s

वैदेशिक रोजगार बोर्डको निःशुल्क तालिममा प्रदायकको चरम लापरबाही

पछिल्लो समय वैदेशिक रोजगार बोर्डले काठमाडौं उपत्यकामा पाँच सय महिलालाई निःशुल्क 'गार्मेन्ट मेसिन अपरेटर' तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ।

यो तालिममा १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका, वैदेशिक रोजगारीमा जान पासपोर्ट लिएका वा पासपोर्टका लागि आवश्यक राजस्व बुझाइसकेकाहरू सहभागी हुन्छन्। यो तालिम आवासीय सीप विकास तालिम बोर्डको वित्तीय सहयोगमा उपत्यकाका विभिन्न नौवटा तालिम प्रदायकमार्फत् भइरहेको छ।

बोर्डले एक्सन फर डेभलपमेन्ट प्रालि, एलायन्स फर सोसल मोबिलाइजेसन, सिमेका ह्युमन रिसोर्स, एफ स्किल, जिनियस मल्टी टेक्निकल इन्स्टिच्युट, ट्रेडलिंक टेक्निकल ट्रेनिङ इन्स्टिच्युट र युनाइटेड टेक्निकल ट्रेनिङ इन्स्टिच्युटलाई ६०/६० जनालाई निःशुल्क तालिम उपलब्ध गराउन वित्तीय सहयोग गरेको थियो।

त्यस्तै नवरत्न टेक्निकल ट्रेनिङ इन्स्टिच्युट र वर्ल्डलिंक टेक्निकल ट्रेनिङले ४०/४० जनालाई निःशुल्क तालिम दिन वित्तीय सहयोग पाएका थिए।

बोर्डले १६७ घन्टाको यो तालिमका लागि ४० जना बराबर ११ लाख ३२ हजार रूपैयाँ (भ्याटबाहेक) उपलब्ध गराएको जनाएको छ। तालिम सुरू भएको केही दिनपछि बोर्डले सोमबार र मंगलबार नौवटै तालिम प्रदायक संस्थाहरूमा अनुगमन गरेको छ। बोर्डले मंगलबार चारवटा समूह बनाएर अनुगमन गरेको हो।

अनुगमन क्रममा अधिकांश तालिम प्रदायकले आवश्यक शर्तहरू पालना नगरेको पाइएको छ। तालिममा चरम लापरबाही भेटिएको छ।

तालिम दिँदा एउटा कक्षामा अधिकतम बीस जना मात्रै राख्नुपर्ने भनिएकोमा कतिपय संस्थाले ३० जनासम्म पनि राखेको भेटिएको छ। केहीले एउटा कक्षामा बीस जनाको नाम देखाएर त्योभन्दा झन्डै आधा संख्यालाई मात्रै तालिम दिएको भेटिएको छ।

बोर्डको समूह-१ ले टोखा, तार्केश्वरस्थित नवरत्न टेक्निकल ट्रेनिङ र टोखाकै वर्ल्डलिंक टेक्निकल ट्रेनिङ प्रालिमा अनुगमन गरेको थियो। यी संस्थामा निकै अव्यवस्थित तरिकाले तालिम भइरहेको भेटिएको छ।

बोर्डसँगको सम्झौतामा यी केन्द्रले ४०/४० जना गरी ८० जनालाई विभिन्न सिफ्टमा (एउटा कक्षामा बढीमा २० जना राखेर) तालिम दिनुपर्ने उल्लेख छ। तर एउटै हलमा बीचमा पर्दा राखेर कक्षा लिइरहेको अनुगमनका क्रममा भेटिएको छ।

आवासीय तालिममा सहभागी सबैलाई होस्टल वा होटलमा राखेर तालिम दिनुपर्ने भनिए पनि केही घर वा डेराबाट तालिममा सहभागी हुने गरेको पाइएको छ। त्यस्तै बस्ने तथा खाने ठाउँ पनि निकै अव्यवस्थित पाइएको छ। एउटै कोठामा १० जनासम्म अव्यवस्थित तरिकाले राखिएको भेटिएको हो।

नवरत्न सेन्टरमा तालिममा ४० जना भनिएकामा २८ जनाको उपस्थिति थियो। हाजिरी फाइलमा भने ४० जनाकै हाजिरी भेटिएको बोर्डले जनाएको छ। दैनिक ८ घन्टा तालिम लिनुपर्नेमा थोरै समय तालिम लिएर निस्किने गरेको पनि भेटिएको छ।

