s

वैदेशिक रोजगार : ताहाचलमा अझै लाइन बस्‍नुपर्ने बाध्यता

तुलसी सुवेदी

वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यता अझै हटेको छैन। कार्यालयमा दुई सातादेखि अनलाइन सेवा सुरु भए पनि सेवाग्राही अझै घण्टौं लाइन लाग्न वाध्य छन्। वैदेशिक रोजगार कार्यालयले भीड घटाउन अनलाइनबाट समय लिन सक्ने व्यवस्था गरेको दुई साता बितिसकेको छ। कार्यालयका निर्देशक सुशीलराज जोशीका अनुसार कामदारको टिकट, अनलाइनबाट पाउने समय र नम्बरको तालमेल नमिलेका कारण ताहाचलमा भीडभाड बढेको हो। 

साउदी अरबमा रोजगारीका लागि पुनः श्रम स्वीकृति लिन आएका दाङका दयाराम केसीले अनलाइनबाट समय लिएको भए पनि हवाई टिकटमा तोकिएको उडान मितिभन्दा तीन दिन ढिलोमात्र समय पाएकाले लाइन लाग्नुपर्ने बाध्यता रहेको बताए। अनलाइन प्रणालीमा टिकटको मिति हेरेर समय मिलाइदिने व्यवस्थासँग कार्यालयले सामञ्जस्यता ल्याउन नसक्दा धेरै सेवाग्राहीले केसीको जस्तै समस्या भोगिरहेका छन्। 
 
सेवाग्राहीले अनलाइन प्रणालीबाट सेवा लिन थाले पनि झण्डै हप्तादिनसम्म पालो नआउँदा कामदार लाइन लाग्न कार्यालयमा जाने गरेका हुन्। ५/६ दिनपछि मात्रै पालो पाउने भएकाले नयाँ, पुनः श्रम स्वीकृति, वैधानिकरणलगायत सबै सेवा लिन सेवाग्राहीको चाप बढेको निर्देशक जोशीले जानकारी दिए। ‘टिकट पहिल्यै भएका तर पालो केही दिनपछि आउने कामदारलाई प्राथमिकताका आधारमा सेवा दिइरहेका छौं’, उनले भने। सेवाग्राहीले अनलाइन प्रणाली सुरु भएदेखि आफ्ना सम्पूर्ण कागजात स्कानिङ गरेर वैदेशिक रोजगार विभागको प्रणालीमा पठाउँछन्।
 
सिस्टममा कागजात पठाएपछि अनलाइनबाटै सेवाग्राहीले समय, मिति र अनलाइन टोकन नम्बर (सिरियल) पाए पनि झण्डै एक हप्तापछि मात्रै पाउँदा हैरानी भएका छन्। ताहाचलले दैनिक एक हजार कामदारलाई सेवा दिइरहेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिकुमार चापागाईले केही दिनपछि यस्तो समस्या समाधान हुने बताए। ‘यो समस्या केही दिनसम्म रहन सक्छ, त्यसपछि पूर्णतया अनलाइनबाट छिटो, छरिटो सेवा पाइन्छ’, उनले भने। कामदार फर्केर आएलगत्तै घरजानुअघि नै श्रम स्वीकृति लिए यस्तो समस्या नहुने उनले बताए। ‘जानु एक/दुई दिनअघि मात्रै कामदर श्रम स्वीकृतिका लागि आउने गरेकाले भीड बढ्ने गरेको छ’, उनले भने। 
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको संयोजनमा गत असोज १५ गतेदेखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो। तर, वैदेशिक रोजगार कार्यालय ताहचालले भने सूचना प्रणाली कार्यान्वयनमा आएको दुई हप्ताअघिमात्रै अनलाइन सेवा सुरु गरेको हो। सूचना प्रणाली अन्र्तगत सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग लागयतका सेवा एकैद्वारबाट पाउँछन्।
 
वैदेशिक रोजगार विभागले छिट्टै सातवटै प्रदेशबाट सेवा दिने तयारी गरेको छ। विभागका महानिर्देशक चापागाईले प्रदेशबाट सेवा दिन तयारी भएसँगै ताहाचलमा कार्यरत एक तिहाई कर्मचारी घटेका छन्। कर्मचारी कम भएका कारण पनि सेवादिन समस्या परेको उनले जानकारी दिए।
 
Published on: 17 December 2018 | Annapurna Post

Back to list

;