s

वैदेशिक रोजगार कल्याणकारी कोषमा तीन अर्ब थन्कियो

-नवराज ढकाल
 
उत्पादनमूलक काममा लगानी गर्न नसकिएको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम बैंकको ब्याजदरसमेत घटेपछि आम्दानी स्थिरजस्तै बन्न पुगेको छ । 
 
कल्याणकारी कोषमा तीन अर्ब २० करोड रुपैयाँ त्यसै थन्किएको छ । वर्षौंदेखि उत्पादनमूलक कार्यमा खर्च गर्ने भनिए पनि उपयुक्त कार्यक्रम, योजना र कार्यान्वयन क्षमता अभावमा यति ठूलो रकम बैंकमा थन्किएको हो । 
 
विगतमा औसतमा सात प्रतिशत हाराहारीमा ब्याज पाइने भए पनि एक वर्षयता बैंकमा तरलता ह्वात्तै बढेपछि ब्याजदर न्यून विन्दुमा ओर्लिएको छ ।
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार हाल बैंकले औसतमा तीनदेखि चार प्रतिशतमात्र ब्याज दिने गरेको छ । एक वर्षे मुद्दति खातामा रकम जम्मा गरिएको भए पनि बैंकमा अधिक तरलता भएकाले मुद्दतिमा पनि ब्याजदर चार प्रतिशतभन्दा तल झरेको छ । संस्थागत निक्षेपमा ब्याज आम्दानीको पनि १५ प्रतिशत कर तिर्नुपर्छ । 
 
यस आधारमा कामदारको गोजीबाट जम्मा गरिएको अर्बौ रुपैयाँ रकम उपयोगविहीन भएको देखिन्छ । कतिपय बैंकले मुद्दति खातामा निक्षेप लिन नै छाडेका छन् ।
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बैंकमा निक्षेप ह्वात्तै बढ्दा कोषले निक्षेपमार्फत पाउने आम्दानी पनि घटेको बताए । ‘अहिले औसतमा चार प्रतिशत ब्याज पाइएको छ । यो रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपमा राखिएको छ’, उनले भने । 
 
कामदार र उनीहरूको परिवारको प्रवद्र्धनात्मक काममा कोषको रकम खर्च भए पनि उत्पादनमूलक कार्यमा खर्च गर्न नसकिको उनले स्वीकार गरे । उत्पादनका क्षेत्रमा खर्च गर्ने कार्यक्रम तथा स्पष्ट नीति अभावमा अत्यन्त न्यून आम्दानी भए पनि ठूलो रकम बैंकमा थन्क्याउनु परेको हो ।
 
बोर्डले कोषको रकम विभिन्न २० वटा वाणिज्य बैंकमा मुद्दति निक्षेपमा जम्मा गरेको छ । सबैभन्दा बढी सिभिल बैंकमा २५ करोड रुपैयाँ निक्षेप छ । यसैगरी, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, जनता, लुम्बिनी, एनसीसीलगायतका बैंकमा २० करोड रुपैयाँका दरले निक्षेप जम्मा गरिएको छ । 
 
सरकारले कोषको रकम खर्च गर्न श्रम बैंक स्थापना गर्ने भने पनि अहिलेसम्म यससम्बन्धी प्रक्रिया अघि बढेको छैन । श्रम बैंकमार्फत कामदारको रकम परिचालन गर्ने, ऋण दिने तथा लगानीका कार्यक्रम अघि बढाउने भनेर तीन वर्षअघि सरकारले बजेट भाषणमार्फत घोषणा गरेको थियो । यो काम अहिलेसम्म भाषणमै सीमित भएको छ ।
 
कोषका लेखा अधिकृत सुशीलकुमार ढकालका अनुसार विगतमा औसतमा सात प्रतिशत ब्याज पाइने गरेको भए पनि यतिबेला बैंकमा अधिक तरलताका कारण संस्थागत निक्षेप पनि घटेको हो । कल्याणकारी कोष वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत सञ्चालित छ । 
 
कामदारको हकहित प्रवद्र्धन गर्न वैदेशिक रोजगारीमा जाने प्रत्येक व्यक्तिसँग एक हजार रुपैयाँ लिएर कोष सञ्चालनमा ल्याइएको हो । 
 
कोषकै रकम विदेशमा कामका क्रममा मृत्यु भएका कामदारको लास झिकाउन, उनीहरूका परिवारलाई क्षतिपूर्ति दिन, घाइते कामदारलाई क्षतिपूर्ति दिन, कामदारका परिवारलाई शिक्षादिक्षा, आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्न खर्च गर्ने व्यवस्था छ । 
 
तर, अहिलेसम्म यो रकम मुख्यरूपमा मरेका वा अंगभंग भएका कामदार तथा उनीहरूको परिवारलाई क्षतिपूर्ति दिनमा मात्रै खर्च भएको छ । शिक्षामूलक र आयआर्जनका काम अत्यन्त न्यूनमात्र भएको छ ।
 
सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ । यसैगरी, अंगभंग भएकाले पनि अवस्था अनुसार अधिकतम तीन लाख रुपैयाँ नै क्षतिपूर्ति पाउँछन् । यो रकम कोषबाटै खर्च गरिन्छ । 
 
हाल वैदेशिक रोजगारीमा ४० लाख नेपाली छन् । दैनिक औसतमा १५ सय जना नेपाली कामदार विदेसिन्छ । प्रत्येकको एक हजारका दरले जम्मा गरिएको रकम कोषमा जम्मा हुन्छ । 
 
Published on: 27 January 2016 | Annapurna Post

Back to list

;