s

वैदेशिक रोजगार : दुर्घटना रोक्न नयाँ उपाय

तुलसी सुवेदी

काठमाडौं :  वैदेशिक रोजगारीमा सडक दुर्घटना रोक्न सरकारले नयाँ उपाय निकालेको छ। गन्तव्य मुलुकमा ट्राफिकको सामान्य नियम नबुझ्दा कामदारको अकालमै निधन हुने क्रम बढेपछि दुर्घटना रोक्न सरकारले उपाय निकालेको हो। 

वैदेशिक रोजागार बोर्डले सडक दुर्घटना न्यूनीकरण गर्न अभिमुखीकरण तालिममा कडाइ गरेको छ। पूर्वप्रस्थान तालिम पाठ्यक्रम परिमार्जन गरी बोर्डले ट्राफिक सचेतनालाई पहिलो प्राथमिकतामा राखेको छ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नयाँ पाठ्यक्रमअनुसार श्रमिकलाई प्रशिक्षण दिइने बताए। ‘सुरक्षा कवच पहिर्‍याएर श्रमिकलाई विदेश पठाउन सकियो भने धेरै सुरक्षित हुन्छन्’, उनले भने। पछिल्लो एक दशकमा करिब १० हजार जनाको ज्यान गएको छ। वैदेशिक रोजगारीका क्रममा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई, तीन जनाको शव आउने गरेको छ। कतिपय उतै दाहसंस्कार गर्ने चलन पनि छ। बोर्डले अभिमुखीकरण प्रभावकारी नहुँदा वैदेशिक रोजगारीमा निधन हुने क्रम बढेको भन्दै पाठ्यक्रम परिमार्जन गरेको जनाएको छ।

नयाँ पाठ्यक्रमबारे बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ। अभिमुखीकरण प्रशिक्षकले नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुन, काम गर्न जाने मुलुकको श्रम, अध्यागमन र ट्राफिक नियमको जानकारी, गन्तव्य मुलुकको भौगोलिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक भाषिक, धार्मिक पक्षलगायत जानकारी र त्यस अनुरूप अपनाउनुपर्ने आचरण र रहनसहनबारे सिकाउनुपर्छ।

विदेश जाने कामदारलाई कार्यस्थलमा अपनाउनुपर्ने सावधान तथा हुन सक्ने दुर्घटना, स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाबारे अनिवार्य जानकारी गराउनुपर्छ। तालिम सञ्चालन गर्दा कम्तीमा ६० प्रतिशत श्रमदृश्य सामग्रीको प्रयोग गर्नुपर्नेछ। अभिमुखीकरण प्रभावकारी नहुँदा धेरै कामदारले सास्ती पाइरहेका छन्।

प्रमाणपत्र किनेरसमेत कामदारलाई पठाइने गरेको आरोप अभिमुखीकरण व्यवसायीलाई लाग्दै आएको थियो। व्यवसायीले सात सय रुपैयाँमा प्रमाणपत्र दिने र नपढाउने गरेपछि बोर्डले अभिमुखीकरणमा कडाइ गरेको उपसचिव दिनबन्धु सुवेदीले बताए। ‘अब बोर्डले जतिबेला पनि अभिमुखीकरण कक्षाको नियमन गर्नेछ’, उनले भने।  अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु हुने गरेको छ।

Published on: 8 March 2021 | Annapurna Post

Link

Back to list

;