s

वैदेशिक रोजगारी : अवसर कि अभिशाप

अनियमित प्रवासन या रोजगारीका लागि बिदेसिएका युवाका कारण नेपालमा प्रतिभा पलायनका साथै उत्पादनमुखी युवा जनसङ्ख्यामा कमी भएको छ । नेपाल आर्थिक शक्तिसम्पन्न मुलुक होइन र आवश्यक पूर्वाधारको विकास पनि हुन सकेको छैन तर सामाजिक सुविधा र प्राकृतिक स्रोतमा ज्यादै कमजोर मुलुक भने होइन । नेपालमा नै उद्यम, व्यवसाय, कृषि या यस्तै रोजगारमूलक काम गरेर बस्नुभन्दा विदेश पलायनमा युवा बढी उद्यत भएको पाइन्छ । हुन त अहिले अन्तर्राष्ट्रिय सर्वेक्षणबाट स्पष्ट भइसकेको छ कि संसारभरका युवा, वृद्ध/वयस्कको तुलनामा अधिक रूपमा विदेश जान लालायित छन् । वैश्विक स्तरमा नै युवाले अन्तर्राष्ट्रिय सङ्गठन र वैदेशिक रोजगारीबारे सकारात्मक धारणा व्यक्त गरेको पाइन्छ तर ठुलो सङ्ख्यामा युवा बिदेसिँदा ऊर्जाशील जनशक्तिको कमी भई उत्पादकत्वमा गम्भीर प्रभाव परेका सङ्केत देखा पर्न थालिसकेका छन् ।

सहज छैन विदेश

विदेशको जीवन सहज छ भन्ने आकलन धेरै युवाको छ तर प्रवासको सङ्कट जताततै गहिरो भएको छ । अमेरिका जान चाहने दक्षिण अमेरिका र अन्य मुलुकका मानिस, युरोप जान चाहने द्वन्द्वग्रस्त मुलुक सिरियालगायत अफगानिस्तान, लेबनान, यमनका मानिस र मध्यपूर्व तथा पूर्वी एसिया जान चाहने दक्षिण एसियाका मानिसलाई क्रूरतापूर्वक अध्यागमनबाटै फर्काइएका घटना सामान्य हुन थालेका छन् । विशेष गरेर बुडापेस्टलगायत अन्य ठाउँमा ठुलो सङ्ख्याका मानिसलाई क्रूरतापूर्वक व्यवहार गरिएको प्रतिवेदनहरू सार्वजनिक भएका छन् ।

जर्मनी, अस्ट्रियालगायत देशका सरकारले आप्रवासीलाई शरण र रोजगारी उपलब्ध गराउने घोषणा गरे पनि आप्रवासीविरोधी र विदेशी कामदारलाई मन नपराउने राजनीतिक दलले संसदीय चुनावमा विजय हासिल गरे । यसका साथै जर्मनीका सर्वसाधारण नागरिकले ३४० वटा घटनामा आप्रवासी र वैदेशिक रोजगारीमा आएका मानिसप्रति साङ्घातिक हमला गरे । सरकारले घोषणा गरेर मात्र हुँदो रहेन छ, सम्बन्धित देशका नागरिकको विरोध भयो भने वैदेशिक रोजगारीमा गएका मानिसको जीवन जस्तोसुकै नीति बनाइएको भए पनि सुखदायी हुन सक्दैन ।

मध्यपूर्वमा पनि आप्रवासीहरूप्रति अत्याचार भएका घटना सामान्य जस्तै छ । साथै द्वन्द्वग्रस्त र युद्धरत मुलुकहरू रुस, युक्रेन, प्यालेस्टाइन र इजरायलमा रोजगारीमा गएका नेपालीले ज्यान गुमाएका छन् । आप्रवासीलगायत वैदेशिक रोजगारीमा आएका मानिसलाई हतोत्साहित गर्नका लागि डेनमार्कलगायत युरोपका धेरै मुलुकले शरणार्थीलाई दिई आएको लाभ हटाएका या नाम मात्रको सुविधा दिने गरेका छन् । कतिपय मुलुकमा त विदेशी कामदारलाई ज्यादै कष्ट दिएको घटना पनि सार्वजनिक भएका छन् । तैपनि वैदेशिक रोजगारीका लागि विदेशमा युवाको आकर्षण भने बढ्दो नै छ । विरोध हुँदाहुँदै पनि युवाको माग अन्तर्राष्ट्रिय बजारमा अहिले पनि व्यापक छ ।

