s

वैदेशिक रोजगारबारे एनआरएनद्वारा श्वेतपत्र जारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ३२ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ सुुरु भएयता हालसम्म रोजगारीलगायतका कारणले विभिन्न देशमा अलपत्र परेका २२ हजार नेपालीलाई सहयोग गरेको जनाएको छ । वैदेशिक रोजगारीका क्षेत्रलाई थप मर्यादित बनाउन एनआरएनएले आइतबार वैदेशिक रोजगारसम्बन्धी श्वेतपत्र जारी गर्दै त्यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा एनआरएनएले सो अवधिमा विदेशमा कोरोनाका कारण काम गुमाएर बेखर्ची भएका नेपालीलाई उद्धार गर्ने, होटल क्वारेन्टाइनमा बस्ने व्यवस्था, पीसीआर परीक्षणको व्यवस्थादेखि बेर्खर्चीलाई प्रभावितलाई घर पुग्नेसम्मको व्यवस्था गरेको जानकारी दिइयो ।

सो अवधिमा गन्तव्य देशमै अलपत्र परेका साढे तीन हजारभन्दा बढी नेपालीलाई खाने बस्ने व्यवस्था गरिएको, पाँच सयभन्दा बढीको पीसीआर परीक्षणको व्यवस्था गरिएको, पाँच सयभन्दा बढीलाई टिकट खर्चसहित स्वदेश फिर्तालगायतका सेवा दिन काम गरेको जानकारी दिइयो ।

एनआरएनका उपाध्यक्ष डा. बद्री केसीले वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिवर्तनसहित कैयौँ अवसर र चुनौती समेटेर गैरआवासीय नेपाली सङ्घका तर्फबाट श्वेतपत्र जारी गरिएको जानकारी दिनुभयो । आगामी दिनमा गैरआवासीय नेपाली सङ्घको कार्यलाई अझै सशक्त बनाउँदै स्थानीय संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपाललाई सहयोगको बाटो खोल्ने उद्देश्यसहित श्वेतपत्र तयार गरेको जनाइएको छ ।

श्वेतपत्रमा कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालका लागि आवश्यक सहयोग पु-याउन वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आवश्यक तालिम, कानुनी परामर्श, अलपत्रमा परेकाको घर फिर्ती र कोरोना भाइरसरको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्केकाको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगमा पर्याप्त साउन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकाले नीतिगत सुधारका लागि पनि यो श्वेतपत्र सहयोगी हुने उल्लेख गरिएको छ ।

यस्तै नेपालको वर्तमान आप्रवासन स्थिति गन्तव्य देशमा नेपालीको अवस्था र उनीहरूले भोग्नुपरेका समस्या नेपालमा फर्केका नेपालीको पुनः एकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिकालगायतका विषय पनि श्वेतपत्रमा समेटिएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता डिबी कार्कीले कोभिड–१९ पछि नेपालमा वैदेशिक रोजगारको अवस्था र नेपाली आप्रवासी श्रमिकले सामना गर्नुपर्ने समस्या र चुनौतीको पहिचान गरेर त्यसको समाधानका लागि सरकार र सरोकारवालालाई सचेत गराउनुका सााथै नेपाल आप्रवासी श्रमिकलाई सहयोग प्रदान गर्नसक्ने क्षेत्रको पहिचान गर्नु पनि श्वेतपत्रको उद्देश्य रहेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपालीको अभिभावकत्वको जिम्मेवारी सरकारको भए पनि कोभिडका बेलामा अप्ठ्यारोमा परेका नेपाली उद्धारमा एनआरएनएको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कोभिड–१९ को महामारीपछि गैरआवासीय नेपाली सङ्घ विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा विश्वका विभिन्न ६६ मुलुकबाट करिब दुुई लाख नेपालीको उद्धार गरिएको सरकारी तथ्याङ्क छ ।

Published on: 16 August 2021 | Gorkhapatra

Link

Back to list

;