s

वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले टोपबहादुरको उद्दार गर्न नसक्ने, यूएईका नेपालीहरू पहल गर्दै

रामप्रसाद ढुंगेल

नेपाल सरकारको आधिकारिक निकाय वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले ब्लडमनी जुटाउन नसकेर यूएई समस्यामा परेका चितवन खैरेनीका टोपबहादुर बिकलाई सहयोग गर्न नसकिने आशयको पत्र नेपाली दूतावास अबुधाबीलाई पठाएको छ ।उक्त पत्र सार्वजनिक भएपछि यूएईको नेपाली समुदायमात्रै नभएर सरोकारवालावीच बोर्डले विदेश जाने हरेक कामदारबाट वैदेशिक रोजगार कल्याणकारी कोषको नाममा विदेश जान श्रम स्वीकृति लिने बेलामा उठाउँदै आएको १५००-२५०० सय (यसभन्दा अगाडि १०००) रुपैयाँको औचित्यमाथि विभिन्न मञ्चबाट प्रश्न उठाउन थालेका छन् ।

 
सामाजिक संजालहरुमा यस बिषयमा खुल्ला बहस शुरु भएको छ । बोर्डमा असिमित रकम जम्मा भएको र अदृश्य रूपमा भ्रस्टाचार भइरहेको धेरैको भनाइ छ ।
 
बोर्डका कर्मचारी, सांसद, नेता तथा मन्त्रीहरुलाई विदेश भ्रमण गर्न र पार्टीका कार्यकर्तालाई बाँडन पैसा हुने तर विदेशमा अलपत्र नेपालीहरुको उद्दार गर्न किन नमिल्ने भनी प्रश्न पीडित पक्षले उठाउन थालेका छन् ।
 
नेपाल पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले बोर्डले नेपाली दूतावास अबुधाबीलाई पठाएको पत्र सार्वजनिक गरिदिएपछि यहाँको नेपाली समुदायमा कल्याणकारी कोषको औचित्यमाथि बहस शुरु भएको छ ।
 
यसैबीच मृत्युदण्डको सजायबाट मुक्ति पाएर यूएईबाट नेपाल फर्किसकेका अनिश खालिङ राई र उनकै नाममा स्थापना भएको ट्रस्टमा रहेको रकम अनिसको जस्तै समस्यामा परेका नेपाली श्रमिकहरुको उद्दारका लागि खर्च गर्नुपर्ने आवाज युएईको नेपाली समुदायमा उठन थालेको छ ।
 
अनिशको उद्दारको लागि यूएईबाट मात्रै २५ हजार दिराम संकलन भएको तत्कालीन लेखा प्रमुख हाल एनआरएन यूएईका महासचिव कृष्ण पौडेलले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
 
अनिशकै सहयोगका लागि विभिन्न देशहरूबाट ३ करोड १७ लाख रुपैया संकलन भएको थियो । उक्त रकम मध्ये २ करोड ३० लाख रुपैयाँ अनिशकै नाममा स्थापना भएको कोषमा रहेको छ । तर, अनिश जस्तै वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले स्थापित यो कोष यूएईमै ब्लडमनी तिर्न नसकेर बिचल्लीमा परेका टोपबहादुर बिक, लोकेस खतिवडा र कृष्णप्रसाद प्रसाईको विषयमा मौनता साधेर बसेको छ ।
 
टोपबहादुरको सहयोगका लागि यूएईका नेपालीले सहयोग गर्ने
 
यसैबीच यूएईमा रहेका नेपालीले आर्थिक संकलन गरेरै भए पनि टोपबहादुर बिकलाई नेपाल फिर्ता पठाउन कम्मर कसेका छन् । यसका लागि एनआरएन यूएईको संयोजकत्वमा यहाँ क्रियाशील सबै सामाजिक संस्थाहरुले सहयोग संकलन अभियान सुरू गरेका हुन् ।
 
यूएईको राजधानी अवुधाबीस्थित नेपाली दुतावासमा मार्च ९ शुक्रबार छलफल गरेर आर्थिक संकलन अभियान सुरू गर्ने निर्णय गरेका हुन् । एनआरएन यूएईको संयोजकत्वमा भएको छलफलले बिकको उद्दारका लागि आर्थिक सहयोग संकलन अभियान चलाउने निर्णय गरेको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
 
उक्त सहयोग संकलन समितिमा युएईका सक्रिय सामाजिक संस्थाहरु नेपाली समाज यूएई, जनसम्पर्क समिति, प्रवासी मंच, जनप्रगतिशील मञ्च, जनजाति महासंघ, चितवन समाज र विश्वकर्मा समाज उप-संयोजक तथा युएईमा रहेका सबै नेपाली संघसस्थालाई पदेन सदस्य तोकीएको छ । समितिले मार्च १६ शुक्रबार सबै सस्थाका प्रमुखहरूसंग दुबईमा छलफल गरी समय सीमा तोकी आर्थिक संकलन गर्ने निर्णय गरेको छ ।
 