'यो निःशुल्क तालिम लिन पनि कतिपयले त दलाललाई एक लाख रूपैयाँसम्म बुझाएर आएको भेटियो। जति छिटो पैसा बुझायो त्यति छिटो विदेश उड्न पाइन्छ भनेर पैसा मागेको रहेछ,' टोखामा अनुगमनमा खटिएका एक अधिकारीले भने।

बोर्डले तालिम प्रदान गरिने सूचना निकालेपछि दलालहरूले गाउँगाउँमा तालिमको 'सेटिङ' मिलाउनुपर्ने भन्दै पैसा लिएको पाइएको छ।

'तालिम पाउन माथिसम्मै सेटिङ गर्नुपर्ने भन्दै पैसा मागेका थिए रे। एक लाख दिए तालिम पनि पाइने, जोर्डन पनि उड्न सकिने प्रलोभन देखाइएको रहेछ,' राधेराधेस्थित सिमेका ह्युमन रिसोर्सका सञ्चालक डाइमन्ड रिजालले भने।

त्यस्तै तालिमका लागि सहभागी छनौट गर्दा पनि निकै चर्को राजनीतिक दबाब झेल्नुपरेको उनले बताए। सहभागीहरू सम्बन्धित तालिम प्रदायक केन्द्रहरूले नै छनौट गरेका थिए।

'म फलानो पार्टीबाट हो, हाम्रो मान्छेलाई जसरी पनि तालिम दिनुपर्‍यो भन्ने दबाब थियो। कतिपय जिल्ला सिडिओहरूबाटै दबाब आयो,' तालिम केन्द्रका सञ्चालक रिजालले भने।

बोर्डको समूह-४ ले सिमेका ह्युमन रिसोर्समा पनि मंगलबार नै अनुगमन गरेको थियो। उक्त तालिम केन्द्रमा एउटा अँध्यारो कोठामा तीस जना राखिएको भेटियो। उनीहरूका लागि तालिम केन्द्रबाट बसमा एक घन्टाभन्दा बढी समय लाग्ने ठाउँमा खाने/बस्ने व्यवस्था गरिएको रहेछ। बस्ने व्यवस्था गरिएको गेस्ट-हाउस पनि दुर्गन्धित र अँध्यारो छ। बढीमा चार जनासम्म अटाउने कोठामा ७ जनासम्म राखिएको पाइयो।

तालिम प्रदायक संस्थाका सञ्चालकले खाने-बस्ने व्यवस्था सहज ढंगले मिलाएको दाबी गरे। बस्ने ठाउँ तालिम केन्द्रबाट टाढा भए पनि सहज आवतजावतका लागि सवारी व्यवस्था गरिएको बताए।

बोर्डले स्वच्छ हावा खेल्ने उज्यालो तालिम हल हुनुपर्ने मापदण्ड तोकेको छ। आवासगृह र शौचालय सफा हुनुपर्ने उल्लेख छ। प्रशिक्षार्थी बस्ने ठाउँ तालिम केन्द्रबाट पैदल बढीमा पाँच मिनेटको दुरीमा हुनुपर्ने उल्लेख छ। तर अधिकांश तालिम केन्द्रले मापदण्ड पूरा गरेको भेटिएन।

एक्सन फर डेभलपमेन्ट प्रालिले चक्रपथमा सञ्चालन गरिरहेको तालिम केन्द्र भने केही हदसम्म व्यवस्थित थियो। प्रशिक्षार्थी बस्ने ठाउँ पनि तालिम केन्द्रबाट नजिकै थियो।

अनुगमनमा खटिएकाहरूले अधिकांश केन्द्रले मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरेको पाइएको बताएका छन्।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले अनुगमनमा खटिएका समूहसँग छलफल गरेपछि आगामी दिनमा तालिम प्रभावकारी बनाउन कसरी जाने भन्ने छलफल गरिने बताए। यसपटक भएका कमजोरी औंल्याउँदै अर्कोपटक तालिम प्रदायक छनौट गर्दा ध्यान दिइने उनले उल्लेख गरे।

राजनीतिक दबाबका विषयमा सोध्दा उप्रेतीले आफूलाई पनि विभिन्न राजनीतिक दलको नाम लिएर तालिमका लागि दबाब आएको बताए।

'यो बोर्डले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलालाई दिएको निःशुल्क तालिम हो। यसमा राजनीति जोडिएको छैन। तर मलाई समेत दबाब आयो,' उनले भने।

Published on: 5 July 2023 | Setopati

Link

Back to list

;