s

वैदेशिक रोजगार: परिबन्दमा निर्दोष

सन्त गाहा मगर

नेपाल विश्व सहयोग संघ (नेविससं) ले ११ वैशाखमा प्रधानमन्त्री सुशील कोइराला र १२ वैशाखमा परराष्ट्र मन्त्री महेन्द्र पाण्डेलाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै दुबईमा मृत्युदण्डको सजाय सुनाइएका अमरबहादुर बम (३४) को जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गर्‍यो। नेविससंका ग्लोबल अध्यक्ष मणि नेपाली पनेरु सरकारले समयमै कूटनीतिक पहल गर्न सके बमलाई सकुशल नेपाल फिर्ता ल्याउन सकिने विश्वास व्यक्त गर्छन्। धारी–५, दार्चुलाका बम दुबईको अल अविरस्थित केन्द्रीय कारागारमा मृत्युको दिन पर्खिंदै छन्।

बमलाई भारतीय नागरिक शरद सेट्ठीको हत्या अभियोगमा सन् २००३ मा दुबईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। सेट्ठी हत्या प्रकरणमा भारतीय नागरिक मनोज मुदाना, करण सिंह राजपूत र स्मद कुलतलाई पनि मृत्युदण्डको सजाय तोकिएको छ। ‘अमर बचाऊ अभियान’ मा लागेकाहरूका अनुसार बम निर्दोष छन्। नेपाली समाज, युएईका पूर्व केन्द्रीय संवाद सचिव दामोदर नेपाल उनी निर्दोष भएकैले बचाउन लागिपरेको बताउँछन्। उनका अनुसार बम हत्यारा नभई परिबन्दमा परेका हुन्। त्यही घटनामा दोषी ठहर भएका भारतीय अभियुक्तहरूले पनि बम निर्दोष रहेको बयान दिएका थिए, तर अदालतले सफाइ दिएन।

हत्यामा दोषी देखिएका भारतीयहरूले इन्डियन क्लब जाउँ भनेपछि बमले गाडी हाँकेर उनीहरूलाई पुर्‍याएका थिए। क्लब बाहिर गाडी रुँगेर बसेका उनलाई घटनाबारे कुनै जानकारी थिएन। क्लबबाट हतार–हतार बाहिरिएका भारतीयहरूले उनलाई कोठामा पुगेपछि मान्छे मारेको बताएका थिए।

 किन फस्छन् नेपाली

विवाह लगत्तै रोजगारीका लागि दार्चुलाबाट भारत गएका बम दुबई पुगेको जम्मा १० दिनमा सेट्ठीको हत्या भएको थियो । नेविससंका नेपाल च्याप्टर अध्यक्ष दयाराम पाण्डे स्थानीय र अंग्रेजी दुवै भाषामा दोहोरो संवाद गर्न नसक्दा बम कानूनको फन्दामा परेको बताउँछन् । पाण्डे भन्छन्, “उनले सोधिएको प्रश्न र बयान पत्रमा के लेखिएको छ भन्ने नबुझी नै ल्याप्चे लगाएकोले कानूनको नजरमा दोषी ठहरिएका रहेछन् ।”

समाजशास्त्री डम्बर चेम्जोङ रोजगारीका लागि विदेशिएका धेरै नेपाली त्यहाँको भाषा, संस्कृति, रहनसहन नजान्दा अनाहकमा समस्यामा पर्ने गरेको बताउँछन्। बाटो काट्ने तरिकादेखि के गर्दा कानून उल्लंघन हुन्छ भन्ने थाहा नपाउँदा धेरै नेपालीको जीवन बर्बाद भएको उनले बताए। हुन पनि, दैनिक दुई हजारको दरले विदेशिएका नेपालीमध्ये अधिकांश अदक्ष कामदार छन् । त्यसमध्ये कम शिक्षित र काठमाडौं नै पहिलो पटक टेकेकाहरूको संख्या ठूलो छ।

आपतमा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले अमेरिकाको क्यालिफोर्नियामा दर्ता भएर विश्वव्यायी सञ्जाल बनाएको नेविससंले युएईमै मृत्युदण्डको सजाय सुनाइएका संखुवासभा मत्स्यपोखरीका अनिश खालिङको जीवन बचाउन पनि निकै दौडधुप गर्‍यो। नेपाली समाज, युएईका पूर्व केन्द्रीय संवाद सचिव दामोदर नेपाल खालिङलाई स्वदेश फर्काउने प्रक्रियागत काम मात्रै बाँकी रहेको बताउँछन्।

खालिङको परिबन्द बमको भन्दा केही फरक छ। उनीमाथि एक जना पाकिस्तानी कामदारको हत्या गरेको अभियोग छ। खासमा उनले ‘पुरुषबाट पुरुषमाथि हुने यौन अत्याचार’ बाट बच्न खोज्दा मृत्युदण्डको सजाय पाएका हुन्।