चार वर्षअघि कार्यस्थलमा भएको दुर्घटनामा दुई जना थाल्याण्डका नागरिकको मृत्यु भएपछि विश्वकर्मासहित एक पाकिस्तानी नागरिकलाई दोषी ठहर गर्दै अदालतले ब्लडमनी भुक्तानको सजाय सुनाएको थियो ।
 
अदालतको फैसला अनुसार विश्वकर्माले एक लाख दिराम (करिब २९ लाख नेपाली रूपैयाँ) तिर्नु पर्ने हुन्छ । दुर्घटना हुदा टोपबहादुर क्रेन अपरेटरको हेल्परको रूपमा काम गरेका थिए भने क्रेन पाकिस्तानी नागरिकले चलाएका थिए। क्रेनको बकेट खसेर थाईल्याण्डका दुई नागरिकको मृत्यु भएको थियो ।
 
सहयोगको अपील गर्दै पटक-पटक दुतावास धाएका टोपबहादुरको उद्दारका लागी आवश्यक ब्लडमनि सहयोग गर्न नेपाली दुतावास अवुधावीले बैदेशिक रोजगार प्रवर्द्वन बोर्डलाई पत्राचार गरेको थियो ।
 
बोर्डले ब्लडमनी बापतको रकम सहयोग गर्न कानूनी व्यवस्था नरहेको भन्दै सहयोग गर्न नसकिने व्यहोराको जवाफ पठाएको छ । टोपबहादुरको सहयोगका लागि एनआरएन आईसीसीले ब्लडमनीको दश प्रतिशत रकम (करिब २ लाख ८० हजार रुपैयाँ ) सहयोग गर्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।
 
लोकेस र कृष्णप्रसादलाई कसैले सम्झेनन्
 
नेपाली दूतावास परिसरमै आयोजना भएको छ्लफल कार्यक्रममा १ लाख दिराम ब्लडमनी तिर्न नसकि अन्योलमै बस्न बाध्य ताप्लेजुङका लोकेश खतिवडा र उस्तै प्रकृतिको समस्या झेलिरहेका झापाका कृष्णप्रसाद प्रसाईलाई कसैले सम्झेनन ।
 
यी दुबै केस बारे नेपाली दूतावास अबुधाबी अनभिज्ञ पनि छैन । दुबै जना सबैको सहयोगको याचना गरिरहेका छन् । झापाका कृष्णप्रसाद प्रसाईलाईं पनि यहाँको अदालतले पीडित पक्षलाई २ लाख दिराम ब्लडमनी तिरेर जेलमुक्त हुन सक्ने फैसला गरेको छ ।
 
अति निम्न आर्थिक अवस्थाका खतिवडा र प्रसाईंका नेपालमा रहेका श्रीमतीहरुले नेपाली दूतावास अबुधाबी र यूएईमा क्रियाशील जिम्मेवार सामाजिक संस्थाहरुलाई सहयोग गरिदिन अपील गरेका छन् ।
 
अनिसको नाममा उठाइएको रकमको खोजी शुरु
 
यूएईको जेलमा रहदा मत्सपोखरी संखुवासभाका अनिस खालिङ राईको उद्दारका लागि विश्व भरिबाट संकलन भएको करिब तीन करोड १७ लाख रुपैयाँको खोजी शुरु भएको छ ।
 
अनिस खालिङ ट्रस्टको नाममा रहेको करोडौं रकम अनिसका काका मूल समितिका तत्कालीन अध्यक्ष नारद राई र अनिसको श्रीमतीको नाममा ग्लोबल आईएमई बैंकको चावहिल शाखामा रहेको र उक्त रकम ब्लडमनी तिर्न नसकी यूएईमै बिचल्लीमा परेका खतिवडा र प्रसाईंहरुको लागि प्रयोग गर्नुपर्ने जोडदार माग यूएईका सामाजिक अभियन्ताहरुले उठाउन थालेका छन् ।
 
अनिसकै उद्दारका लागि यूएई पठाइएको र उक्त रकम तिर्न नपरेपछि नेपालको परराष्ट्र मन्त्रालयमै फिर्ता भएको करिब ८० लाख रुपैयाँको पनि यूएईका सामाजिक अभियन्ता कृश घिमिरेले माग गरेका छन् ।
 
Published on: 11 March 2018 | Onlinekhabar

Back to list

;