s

वैदेशिक रोजगार ठगीमा गृहको चासो, मन्त्री थापाले बोलाए श्रम मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई

गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार दिउँसो मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा भइरहेका बायोमेट्रिक स्वास्थ्य प्रणाली बारे विशेष चासो लिएका थिए । मन्त्री थापालाई विभागका महानिर्देशक आचार्यले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ परीक्षण गर्न २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा त्यसैमध्येको ३७ वटाले गरिरहेको जानकारी गराएका थिए । यस्तो निर्णय कसरी भयो भन्ने बारेमा पनि मन्त्री थापाले कागजात मागेका छन् ।
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ ।  विगतमा प्रहरीले म्यानपावर व्यवसायीहरुका कार्यालयमा छापा मार्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रहरीले क्षेत्राधिकार मिचेर अराजकता मच्चाएको आरोप लगाएको थियो । संघको आलोचना र अडानपछि प्रहरी निस्क्रिय बनेको थियो ।
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज भएको बताएका छन् । मध्यान्ह राष्ट्रिय दैनिकसँग संक्षिप्त प्रतिक्रिया दिँदै महानिर्देशक आचार्यले भने– ‘विभागले काम गरिरहेकै हो यसमा स्वयं गृहमन्त्रीज्यूबाट विशेष चासो भएपछि कारबाही प्रक्रियालाई अघि बढाउन झन सहज हुने हामीले महशुस गरेका छौं ।
 
किनभने वैदेशिक रोजगारसँग जोडिएका व्यक्तिगत र संस्थागत ठगी नियन्त्रणमा प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ । साथै कतिपय विषयहरुमा गृहमन्त्रालयले पनि हस्तक्षेप गर्नुपर्ने हुन्छ ।’ यसैबीच श्रम तथा रोजगार मन्त्रालयमासहसचिव ज्ञवाली सोमबारदेखि नै निमित्त सचिव भएका हुन् ।
 
Published on: 13 March 2018 | Madhyanha

Back to list

;