 अपनाउनै पर्ने सतर्कता

नुवाकोट, बर्खुन्चेत–१ का हरिबहादुर घलेलाई मलेशियाको एउटा उच्च अदालतले २००३ मा मृत्युदण्डको सजाय सुनायो। झोलामा लागूऔषध फेला पारेपछि प्रहरीले उनलाई क्वालालम्पुरको होटलबाट पक्राउ गरेको थियो। नेपाल एसोसिएसन फर ग्लोबल च्याप्टरका अध्यक्ष प्रभाखर पराजुलीले आफ्नो झोलामा अरू नै कसैले लागूऔषध राखिदिएको बताउन नसक्दा घले कानूनी फन्दामा परेका हुन्। सतर्कता अपनाउन र भाषिक कमजोरीका कारण आफ्नो कुरा भन्न नसक्दा घले दोषी सावित भएको पराजुली बताउँछन्।

विश्वका धेरै देशमा लागूऔषध नियन्त्रणको क्रममा पुरस्कृत हुने भएकाले हातमा आएकाहरू निर्दोष भएको अनुमान भए पनि प्रहरीले पक्रेर मुद्दा चलाउने गरेको देखिन्छ। दोषी भएर वा नभएर पनि विदेशमा मृत्युदण्डको सजाय पाएका नेपालीलाई सरकारले दूतावास मार्फत पहल गर्दा सजाय माफी भएको उदाहरण पनि छ। फिलीपिनी महिलाको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्मा शेर्पा सरकारी पहलकै परिणामस्वरुप मृतकका परिवारलाई ‘ब्लड मनी’ तिरेर नेपाल आउन सकिन्। अनिश खालिङको मुद्दामा पनि मृतकको परिवार ‘ब्लड मनी’ लिन तयार भएको नेविससंका नेपाल अध्यक्ष पाण्डेले बताए।

पाण्डेका अनुसार शरद सेट्ठीका परिवारले भने ‘ब्लडी मनी’ लिन अस्वीकार गरेकोले उनलाई बचाउने एक मात्र उपाय रहेको छ– आममाफी, जुन दुबईको विशेष चाडपर्व वा अन्य ठूला अवसरमा त्यहाँको सरकारले दिन्छ। “यसका लागि नेपालले दुबई सरकारसँग अनौपचारिक पहल गर्नुपर्छ”, नेविससंका अध्यक्ष पनेरु भन्छन्।

 ओरियन्टेशन नलिनु अभिशाप

नेपालीको स्वभाव नै ‘अतिथि देवो भवः’ भन्ने खालको हुन्छ। हाम्रो शिक्षा पनि व्यावहारिक भन्दा आदर्शवादी छ। विभिन्न देशबाट जम्मा भएर सँगै काम गर्नेहरू सबैमा ‘अरूलाई दुःख नदिउँ’ भन्ने स्वभाव हुँदैन। अनिश खालिङ राईकै सन्दर्भमा पनि उनीमाथि जानाजान ज्यादती गरिएको थियो। अतिको अवस्थामा उनले प्रतिकार गरेको देखिन्छ।

वैदेशिक रोजगारमा जानुअघि अनिवार्य रूपमा ‘ओरियन्टेशन’ लिनुपर्ने प्रावधान छ, तर ९९ प्रतिशत नेपाली त्यो नलिई विदेश पुगिरहेका छन्। केही सय रुपैयाँ दिएपछि ओरियन्टेशन क्लासमा सहभागी भएको प्रमाणपत्र घरमै आइपुग्छ। यसरी जानेहरूलाई समस्या पर्दा कुन ठाउँमा गुहार माग्ने भन्ने थाहा हुँदैन। सानो हेलचेक्र्याइँले अकल्पनीय नोक्सानी पुर्‍याइरहेको छ।

सम्झौता अनुसारको तलब नपाउने, परिवारसँग टाढिएर बस्दाको पीडा, मौसमी प्रतिकूलता, कामको चाप आदिले पनि उनीहरूमाथि ठूलो मानसिक दबाब परिरहेको हुन्छ। यस्तो वेलामा मान्छेले गल्ती गर्ने सम्भावना पनि बढ्छ। तर योभन्दा ठूलो समस्या अज्ञानता नै हो। भाषिक, सांस्कृतिक, कानूनी ज्ञानको अभावमा दोषी ठहरिएका कैयौं उदाहरण छन् । जस्तो, अमरबहादुर बमले पनि अन्जानमा हत्याराहरूको गाडी चलाएका थिए।

Published on: 8 May 2014 | Himal Khabarpatrika

Back to list

;