s

वैदेशिक रोजगार : एक प्रतिशत मात्रै दक्ष कामदार

कमल न्यौपाने

वैदेशिक रोजगारीका लागि बिदेसिएका नेपाली युवामध्ये एक प्रतिशत मात्रै दक्ष कामदार छन्। नेपालबाट दैनिक दुई हजारदेखि २२ सयसम्म युवा रोजगारीका लागि विदेश गइरहेका छन्।

यसरी विदेश जाने युवामा काममा कुनै दक्षता नभएको र सामान्य लेखपढ गरेका नेपाली युवाको हिस्सा बढी छ। तर, रोजगारीका लागि दक्षिण कोरिया जाने युवा भने ९९ प्रतिशत नै शिक्षित छन्।

७४ प्रतिशत अदक्ष, २५ प्रतिशत अर्धदक्ष र एक प्रतिशत दक्ष व्यावसायिक कामदार रहेको सामाजिक सुरक्षा मन्त्रालयकी रोजगार समन्वय शाखा प्रमुख रमा भट्टराईले जानकारी दिइन्।

रोजगारीका लागि विदेश जानेमध्ये सबैभन्दा बढी काममा दक्षता नभएका युवा मलेसिया र खाडी राष्ट्र पुगेका छन्। नेपाली कामदारका लागि प्रमुख रोजगारीको गन्तव्य मानिने देश मलेसिया, साउदी अरब, कतार, दुबई, ओमन, बराइन तथा कुवेत जाने कामदारमध्ये ९० प्रतिशतभन्दा बढी कामदार कुनै सीप नसिकी रोजगारीमा जाने गरेको उनी बताउँछिन्।

उनका अनुसार रोजगारीका लागि सामान्य प्रकृतिको दक्षता आवश्यक पर्ने पेन्टर, सिकर्मी, वेटर, ड्राइभरजस्ता क्षेत्रमा समेत ठूलै संख्यामा नेपाली कामदार विदेश जाने गरेका छन्। रोजगारीमा गएका कामदारमध्ये ड्राइभरको रूपमा जाने ९ दशमलव ५ प्रतिशत, पेन्टर÷सिकर्मी ६ दशमलव ४ प्रतिशत, सेल्समेन दशमलव ८ प्रतिशत तथा वेटर÷कुक ४ दशमलव ९ प्रतिशतले सामान्य तालिम लिएको उनले जानकारी दिइन्। तर, उनीहरू शत्प्रतिशत दक्ष कामदार मानिदैनन्। उनले भनिन्, ‘यसरी हेर्दा १० प्रतिशत कामदार अर्धदक्ष छन्।’

क्षेत्रगत रूपमा दक्ष, अर्धदक्ष र अदक्ष कामदारको एकीन विवरण अहिले मन्त्रालयसँग नभएका कारण यसअघिको तेस्रो जीवनस्तर सर्वेक्षणकै तथ्यांकलाई मन्त्रालयले आधिकारिक तथ्यांकका रूपमा लिएको उनले जानकारी दिइन्।

उनका अनुसार सुपरभाइजर, प्राविधिक/मेकानिक्स तथा टेबल वर्कजस्ता कामका लागि विदेश जानेको संख्यामा खासै प्रगति हुन नसक्दा दक्ष कामदार अभाव देखिएको हो। यो क्षेत्रमा विदेश जाने कामदार भने केही दक्षता हासिल गरेका छन्।

रोजगारीमा गएका मध्ये १० दशमलव १ प्रतिशत प्राविधिक तथा मेकानिक्सको रूपमा, ४ दशमलव १ प्रतिशत सुपरभाइजर तथा ३ दशमलव २ प्रतिशत टेबल वर्कका रूपमा रहेको सर्वेक्षणले देखाएको छ।

कोरिया, इजरायल, अमेरिका, जापानलगायत देशमा गएकामध्ये ५० प्रतिशतले विभिन्न क्षेत्रमा सामान्य तालिम लिएका छन्। उनका अनुसार यी कामदार पनि पूर्ण दक्षमा पर्दैनन्।

व्यावसायिक सीप तथा तालिम लिने प्रवृत्तिमा खासै प्रगति हुन नसक्नाले वैदेशिक रोजगारीमा अदक्ष कामदारको संख्या बढी देखिएको उनको भनाइ छ।

Published on: 22 April 2018 | Annapurna Post

Back to list

;