s

वैदेशिक रोजगारीमा जाने घटे

भैरहवा, मङ्सिर गते। कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ। राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी भएकोे हो।
विगत दुई आर्थिक वर्षमा रूपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको हो। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७६/७७ मा राहदानी बनाउनेहरू घटेका छन्।
आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन्। यो सङ्ख्या आर्थिक वर्ष २०७५/७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६/७७ मा भन्दा एक हजार ५४८ ले कमी हो।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म विगतका दुई आर्थिक वर्षको तुलनामा बढी राहदानी वितरण भएका छन्।
आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए। जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन्।
सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन्। त्यस्तै ८७६ वटा द्रुत सेवाका लागि राहदानी सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षभन्दा उक्त आर्थिक वर्षमा एक हजार ४५४ वटा राहदानी कम वितरण भएका छन्।
कोरोना महामारी सुरु हुनुभन्दा अगाडि अर्थात् आर्थिक वर्ष २०७५/७६ मा भने राहदानी बनाउनेको सङ्ख्या उल्लेख्य थियो। यो आर्थिक वर्षमा छ हजार ६२१ साधारण, १२६ वटा नाबालक, २८२ वटा हराएका गरी सात हजार २९ वटा राहदानी जारी भएका थिए।

Published on: 21 November 2021 | Gorkhapatra

 

Link

Back to list

;