युवा चाहे उत्पीडनले भागेका हुन् या बढी आर्थिक लाभका लागि गएका हुन्, देश छोडेर गइसकेपछि उनीहरूमा आशावादी हुन सक्ने, जोखिम लिन सक्ने र उद्यमशीलताको विकास हुने भन्ने मान्यता छ । नयाँ ठाउँलाई युवाले अधिक सराहना गर्ने र मन पराउँछन् । अर्थशास्त्री पल कोलिन्सले आफ्नो किताब ‘एक्सोडस : हाउ माइग्रेसन इज चेन्जिङ आवर वल्र्ड’ मा भन्नुभएको छ, “जब आप्रवासी गरिब देशबाट धनी देशमा जान्छन् तब उनीहरूको उत्पादन क्षमता बढ्ने गर्छ, किनकि उनीहरू देशभित्र अकार्यात्मक सामाजिक मोडेलका सिकार भएका हुन्छन् र देशबाट बाहिरिन चाहेका हुन्छन् ।” अधिकांश अर्थशास्त्रीका अनुसार आप्रवासीहरू आफ्नो स्वभावले नै वैदेशिक अर्थव्यवस्थालाई बलियो बनाउन योगदान गर्छन् भने प्रवासको अनुभवले नै उनीहरूमा व्यक्तिवाद, महत्वाकाङ्क्षा, आत्मनिर्भरता र धार्मिक सहिष्णुता बढाउँछ र मानव अधिकारप्रति बढी सचेत बनाउँछ भन्ने मान्यता छ ।

यसको ज्वलन्त उदाहरण हङ्गेरीबाट प्राप्त गर्न सकिन्छ । एन्ड्यु ग्रोब २० वर्षको उमेरमा नै कम्युनिस्ट शासन भएको हङ्गेरीबाट अमेरिका पुगे । अमेरिका पुगेपछि आफ्नो मेहनत र परिश्रमले इन्टेल सेमिकण्डक्टरको निर्माता बन्न पुगे । युजिन आरम्यान्डी, जर्ज सोल्टी र फ्रिट्ज रेनरले सामान्य अमेरिकी अर्केस्ट्राहरूलाई महान् आर्केस्ट्रा बनाइदिए । हाइड्रोजन बमको विकास हङ्गेरीकै एडमन्ड टेलरले अमेरिका गएर बनाएका हुन् । जादुगर हडनी, प्रकाशक जोसेफ पुलित्जर, लेखक आर्थर कोयलस्टर, सङ्गीतकार बेला बार्टोक, फिल्म अभिनेता लेस्ली हार्वड बिदेसिँदा ती व्यक्तिको जीवनमा कायापलट गरिदियो र उनीहरूले नाम, दाम र प्रसिद्धि सबै कमाए । यसकारण केही मानिस विदेश पलायनलाई अवसर सम्झने गर्छन् तर यस किसिमका युवा पलायनले हङ्गेरीले ठुलो नोक्सान बेहो¥यो र अमेरिकालाई ठुलो लाभ भयो ।

के चाहन्छन् युवा ?

नेपालको सन्दर्भमा सबभन्दा पहिला नेपाली युवा के चाहन्छन् र विश्व रङ्गमञ्चमा कसरी सहभागी हुन चाहन्छन्, त्यसको लेखाजोखा हुनु जरुरी छ । अहिले सञ्चार जगत्मा भएको क्रान्तिले नेपाली युवा पनि देश–विदेशको अवस्था समीक्षा गर्न सक्ने भएका छन् । यसकारण नेपाली युवाले विश्व परिस्थितिसँग आफ्नो देशको वर्तमान स्थितिलाई कसरी बुझेका छन् र त्यसको तुलना देशभित्र कसरी गर्ने गरेका छन्, त्यो महत्वपूर्ण छ ।

दोस्रो, के नेपाली युवा अन्य देशमा गएर काम गर्नका लागि पर्याप्त रूपले साधनसम्पन्न र नैतिक रूपले बाध्य छन् । बेलायती र भारतीय सेनामा काम गर्ने प्रचलन नेपाली युवाको धेरै पहिलेदेखि नै हो । के यो नैतिक बाध्यताको मात्र उपज हो या अन्य कारण । यसको पूर्ण जानकारी नेपालले राख्नु पर्छ । साथै देशभित्रैको राजनीति र विदेशी प्रभावले पनि उनीहरू बाहिरिन बाध्य भएको सम्भावनालाई नकार्न मिल्दैन । देशमा चलेको सशस्त्र युद्ध र असमयमा नै भइरहने सत्ता परिवर्तन पनि युवा बिदेसिनुको कारक तत्व हुन सक्छ ।

