s

वैदेशिक रोजगार ठगीमा दोषी ठहर भएकासहित दुईजना फरार प्रतिवादी पक्राउ

विराटनगर : वैदेशिक रोजगार ठगीमा दोषी ठहर भएका अभियुक्तसहित दुईजना फरार प्रतिवादीलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ । संखुवासभा घर भइ फरार रहेकामध्ये एकजना ललितपुर र अर्का एक जना काठमाडौंबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका–२ घर भइ ललितपुर महानगरपालिका–२६ सुनाकोटीमा बस्दै आएका ५८ वर्षीय बद्रीकुमार राई र संखुवासभाकै मादी नगरपालिका–४ घर भइ काठमाडौं बस्दै आएका २० वर्षीय अशेष भनिने असिम सुवेदी रहेका छन् । प्रहरीका अनुसार राई वैदेशिक रोजगार ठगी र सुवेदी आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी हुन् ।

राईलाई ललितपुरको प्रहरी बृत सातदोबाटोसँग समन्वय गरेर यही माघ ७ गते साँझ ललितपुर–१४ चापागाउँबाट पक्राउ गरिएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार राई वैदेशिक रोजगार ठगी मुद्दामा दोषी ठहर भएका अभियुक्त हुन् । राईलाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७३ साल चैत १ गते २ वर्ष ९ महिना १० दिन कैद र ३ लाख रूपैयाँ जरिवानाको फैसला गरेको प्रहरीको भनाइ छ।

रोजगारीका लागि विदेश पठाइदिने भनी रकम ठगी गरेर राई लामो समयदेखि फरार रहेको डीएसपी श्रेष्ठको भनाइ छ । वैदेशिक रोजगार न्यायाधिकरणबाट दोषी ठहर भएपनि उनी कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेका थिए । जिल्ला अदालत चैनपुर संखुवासभाको लगत अभिलेख अनुसार फरार देखिएका राईलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा बुझाइएको जानकारी श्रेष्ठले दिए ।

त्यस्तै, आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी सुवेदीलाई काठमाडौं महानगरपालिका–२८ बागबजगारबाट पक्राउ गरिएको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार सुवेदीलाई प्रहरी बृत सिंहदरबारको समन्वयमा माघ ७ गते बिहान पक्राउ गरिएको हो । गत मंसिर २६ गते एक युवतीले आत्महत्या गरेकी थिइन् ।

युवतीले आत्महत्या गरेपछि फरार बनेका सुवेदीविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरी परेको थियो । काठमाडौंबाट पक्राउ गरिएका उनलाई संखुवासभा ल्याएर आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा चलाउन अदालतबाट सोमबार म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार सुवेदीलाई इलाका प्रहरी कार्यालय चैनपुरको हिरासतमा राखेर घटनाको अनुसन्धान अघि बढाइएको छ ।

Published on: 24 January 2024 | Annapurna Post

Link

Back to list

;