s

वैदेशिक रोजगारीबाट फर्केर बाख्रापालन, वार्षिक तीन लाख कमाइ

अमृतप्रसाद पौडेल

बेनी, जेठ १७ गते । सन १९९२ देखि २००८ सम्म बैदेशिक रोजगारीमा कतार तथा कुबेतमा बिताएका डेकप्रसाद पुर्जा अहिले पुर्ख्याैली पेशामा फर्केर वार्षिक तीन लाखभन्दा बढी जोगाउने  गर्नुभएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–५ झीँका ५१ वर्षीय डेकप्रसाद पुर्जा अहिले आफ्नो बाबुबाजेले गर्दै आएको पेशा बाख्रापालनमै रमाउँदै हुनुहुन्छ ।

सय भन्दा धेरै खसी तथा बाख्रा पालेका पुर्जा आफ्नै घरमा भएको ब्यवसायबाट सन्तुष्ट भएको सुनाउनुहुन्छ । परिवारका सदस्यहरुको मात्रै मिहिनेतमा बाख्रा, भैँसी, गोरु पाल्नुभएका पुर्जाको मुख्य पेशा भनेको बाख्रा पालन हो । अहिले खसी बोका तथा बाख्रा साना ठुला गरेर ११५ रहको पुर्जाको भनाइ छ । पुर्जालाई उहाँकी श्रीमती ५० वर्षीय देवी गर्बुजा अनि छोरा २९ वर्षीय राम गर्बुजाले पनि राम्रो साथ दिनुभएको छ । परिवारकै सदस्यको मिहिनेतले गर्दा आफ्नो पशुपालनको व्यवसायलाई यतिका बनाउन सकेको छु पुर्जाले भन्नुभयो ।

विगतमा पनि पशुपालन व्यवसायमै भएको भए पनि राज्यको निकायमा दर्ता गरेर व्यवसायीक रुपमा सञ्चालन नगरेका पुर्जाले २०७४ सालमा ब्यवसाय दर्ता गर्नु भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयमा गर्बुजा बाख्रा फर्म दर्ता गरेर ६ लाख लगानी गरी ब्यवसायिक रुपमा बाख्रा पाल्न शुरु गर्नु भएको थियो । खोर निर्माण तथा बाख्राको पाठा खरिदमा ६ लाख खर्चेर व्यवसाय अगाडि बढाउनुभएको थियो ।

अहिले फर्ममा रहेको खसी बाख्रा मात्रै २० लाख भन्दा बढी मुल्य पर्ने गर्बुजाको भनाई छ । सन १९९२ मा कुबेत गएँ लगानी गरेरै जान पर्ने, उहाँ गएर जति मिहिनेत गर्दा पनि आठ देखि १० हजार पनि कमाउन सकिएन– गर्बुजा भन्नुहुन्छ । गर्बुजा थप्नुहुन्छ –‘कुबेत तथा कतारमा झण्डै १६ वर्ष बित्यो तै पनि आफ्नो सोच र जुन लक्ष्य लिएर गएको थिएँ त्यो अनुसार आम्दानी नभए पछि बाबु बाजेले गर्दै आएको पशुपालनमै केन्द्रित भएको हुँ ।’ गर्बुजा भन्नुहुन्छ – पहिला त आफ्नै तरिकाले बाबा बाजेले जस्तै गरि पाल्न थालेको थिएँ पछि दर्ता गरेर अनि व्यवसायीक तबरले पाल्न थालेपछि अहिले राम्रो भएको छ ।

सदरमुकाम बेनीदेखि सवारी साधनमा करिब ३ घण्टामा पुगिने झिँमा उत्पादन भएको खसी बोका प्रदेश राजधानी पोखरासम्म बिक्री हुने गरेको छ । गर्बुजाले भन्नुभयो अहिले लकडाउन भएर हो नत्र भने अहिले १० वटा खसी र बोका पोखरामा गाडीमा लैजाने वाला थिएँ, गाडी बन्द भएकोले रोकिएको छ । खुल्यो भने अब लगत्तै लैजाने हो ।

बेनीमा मासुको ब्यवासाय गर्दै आउनु भएका ऋशिकेश तिवारी भन्नुहुन्छ– गर्बुजाले उत्पादन गरेको खसीबोकामा बोसोको मात्रा कम हुने र लेकमा हुर्केको हुनाले मासुको स्वाद पनि मिठो हुन्छ ।

गर्बुजाकोमाा अहिले खसी लिनका लागि आफू पुगेकोमा सातवटा खसीलाई प्रतिगोटा २० हजारको दरले मूल्य भएको तिवारीको भनाइ छ ।

गर्बुजाको बाख्रा फर्ममा अहिले १७ वटा खसी, २३ वटा बोका तथा साना ठूला बाख्रा गरी ११५ वटा छन् । बोयरको क्रस, जमुनापारी, खरीलगायतका स्थानीय जातका बाख्रा पालेका गर्बुजाले बार्षिक सबै खर्च कटाएर सरदर तीन लाख भन्दा बढी बचत गर्ने गर्नुभएको छ । मगरसमुदायमा हुने बिबाह, छेवार, मृत्यु संस्कार जस्ता कार्यमा निकै नै खर्च हुने र त्यस्ता कार्यहरुमा पनि लाग्ने खर्च समेत कटाउँदा पनि तीन लाखभन्दा बढी जोगाउँदै गाउँमै बस्न पाएकोमा खुशी लागेको राम गर्बुजाको भनाइ छ । दुई छोरालाई बुटवलमा पढाउँदै गरेका रामकी श्रीमती इच्छाले पनि आफ्नो परिवारले थालेको ब्यवसायमा राम्रो सहयोग गर्ने गरेको रामको भनाइ छ ।

Published on: 2 June 2021 | Gorkhapatra

Link

Back to list

;