s

वैदेशिक रोजगार छाडेर भैँसीगोठमा रमाउँदै

बेनी समाचारदाता 

बेनी (म्याग्दी), साउन २८ गते । “बिहान ४ बजेदेखि साँझसम्म भैँसीगोठमै हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पु¥याएपछि बल्ल मलाई आराम मिल्छ । १० वर्ष अरबको खाडीमा बसेँ, मनमा शान्ति भएन । गाउँ फर्किएर भैँसी पाल्न थालेँ । अहिले मासिक एक लाखदेखि डेढ लाखसम्म बचाउँछु,” बेनी नगरपालिका–७, कुरिलाखर्कका युवा सुरेश ढुङ्गाना भन्नुहुन्छ ।

३७ वर्षीय ढुङ्गाना जिल्लामै नमुना कृषकका रूपमा परिचित हुनुहुन्छ । आठ वर्षअघि ढुङ्गाना कृषि तथा पशुपन्छी फार्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुङ्गानाको फार्ममा यतिखेर २१ मुर्रा जातका र दुईवटा जर्सी गाई दुहुना छन् । दुईवटा भैँसीबाट सुरु गरेको व्यवसायमा अहिले ५० लाख रुपियाँ लगानी भइसकेको छ । भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।

“मलाई अमेरिका यही, मलाई जापान पनि यही भनेजस्तै भएको छ,” युवा कृषक ढुङ्गानाले भन्नुभयो, “१० वर्ष अरबको खाडीमा बित्यो, स्वदेश फर्किएपछि साथीहरूले अमेरिका जाऊ भनेका थिए । मलाई मन लागेन, यतै भैँसीपालन व्यवसाय सुरु गरेँध्र” लाखौँ रकम खर्चिएर विदेश जानुभन्दा गाउँघरमै पशुपालन व्यवसाय गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण ढुङ्गानाले दिनुभएको छ ।

मासिक करिब पाँच लाख रुपियाँभन्दा बढीको दूध बिक्री गर्ने उहाँले बताउनुभयो । घाँस, दाना र अन्य खर्च कटाएर मासिक डेढ लाख रुपियाँ आम्दानी हुने ढुङ्गानाले सुनाउनुभयो । बेनी बजारमा प्रतिलिटर ९० रुपियाँमा सहजै दूध बिक्री हुने उहाँले बताउनुभयो ।

बिहान र बेलुका गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा ढुङ्गानाले दूध पु¥याउनुहुन्छ । “राम्रो दूध दिनसके बजारको अभाव छैन । पानी नमिसाएको खाटी दूध नै बिक्री गर्दछु,” ढुङ्गानाले भन्नुभयो ।

पशुपालन व्यवसायमा परिश्रम गर्नसके राम्रो आम्दानी लिन सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । विदेशमा आर्जन गरेको पुँजी र सीपलाई स्वदेशमा लगानी गर्नसके राम्रो आम्दानी लिन सकिने ढुङ्गानाले उदाहरण प्रस्तुत गर्नुभएको छ । पाँच रोपनी जग्गामा फार्म बनाउनुभएका ढुङ्गानाले भविष्यमा अझै विस्तार गर्ने योजना उहाँको छ । उहाँले फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ ।

ढुङ्गाना भैँसीको स्याहारसुसारदेखि दूध दुहुने काममा आफैँ खटिनुहुन्छ । “अरू विदेशमा गएर भाँडा माझ्छन् । म आफ्नै फार्ममा भैँसी दुहुँदा रमाउँछु, मलाई काम सानो ठूलो लाग्दैन । सुरुसुरुमा दूध बोकेर बजार जाँदा लाज लाग्थ्यो, अहिले गर्व लाग्छ,” ढुङ्गाना भन्नुहुन्छ ।

Published on: 12 August 2021 | Gorkhapatra

Link

Back to list

;