युवा पलायन विश्वभर नै सामाजिक व्यवस्था र सञ्जालको एउटा हिस्सा बनेको छ । एउटा मान्यता स्थापित भइसकेको छ कि यो सिक्काको दुई भाग जस्तै हो । यो अवसर र अभिशाप दुवै हो । नेपालले आफ्नो नागरिकको अर्थव्यवस्था र सामाजिक जरुरत पूरा गर्न सङ्घर्ष गरिरहेको छ तर रोजगारीका लागि युवा पलायन भएको यो स्थितिले आतङ्कवाद र व्यवस्थाप्रति नै विरोध, वितृष्णा जस्ता कैयौँ सामाजिक घाउको जन्म दिन सक्ने सम्भावना हुन्छ । जसले जे भने पनि युवा पलायन देशप्रति अप्रिय प्रभाव बनाउने कारक तत्व हो । यसकारण यो निष्कर्ष निकाल्न लापरबाही हुने छ कि युवा पलायन अभिशापको तुलनामा अवसर ज्यादा हो । यसो भन्दैमा वैदेशिक रोजगारीमा जाँदा उनीहरूको देश विकासमा भूमिका हुँदैन भन्न खोजेको होइन । उनीहरूले विप्रेषणको माध्यमबाट दिएको योगदान विशिष्ट किसिमको नै छ तर प्रवासमा जति पनि नेपाली छन् र जुन स्थानमा छन्, तिनीहरूले आफ्नो देशमा भन्दा आपूmले रोजगारी गरेको देशको अर्थव्यवस्था र सामाजिक विकासमा ठुलो टेवा दिएका अनुसन्धानको नतिजा छ । देशबाहिर ठुलो सङ्ख्यामा युवा हुँदा सामाजिक संरचना नै खलबलिने गर्छ । यसकारण उनीहरूलाई फर्काउनुको विकल्प छैन । यदि उचित नीति र उपाय अपनाइयो भने ती युवा अन्य देशको आविष्कार र विचार अपनाउन र स्थानान्तरित गर्न एक साधन बन्न सक्छन् । अहिले नेपालको अर्थव्यवस्था विप्रेषण र विदेशी सहायतामा निर्भर भएको जस्तो पनि देखिन्छ । यदि रोजगारीमा गएकाहरू देश फर्किने वातावरण भयो भने उनीहरू अनुभवले छिमेकी र बाह्य संसारको प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउन सक्षम हुन्छन् ।

यदि नेपाल सामाजिक, आर्थिक विकासको पथमा हिँड्नका लागि प्रतिबद्ध छ र युवा पलायन रोक्न चाहन्छ भन्ने देखाउनु छ भने सरोकारवालाले मनन गर्नु पर्छ कि आर्थिक एकीकरणको पथमा देशलाई एकै सूत्रमा बाँध्नका लागि परिवहन र अन्य पूर्वाधारको विकास हुनु जरुरी छ । गार्मेन्टमा चीनपछि दोस्रो ठुलो उत्पादक र निर्यातकर्ता देश बङ्गलादेश हो, जहाँ १००९ वटा गार्मेन्ट कारखानामा एक करोड मानिसले रोजगारी पाएका छन् । विश्वको बहुचर्चित पोसाक उत्पादनकर्ताहरू गुच्चीलगायत ठुला कम्पनीको कारखाना बङ्गलादेशमा नै छ र १५ वर्षपछि बङ्गलादेशले चीनलाई जित्ने लक्ष्य लिएको छ । यो पूरा होला जस्तो पनि छ । यसका लागि बङ्गलादेशीहरूले परिवहनको सुविधा जुटाए । ठुला कम्पनीले सुविधापूर्ण तरिकाले सामान लैजान मात्र होइन, त्यहाँ कार्यरत एक करोड कर्मचारीको आवागमनका लागि पनि सवारीसाधन जुटाइयो । सवारी सुविधा भयो भने मानिस आफैँले आफ्ना लागि रोजगारी खोज्न सक्छ भन्ने मान्यता विकास भएको छ । यसका साथै सम्पूर्ण देशमा आवश्यक अन्य मौलिक एकीकृत संरचनाको विकास गर्नु पर्छ, जसले एकैसाथ संयुक्त रूपमा नेपालभर विभिन्न समुदायबिच अन्य सकारात्मक गतिशीलताका लागि ढोका खोल्न सक्छ र युवा पलायन रोक्ने पहल गरेको ठहर्ने छ ।

प्रजातन्त्र, लोकतन्त्र मात्र भनेर हुँदैन; अभिव्यक्ति स्वतन्त्रताले मात्र युवालाई सन्तुष्ट बनाउन सक्दैन । देशभित्र उचित प्रबन्ध भएन भने मानिस देशभित्र बसे भने पनि उनीहरूको उत्पादन क्षमता र उत्पादकत्व नहुने मात्र होइन, अनुत्पादक नै हुन्छन् । त्यसकारण युवा परिचालनको स्पष्ट दृष्टि भएन भने युवालाई देशभक्ति या राष्ट्रप्रेम या सांस्कृतिक परम्पराको कुरा मात्र गरेर देशभित्रै टिकाउन सकिन्न र उनीहरूको क्षमता पनि उजागर हुँदैन ।

Published on: 1 March 2024 | Gorkhapatra

Link

Back to list

;