s

वैदेशिक राेजगारबाट फर्किएकाकाे पनि तथ्यांक राखिने

सरकारले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन आजदेखि एकीकृत रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । एकीकृत प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धित कार्यमा बहुनिकायको संलग्नता र आबद्धताको व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

राजदूतावासले मागपत्र जाँचबुझका सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकालाई सहज तुल्याउने गरी यस प्रणालीमा राजदूतावास उपप्रणाली थप गरिनाका साथै अध्यागमन विभाग, राहदानी विभाग र कन्सुलर सेवा विभागबाट आवश्यकताअनुसारको विवरण प्राप्त गर्न सकिने गरी अद्यावधिक गरिएको छ । 

वैदेशिक रोजगार विभाग, व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक तथा बीमा कम्पनी एवं सीपमूलक तालीम प्रदायक संस्थाको कार्यप्रणाली प्रभावकारी हुनाका साथै वैदेशिक रोजगारसँग सम्बन्धित सूचनाको सहज पहुँच र प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीले बताए।  

दूतावासले यस प्रणालीको प्रयोग गरी गन्तव्य मुलुकका रोजगारदाताबाट प्राप्त हुने मागपत्रको विवरण प्रविष्टि गरी जाँचबुझ गर्न सक्नेछन् । यसबाट नक्कली मागपत्र ल्याई नेपाली कामदारलाई विदेश पु¥याएर अलपत्र पार्ने र ठगी निरुत्साहित हुनेछ । गन्तव्य देशका रोजगारदाताको वास्तविक र पूर्ण विवरण प्रविष्टि हुने भएकाले तोकिएबमोजिमको सेवा सुविधा नदिने रोजगारदातालाई कालोसूचीमा राख्नसमेत सहज हुनेछ । दूतावासमा विवरण प्रविष्टि र रुजु गर्ने कामको निम्ति दुई कर्मचारीलाई यो प्रणाली सञ्चालनमा जिम्मेवार बनाउने व्यवस्थासमेत गरिएको छ । 

यसअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको मात्र तथ्याङ्क सरकारसँग रहने गरेको थियो । स्वदेश फर्किने कामदारको विवरण उपलब्ध नहुने गरेको वर्तमान अवस्थाको अन्त्य गर्न अध्यागमन विभागको अनलाइन प्रणालीसँग एकीकृत प्रणालीलाई जोडिएको छ । यसबाट वैदेशिक रोजगारबाट फर्किने कामदारको विवरणसमेत सहज रुपमा प्राप्त गर्न सकिनेछ । 

 “यसबाट विदेशी भूमिमा कति नेपाली काम गरिरहेका छन् भन्ने विवरणसमेत सहज रुपमा प्राप्त गर्न सकिनेछ । श्रम स्वीकृति प्राप्त कामदार नेपालमै रहे÷नरहेको विवरण प्राप्त गर्न, विभिन्न नीति तथा कार्यक्रमको तर्जुमाका निम्ति आवश्यक तथ्याङ्क तथा सूचना सङ्कलन गर्न र कामदारको सम्पूर्ण विवरणसहितको प्रतिवेदन तयार पार्नमा समेत यो प्रणालीबाट सहयोग पुग्नेछ ” ज्ञवालीले भने। 

श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियामा हुन सक्ने लापरवाही र नक्कली कागजात बनाई ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राहदानी विभागको प्रणालीसँग पनि जोडिएको छ । राहदानी विभागको प्रणालीमा रहेको विवरण प्रणालीले स्वतः प्राप्त गर्ने हुँदा श्रम स्वीकृति जारी गर्दा कामदारको विवरण फरक नपर्ने, राहदानी नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रक्रिया छरितो र सहज हुने तथा श्रम स्वीकृति प्रदान गर्ने कार्यलाई त्रुटिरहित बनाउनसमेत यसबाट सहयोग पुग्नेछ । 

कन्सुलर सेवा विभागसँगको आबद्धताले दुईवटा विभागबीच हुने सूचनाको आदानप्रदानद्वारा कार्यक्षमतामा वृद्धि हुने र काममा दोहोरोपना नआउने उहाँले बताउनुभयो । विदेशी भूमिमा अप्ठ्यारामा पर्दा कामदारको उद्धार र राहत वितरणमा समेत सहजता आउनाका साथै राहत तथा उद्धारका चरणबारे शीघ्र र यथार्थपरक जानकारी प्राप्त गर्न सहज हुनेछ । 

एकीकृत प्रणालीको अद्यावधिक सँगसँगै सरोकारवालालाई वैदेशिक रोजगारसँग सम्बन्धित सूचना सहज तरिकाले प्रदान गर्ने उद्देश्यका साथ ‘वैदेशिक रोजगारी’ नामको मोबाइल एप्ससमेत सञ्चालनमा ल्याइएको छ । यस प्रणालीको पूर्ण कार्यान्वयनपश्चात् आप्रवासी कामदारले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेश गर्न सक्ने मन्त्रालयका इञ्जिनियर राजु श्रेष्ठले बताए।  

श्रम स्वीकृतिका चरणको प्रगतिस्थिति अनलाइनबाट नै थाहा पाउन सक्ने, आफ्नो श्रम स्वीकृति भए÷नभएको कुरा तथा पूर्वस्वीकृतिको विवरण मोबाइल, एसएमएस, वेबसाइट र एप्सबाटै जानकारी लिन सक्ने तथा विभागमा दर्ता भएका उजुरीको अवस्थाका बारे पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । 

मन्त्रालयले एकीकृत प्रणालीको कार्यान्वयनसँगै समग्र वैदेशिक रोजगारको व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ । वैदेशिक रोजगार सूचना प्रणालीमार्फत सम्पूर्ण सरोकारवाला (म्यानपावर एजेन्सी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बीमा कम्पनी) ले अनलाइन सेवा लिन तथा दिन सक्नेछन् भने तिनै संस्था र सरोकारवालाको अनुगमन कार्यमा पनि यस प्रणालीले सहजीकरण गर्नेछ । 

वैदेशिक रोजगारमा गएका कामदारको फोटो र बायोमेट्रिक (आँखाको नानीको आधार र औँठाछाप) सहितको विस्तृत विवरण रहने यस प्रणालीमा वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण गुनासा र उजुरीको पनि विद्युतीय अभिलेख रहनेछ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीको कार्यसम्पादनको विवरण विद्युतीय रुपमा राख्नसमेत यस प्रणालीले मद्दत पु¥याउने विश्वास मन्त्रालयले लिएको छ । 

मन्त्रालयका इञ्जिनियर श्रेष्ठले सो प्रणालीमा आजसम्म एक हजार २२६ मेनपावर कम्पनी, २३४ स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था, १५९ अभिमुखीकरण संस्था, १४ बीमा कम्पनी (६५ शाखा) र छ वटा वाणिज्य बैंक (३३२ शाखा) आबद्ध भइसकेकाे जानकारी दिए। 

त्यस्तै वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकस्थित नेपाली दूतावास पनि प्रणालीमा आबद्ध भइसकेको उनले बताए। कतार, साउदी अरब, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), र ओमनमा रहेका नेपाली दूतावासले आजैदेखि अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गर्न शुरु गरिसकेका छन् ।

Published on: 1 October 2018 | Setopati

Back to list

;