पुग्ने विश्वास श्रम तथा रोजगार मन्त्रालयले लिएको सहसचिव पाण्डेले बताउनुभयो । यस कार्यका लागि व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनसमेत मन्त्रालयलाई प्राप्त भइसकेको जानकारी उहाँले दिनुभयो । 
 
परराष्ट्र र गृह मन्त्रालयको इन्टरनेट सर्भर लिङ्क गर्न श्रम तथा रोजगार मन्त्रालयले आफ्नो सर्भरमा ‘स्पेस’समेत खाली राखेको बताउँदै उहाँले सर्भर लिङ्कका लागि सहमति प्रदान गर्न अनुरोध गर्दै मन्त्रालयले परराष्ट्र र गृह मन्त्रालयलाई लिखित प्रस्तावसमेत गरिसकेको जानकारी दिनुभयो । औपचारिक प्रस्ताव गरिए पनि ती मन्त्रालयहरूबाट अहिलेसम्म कुनै जवाफ नआएको जानकारी उहाँले दिनुभयो । यस प्रणालीको विकासका लागि करिब २० लाख रुपियाँ खर्च हुनसक्ने र सो रकम श्रम तथा रोजगार मन्त्रालयले नै बेहोर्ने उक्त मन्त्रालयले जनाएको छ । 
 
उहाँका अनुसार ती मन्त्रालयहरूबाट सहमति प्राप्त भएपछि पहिलो चरणमा गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा, दोस्रो चरणमा परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा र तेस्रो चरणमा कन्सुलर सेवा विभागसँग श्रम तथा रोजगार मन्त्रालयको सर्भर लिङ्क गरिनेछ । 
 
यो लिङ्क फेरि विदेशस्थित सबै नियोगको सर्भरमा जोडिनेछ, जसले गर्दा त्यहाँ कार्यरत श्रमिकहरूलाई केही समस्या पर्दा यथाशीघ्र सेवा पुर्याउन सकिनेछ तथा कुन देशमा कति नेपाली कामदार छन् त्यसको यकिन तथ्याङ्क नेपाल सरकारलाई सहजै प्राप्त हुनेछ । 
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन आचार्यले यो सर्भर लिङ्क प्रक्रिया सञ्चालनमा आएपछि अहिले वैदेशिक रोजगारीमा देखिएका विकृतिहरूको न्यूनीकरण हुनुका साथै वैदेशिक रोजगार अहिलेको भन्दा मर्यादित, व्यवस्थित र सुरक्षित हुने बताउनुभयो । 
यो सर्भर लिङ्क प्रक्रिया सञ्चालनमा आएपछि राहदानी विभागबाट वितरण भएको राहदानी तथा राहदानी लिएको व्यक्तिको सम्पूर्ण विवरण, वैदेशिक रोजगारीको लागि विभागबाट श्रम स्वीकृति लिएको व्यक्तिको सम्पूर्ण विवरण तथा विमानस्थलबाट अन्य मुलुक गएको र फर्किएको व्यक्तिबारे सम्पूर्ण विवरण अध्यागमन विभागमार्फत उक्त सर्भरमा जोडिने हुँदा वैदेशिक रोजगारीका क्रममा अहिले देखिएका समस्याहरूको न्यूनीकरण हुने विश्वास मन्त्रालयको रहेको उहाँले बताउनुभयो । 
 
यो सर्भर लिङ्क प्रक्रिया सञ्चालनमा आएपछि वैदेशिक रोजगारीका क्रममा समस्या प्रायः आउँदै आउँदैन, आइहाले पनि तत्काल समाधान गर्न सकिने दाबी उहाँले गर्नुभयो । 
 
अहिले वैदेशिक रोजगारीमा जाने नेपालीको अभिलेख सरकारसँग रहने व्यवस्था भए पनि वैदेशिक रोजगारीबाट फर्किनेको अभिलेख सरकारसँग छैन । यसका कारण अहिले वैदेशिक रोजगारीमा के कति कामदार छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग पनि छैन भन्दै प्रवक्ता आचार्यले यो सर्भर लिङ्क प्रक्रिया सञ्चालनमा आएपछि उक्त समस्या पनि समाधान हुने विश्वास मन्त्रालयको रहेको बताउनुभयो । उहाँका अनुसार यो सर्भर लिङ्क प्रक्रिया सञ्चालनको मुख्य उद्देश्यमध्ये यो पनि एक हो ।
 
Published on: 6 February 2018 | Gorkhapatra

Back to list

;