s

वैदेशिक रोजगारबाट फर्किएर देशमै उद्यम गर्ने ९ युवा सम्मानित

वैदेशिक रोजगारीबाट फर्किएर देशमै उद्यम गरिरहेका नौ जना युवाहरूलाई सरकारले सम्मान गरेको छ।

बिहीबार भर्चुअल कार्यक्रम आयोजना गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूलाई सम्मान तथा राष्ट्रिय पुरस्कार प्रदान गरेको हो।

सम्मानित हुनेहरूमा तिलोत्तमा-२ जानकीनगर, रुपन्देहीका शिव पराजुली, रोहिनी गाउँपालिका-४, रुपन्देहीका भुदुरप्रसाद थारू, ग्रामथान गाउँपालिका-५, मोरङका सनोजकुमार माझी, मादी गाउँपालिका, कास्कीका भोजराज पुवाली, धरान उपमहानगरपालिका ५, सुनसरीका धनबहादुर राई, सिलिचोङ्ग, संखुवासभाका शम्भुजित राई, कावासोती, नवलपरासीका गोविन्द महतो, सरावल गाउँपालिका-५, नवलपरासीकै चुडामणि चौधरी र झापाका ज्ञानेन्द्र सम्वाहाम्फे छन्।

उनीहरूमध्ये तिलोत्तमा-२ जानकीनगर, रूपन्देहीका शिव पराजुलीले आर्थिक वर्ष २०७७/०७८ को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार, एक लाख नगद प्राप्त गरेका हुन्। बाँकी ८ जनाले उद्यमी राष्ट्रिय पुरस्कार अन्तर्गत ५०/५० हजार नगद प्राप्त गरेका हुन्।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिम उनीहरूलाई पुरस्कारका लागि छनौट गरिएको मन्त्रालयले जनाएको छ।

पुरस्कारका लागि ८५ आवेदन परेका थिए। ति मध्ये रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यातको अवस्था, सामाजिक दायित्व बहन, वातावरण मैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा छनोट गरिएको हो।

सम्मानित भएका उद्यमीले देशमा उद्यमशीलताका युवाहरूको सक्रियताको खाँचो रहेको औंल्याए।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले युवाहरूलाई स्वदेशमै उद्यम गर्ने प्रोत्साहन मिलोस् भनेर सरकारले सम्मान गरेको बताए।

स्वदेशमै श्रम, सीप र पुँजी परिचालन गरी रोजगारी सिर्जना तथा आयमूलक काममा सक्रिय रहन मन्त्री चौधरीले युवाहरूलाई आग्रह समेत गरे।

Published on: 30 April 2021 | Setopati

Link

Back to list

;