s

वैदेशिक रोजगार : पीडित परिवारलाई आर्थिक सहयोग

कमल न्यौपाने 

वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका पीडितका परिवार र अंगभंग हुनेलाई सरकारले हालसम्म एक अर्ब ३७ करोड रूपैयाँ राहत रकम उपलब्ध गराएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यस आर्थिक वर्षमा पीडित परिवार र अंगभंग भएका पाँच सय ८१ जनालाई राहात स्वरूप ३० करोड ९० लाख ५० हजार रुपैयाँ सहायता उपलब्ध गराएको छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार फागुन मसान्तसम्म पाँच सय ८१ ले आर्थिक सहायता पाइसकेका छन् । जसमा पाँच सय ६७ पुरुष र १४ महिला छन् । साउनयता मात्रै वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय ४५ को अंगभंग भएका छन् । बोर्डले उनीहरूका लागि चार करोड सात लाख १९ हजार एक सय ४० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।
 
अहिलेसम्म बोर्डले यो शीर्षकमा १२ करोड तीन लाख सात सय ५२ रुपैयाँ सहायताबापत रकम उपलब्ध गराएको बोर्डका कार्यकारी निर्देशक काफ्लेले बताए । उनका अनुसार अहिलेसम्म बोर्डमा अंगभंग भएको भनि एक हजार ६२ वटा निवेदन परेका छन् ।
 
सरकारले चालू आर्थिक वर्षका लागि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेका परिवारलाई ७० करोड र अंगभंग हुनेलाई १५ करोड आर्थिक सहायता उपलब्ध गराउने भनि ८५ करोड रकम विनियोजन गरेको थियो ।
 
विनियोजित रकमबाट बिहीबारसम्म ३१ करोड रकम वितरण भइसकेको छ । अब बोर्डसँग ५४ करोड रुपैयाँ बाँकी रहेको बोर्डका कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए ।
 
यसरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये झन्डै १२ सयले ज्यान गुमाउने गरेको बोर्डले बताएको छ । श्रम स्वीकृति फेल भएपछि मृत्यु हुने कामदारको तथ्यांक बोर्डसँग नभएको उनले उल्लेख गरे ।
 
श्रम स्वीकृति बाँकी रहेका कामदारले ज्यान गुमाएमा पीडित परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट आर्थिक सहायता पाउने गरेका छन् । उनीहरूले विदेश जानुपूर्व कल्याणकारी कोषमा एक हजार रुपैयाँ जम्मा गर्ने गरेका हुन्छन् ।
 
प्रवद्र्धन बोर्डसँग २०६५ साल कात्तिक १८ गतेभन्दा अगाडिको तथ्यांक नभएको नासु दीलिप खड्काले बताए । उनका अनुसार बोर्डको स्थापना भएदेखि बिहीबारसम्म बोर्डमा निवेदन दिएकामध्ये अधिकांशले आर्थिक सहायता पाएका छन् ।
 
केहीले आर्थिक सहायताका लागि निवेदन दिए पनि आवश्यक प्रक्रिया पूरा नगरेकाले आर्थिक सहायता पाउन नसकेको उनले बताए । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ ‘घ’ मा उल्लेख भए अनुसार र वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम वैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारका परिवारलाई प्रक्रिया पूरा भएको अवस्थामा सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।
 
यसका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई गएको, करार अवधिभित्र मृत्यु भएको, मृत्यु भएको प्रमाणित भएको एक वर्षभित्र मृतक कामदारको हकवालाले बोर्डको सचिवालयमा निवेदन पेस गरेको हुनुपर्ने प्रावधान छ ।
 
आत्महत्या गर्नेमा मलेसिया गएका नेपाली कामदार बढी छन् । धेरै कमाउने सोचका साथ बिदेसिएका नेपाली मजदुरमध्ये कतिपयले राम्रो तलब नभएका कारण पनि आत्महत्या गर्ने गरेको बोर्डले जानकारी दिएको छ । कतिपयले राम्रै पैसा कमाए पनि कुनै किसिमले त्यो रकम जतन हुन नसक्दा पनि आत्महत्या गर्ने गरेको पाइएको छ । तर, नेपालीले विदेशमा किन आत्महत्या गर्छन् यसबारे अनुसन्धान गर्न जरुरी रहेको नासु खड्काले बताए ।
 
कामका लागि बिदेसिएका युवाले विदेशी भूमिमै आत्महत्या गर्ने क्रम पछिल्लो समय बढेको छ । पैसा कमाउने महत्वाकांक्षा बोकेर बिदेसिनेहरूले विदेशी भूमिमा दुःख पाएपछि आत्महत्या गर्ने गरेको भेटिएको छ । खड्काका अनुसार परिवारले पनि नभन्ने हुँदा सबैको कारण खुल्न सक्दैन ।
 
बिदेसिएका युवाको पारिवारिक बिग्रहका कारण पनि विदेशमा आत्महत्या हुने दर बढेको जानकारहरू बताउँछन् । काममा सन्तुष्टि नमिलेपछि मानसिक रूपमा कमजोर हुनेहरू डिप्रेसनमा जाने र आत्महत्याको बाटो रोज्ने गरेको पाइएको उनको भनाइ छ ।
 
Published on: 31 March 2018 | Annapurna Post

Back to list

;